फेरि बढ्यो कोरोना संक्रमण, एकैदिन २१४ जनाको मृत्यु

विराटनगर । पछिल्लो ३ दिनदेखि लगातार मृतक संख्या घटे पनि आज पुनः बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण २ सय १४ जनाले ज्यान गुमाएका छन् । यस्तै ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थप भएका छन् ।

गत शुक्रबार मृतक संख्या २०३, शनिबार १८७ र आइतबार १४५ जना रहेको थियो । आजसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ भने कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ७६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ रहेको छ । पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार, ०३ जेठ, २०७८, साँझको ०६:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर