मिर्गौलाले काम नगरेपछि पुर्वमन्त्री शेर्माको निधन

विराटनगर । हामीले अभ्यास गर्दै आएको राजनीतिक प्रणाली अझैपनि सबैका लागि समान पहुँचको मान्यतामा पुग्न सकेको छैन । शिक्षा र स्वास्थ्य सेवा दिनु राज्यको दायित्व भएपनि पहुँच र प्रभावका आधारमा राज्यले फरक व्यवहार गर्ने गरेको थुप्रै उदाहरणहरु छन् । जसले गर्दा पहुँचमा हुनेले राज्यबाट जतिपनि सुविधा लिएर बाँच्न सक्ने र नहुनेले महाप्रस्थान रोज्नु पर्ने वाध्यता विद्यमान छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पतालमा स्वास्थ्योपचार गराउँदै हुनुहुन्छ । मिर्गौला दिनुहुने उहाँकी भान्जी अस्पतालबाट बुधबार नै डिस्चार्ज हुनुभएको छ । प्रधानमन्त्री स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ ।

संयोग नै मान्नुपर्छ दुबै मिर्गौलाले काम गर्न छोडेपछि पूर्वमन्त्री पूर्णकुमार शेर्माको बुधबार नै निधन भएको छ । दुवै मृगौलाले काम नगरेर शेर्मा लामो समयसम्म थला पर्नुभएको थियो । मिर्गाैला प्रत्यारोपणका लागि खर्च गर्नसक्ने स्रोत जुटाउन नसक्दा शेर्माको निधन भयो ।

काठमाडौंको निदान अस्पतालनमा उपचारको क्रममा शेर्माको निधन भएको हो । लामो समय थलिएपछि राजनीतिक पहुँचबाट विमुख हुनुभएका शेर्माको ७६ वर्षको उमेरमा उहाँको निधन भएको हो ।

वि.सं. २००० साल असोज १२ गते पाँचथरको मिक्लाजुङ २ मा जन्मिनुभएका शेर्मा गणतन्त्र स्थापना भएपछि २०६६ सालमा स्थानीय विकास मन्त्री बन्नुभएको थियो । उहाँ नेपाली कांग्रेस पाँचथरको दुई पटक जिल्ला सभापति पनि हुनुभयो । जिल्लाको पुरानो नेताका रुपमा चिनिनुभएका शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनुभएको थियो ।

शेर्माका दुई श्रीमतीमध्ये उहाँ कान्छी जनिमाया मगरको साथमा काठमाडौं बस्दै आउनुभएको थियो । उहाँका दुई छोरा र पाँच छोरी छन् । रोग जसलाई जतिबेला पनि लाग्न सक्छ । त्यसैले राज्यले सबै नागरिकलाई समान स्वास्थ्य सेवा दिने दायित्व लिएर संविधानमै यसलाई मौलिक हकको रुपमा उल्लेख गरिएको हुनुपर्छ । त्यसमाथि समाजवाद उन्मुख संविधान कार्यान्वयन गर्नु भनेको सबैलाई समान स्वास्थ्य सेवा प्रदान गरी बाँच्न पाउने हकको रक्षा गर्नुपर्छ ।

बुधबार, २८ फागुन, २०७६, रातीको ०९:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर