कोरोना नियन्त्रणका लागि कुलमान घिसिङका ७ सुझाव

दोस्रो वेभलाई एकैचोटी आउन नदिएको भए सीमित स्रोत र साधनले पनि संकट व्यवस्थापन गर्न सक्थ्यौं

विराटनगर । लोडसेडिङ अन्त्य गरेर वाहिवाहि कमाएका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना नियन्त्रणका लागि ७ वटा सुझाव दिएका छन् ।

अनलाइनखबरमा आज प्रकाशित लेख मार्फत घिसिङले सरकारलाई अव गर्नुपर्ने कामको विषयमा उक्त सुझाव दिएका हुन् । आफू त्यो विषयसँग विज्ञ नभएपनि कतिपय व्यवस्थापनका कामको विषयमा सुझाव काम लाग्न सक्ने भन्दै उनले ती सुझाव प्रस्तुत गरेका हुन् ।

घिसिङले प्रस्तुत गरेका सुझावहरु निम्न छन्

१. राष्ट्रिय खोप अभियानलाई पहिलो प्राथमिकतामा राखी छिटोभन्दा छिटो हरेक नेपाली जनतामा खोप लगाउने कार्य सम्पन्न गरौं । यसका लागि सरकारले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त सबै खोपहरू ल्याउन सक्ने गरी निजी क्षेत्रलाई पनि संलग्न गरेर अगाडि बढ्नु जरूरी छ ।

जनता खोपको लागि पैसा तिर्न तयार छ । विपन्न वर्गलाई सरकारले निःशुल्क उपलब्ध गराउन सक्छ । एउटा दुइटा मात्र देशको खोप कम्पनीहरूसँग मात्र निर्भर हुँदा वर्षौंसम्म हामीलाई पुग्ने डोज पाउन सकिने अवस्था छैन । हाल विश्वमा ८ वटा कम्पनीका खोप प्रभावकारी देखिएकोले प्रयोगमा आइसकेको छ ।

२. अक्सिजन लगायत कोरोनाका बिरामीको उपचारमा प्रयोग हुने औषधिजन्य सामग्रीहरू सजिलै उपलब्ध हुने व्यवस्था गर्ने ।

३. हवाई मार्ग र स्थलमार्ग हुँदै छिमेकी देशबाट नेपाल प्रवेश गर्ने नेपाली र विदेशी नागरिकको टेस्टिङ गर्ने र क्वारेन्टिन–आइसोलेसनमा राख्ने व्यवस्थालाई वैज्ञानिक रूपले व्यवस्थापन गर्ने । यसको लागि नेपाली सेनाको सहयोग लिनु उपयुक्त हुनेछ ।

४. टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङ कार्यको लागि डेडिकेटेड टीम बनाएर प्रभावकारी रूपमा गाउँ गाउँसम्म पुर्‍याउने ।

५. साधारण, एचडीयू, आईसीयू बेड तथा भेन्टिलेटर सहितको बेडको व्यवस्थापन हुने गरी कोभिड अस्पतालहरू थप्ने र भएका अस्पतालहरूको क्षमता वृद्धि गर्ने ।

६. कोभिड बिरामीको उपचारमा अहोरात्र खटिरहनुभएका डाक्टर, नर्स लगायत सबै स्वास्थ्यकर्मी र सम्बन्धित सबै कर्मचारीलाई उच्च सम्मानका साथ प्रोत्साहन भत्ता तत्काल व्यवस्था गरी उहाँहरूको मनोबल उच्च राख्ने । नेपाल आर्मीमा रहेको जनशक्तिलाई थप प्रभावकारी रूपमा संचालन गर्ने ।

होम आइसोलेसनमा रहेका कोभिड बिरामीहरूको उपचारको लागि विशेष टोली खडा गरी घरघरमा सेवा दिने व्यवस्था गर्ने । गाउँगाउँमा समेत संक्रमण फैलिसकेको हुनाले स्थानीय निकायले गाउँगाउँमा स्वास्थ्यकर्मी र आइसोलेसनको व्यवस्था गर्ने ।

७. हरेक नागरिकले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्ने । मास्क, स्यानिटाइजर लगाउने र सामाजिक दूरी कायम राख्ने । सामाजिक कार्यहरूमा जमघट नगर्ने र राजनीतिक पार्टीहरूले भीड जम्मा गर्ने कुनै कार्यक्रम नगर्ने ।

हामीले गर्ने हरेक कार्यहरू तीव्र गतिमा गरौं । कुरामा मात्र सीमित नरहौं । जति छिटो काम गर्‍यौं त्यति नै छिटो हामीले कोरोनाबाट मुक्ति पाउनेछौं । हरेक नागरिकले पनि आफ्नो दैनिक जीवनशैलीमा परिवर्तन गर्नैपर्छ । हामी अनुशासित भयौं भने मात्र आगामी दिनमा आउने ठूला ठूला चुनौतीलाई सजिलै सामना गर्न सक्नेछौं ।

यसैगरी घिसिङले नेपालले समय पाउँदा पनि बेलैमा आवश्यक सतर्कता अपनाउनुको साटो लापरबाही गरेको भन्दै सरकार र राजनीतिक दलप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

भारत र नेपालले कोरोनाको पहिलो वेभपछि कोरोना नियन्त्रणमा आइसकेको र कोरोनालाई काबुमा ल्याइसकेको सन्देश देशभित्र र देश बाहिर दिन थाले । पहिलो वेभबाट खासै क्षति व्यहोर्नु नपरेको हुनाले नेपाल लगायत छिमेकी देशहरूले कोरोना जितेको सन्देश दिन थाले ।

यससँगै सुरक्षाका मापदण्ड राजनीतिक दलका नेता र सरकारी निकायका पदाधिकारीहरूबाटै उल्लंघन गर्न थालेपछि आम जनताबाट पनि लापरबाही हुन थाल्यो । अन्तर्राष्ट्रिय संघसंस्थाले दोस्रो वेभको चेतावनी दिंदादिंदै पनि बेवास्ता गरियो र परिणामस्वरूप आजको कहालीलाग्दो अवस्था भोग्न हामी बाध्य भयौं ।

पहिलो वेभपछि नेपालले दोस्रो वेभको व्यवस्थापन गर्न प्रशस्त समय पाएकै थियो । तर हाम्रा प्रयासहरू त्यतातिर केन्द्रित रहेनन् । अझ ठूला–ठूला सभा–सम्मेलन गर्नमै व्यस्त रह्यौं । बिहेभोज जस्ता सामाजिक तथा सांस्कृतिक कार्यहरूमा मानिसको जमघटलाई खुल्ला गरियो । दोस्रो वेभ भारतमा एकैचोटि विस्फोटक रूपमा फैलन थालेपछि नेपालमा पनि विस्तारै त्यसको असर देखिन थाल्यो ।

एकैचोटि आएको सुनामीलाई धान्ने स्वास्थ्य संरचना हामीसँग तयार थिएनन् । फलस्वरूप हाम्रा हस्पिटलका बेड भरिन थाले र अक्सिजन अभाव खट्किन थाल्योे । जब अक्सिजन नपाएर कोरोनाका बिरामी मर्न थाले तब मात्र स्वास्थ्य मन्त्रालयको होश खुल्यो कि अक्सिजनको पनि अभाव रहेछ ।

शुरूमा बेडको लागि मान्छे भौंतारिन्थे त्यसपछि अक्सिजनको लागि भौंतारिन थाले । अक्सिजन भएमा अस्पतालको भुईंमा बसेर पनि उपचार गर्न खुशी मान्न थाले आम जनता । यी सबैको कारण हामीसँग भएको स्वास्थ्य संरचनाले धान्न नसक्नु नै थियो ।

हामीसँग भएको सीमित स्रोत र साधनले पनि यो संकट व्यवस्थापन गर्न हामी सक्थ्यौं, यदि हामीले दोस्रो वेभलाई एकैचोटि आउन नदिएको भए । अक्सिजन उद्योगहरूलाई यस्तो अवस्था आउन सक्छ, तपाईंहरूले आफ्नो तयारी राख्नुहोला मात्र भनेको भए पचासौं हजार सिलिन्डर अक्सिजन तयारी अवस्थामा रहन्थे र यसले गर्दा अक्सिजन व्यवस्थापनमा केही सहज हुनेथियो । जब एकैचोटि सबै चीजको अभाव हुन थाल्यो संकट गहिरिंदै गयो ।

घिसिङले आफूले लोडसेडिङ अन्त्य गर्नका लागि लगाएको व्यवस्थापकीय सुत्र प्रयोग गर्न सकिनेतर्फ पनि आफ्नो लेखमा प्रष्ट पारेका छन् ।

घिसिङको लेखको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

लोडसेडिङ अन्त्य र कोरोना नियन्त्रणका मिल्दाजुल्दा पक्ष

सोमबार, ०३ जेठ, २०७८, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर