प्रदेश १ : पहाडी जिल्लामा कोरोनाको भरपर्दो उपचार छैन

यस्तो होला भन्ने सोचिएको थिएन। अब अहिले आएर परीक्षण तथा उपचारका लागि संरचनामा लगानी गरौँ न भन्दा ती संरचना सञ्चालन गर्ने जनशक्ति कहाँबाट ल्याउनु ? : मन्त्री राई

बिबिसी । कोरोनाभाइरस सङ्क्रमण भएर गम्भीर बनेपछि इलामका एकजना पुरुषलाई मोरङको विराटनगर ल्याएर उपचार गरिए पनि उनी बाँच्न सकेनन्। गत जेठ २ गते उनको मृत्यु भयो ।

पाँचथरका अर्का पुरुषलाई पनि झापाको एउटा निजी अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुपरेको छ।

यी पूर्वी पहाडका प्रतिनिधि घटना मात्र हुन्। पूर्वी पहाडका जो कोही गम्भीर प्रकृतिका कोरोनाभाइरसका सङ्क्रमितलाई झापा, मोरङ र सुनसरीका अस्पतालहरूमा उपचार गराउनुपर्ने बाध्यता छ।

गाउँगाउँमा सङ्क्रमण पुगेको भए पनि गाउँका सङ्क्रमित सहर नै आएर उपचार गराउनुपर्ने बाध्यता छ। त्यसमा पनि सरकारी अस्पतालहरूमा क्षमता अभावका कारण भर्ना पाउन ज्यादै मुस्किल छ।

सरकारी अस्पतालहरूमा कोशी अस्पताल विराटनगर, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भद्रपुरको मेची अस्पतालमा कोरोनाभाइरस सङ्क्रमितको उपचार हुने गरेको छ।

सघन उपचार तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्दा विराटनगर र धरान धाउनुपर्ने बाध्यता छ।

११ जिल्लामै उपचारको सकस

कोरोनाभाइरसको पहिलो लहरमा प्रदेश नं १ लाई त्यति गाँजेको थिएन।

तर अहिले कोभिड महामारीको दोस्रो लहरमा कतिपय पहाडी जिल्लामा दैनिक दर्जनौँ मानिसलाई सङ्क्रमण पुष्टि हुन थालेको छ। दैनिक धेरैको ज्यान पनि गइरहेको छ।

कोभिडका बिरामी बढ्न थालेपछि पाँचथरको जिल्ला अस्पतालले चारवटा भेन्टिलेटरसहित १० वटा शय्याको सघन उपचार कक्ष बनाउन सुरु गर्‍यो।

तर उक्त अस्पताललाई पनि भेन्टिलेटरसहितको सघन उपचार कक्ष कसरी सञ्चालन गर्ने भन्ने पिरलो छ।

इलाम जिल्ला अस्पतालमा दुईवटा भेन्टिलेटर आए पनि चलाउन नसकिएको अस्पतालका प्रमुख डा. प्रभु शाहले बताए।

उनले भने, ‘हामीसँग ती उपकरण चलाउने तालिमप्राप्त जनशक्ति नै छैन।’
सङ्खुवासभाको चैनपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर श्रेष्ठका अनुसार पहाडका कोभिडका बिरामीलाई छदेखि आठ घण्टासम्म लगाएर धरान वा विराटनगर पुर्‍याउनुपर्ने बाध्यता छ।

उनले भने, ‘पुर्‍याएर मात्र पनि हुँदैन, शय्या खोज्न यति गाह्रो हुन्छ कि भनेर साध्य छैन। र पनि अहिलेसम्म चाहिँ बिरामीलाई उपचार नै नपाएर मर्न भने दिएका छैनौं ।’

कोभिडका बिरामीका उपचारका लागि सुनसरी, मोरङ र झापाबाहेक प्रदेश नं १ का सबै जिल्लामा पूर्वाधार तथा जनशक्ति नहुँदा सकस बेहोर्नु परेको ती जिल्लाका स्वास्थ्यकर्मी तथा स्थानीय तहका पदाधिकारीहरूले बताउने गरेका छन्।

पीसीआर परीक्षण पनि छैन

अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमणको आरटी–पीसीआर परीक्षणलाई नै प्रभावकारी मानिँदै आएको छ।

कोरोनाभाइरस सङ्क्रमणको पहिलो लहरका बेला प्रदेश नं १ मा जति प्रयोगशाला स्थापना भए त्यसपछि पीसीआर परीक्षण प्रयोगशाला कतै स्थापना भएनन्।

पीसीआर परीक्षण मेची अस्पतालका दुई जिल्ला तथा कोशी अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशालाले १४ जिल्लालाई धान्नु परिरहेको छ।

पहाडका जिल्लाहरूबाट घण्टौँ लगाएर ती प्रयोगशालाहरूमा स्वाब नमुना पुर्‍याउनुपर्ने बाध्यता छ।

पहाडी जिल्लाहरूमा सीमित मात्रामा एन्टिजन किट उपलब्ध गराएर कोरोनाभाइरस परीक्षण हुने गरेको छ।

तर एन्टिजन परीक्षणमा सङ्क्रमण देखिए पनि पीसीआर परीक्षणमा नदेखिएको र एन्टिजन परीक्षणमा सङ्क्रमण नदेखिए पनि पीसीआर परीक्षणमा सङ्क्रमण देखिएको विवरणहरू बाहिर आएका छन्।

‘पहाडमा जनशक्ति पुर्‍याउन सकिएन’

कोरोनाभाइरस सङ्क्रमणको पहिलो लहरले पहाडी जिल्लाहरूलाई तराईको जस्तो त्यति धेरै प्रभावित नगरे पनि दोस्रो लहरले गाउँगाउँका मानिसलाई सङ्क्रमित बनाइरहेको छ।

तर सरकारी पक्षबाट पहाडलाई जति प्राथमिकतामा राख्नुपर्ने हो त्यति नराखिदिएको पहाडी जिल्लाका सर्वसाधारणले बताउने गरेका छन्।

प्रदेश नं १ की सामाजिक विकासमन्त्री उषाकला राईले पनि पहाडलाई यति धेरै प्रभाव पार्छ भन्ने कुरा नसोचिएको बताइन्। उनले भनिन्, ‘यस्तो होला भन्ने सोचिएको थिएन। अब अहिले आएर परीक्षण तथा उपचारका लागि संरचनामा लगानी गरौँ न भन्दा ती संरचना सञ्चालन गर्ने जनशक्ति कहाँबाट ल्याउनु ?’

आफ्नो तर्फबाट जनशक्ति व्यवस्थापन तथा संरचना निर्माणका लागि सङ्घीय सरकारसँग आग्रह गरिएको उनले बताइन्। पहाडी जिल्लाहरूमा सामान्य अक्सिजनसहितको शय्या सङ्ख्या बढाउन पनि समस्या भइरहेको मन्त्री राईको भनाइ छ।

– बिबिसी नेपाली सेवाबाट साभार

मङ्गलबार, ०४ जेठ, २०७८, साँझको ०७:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर