गोकुल पराजुली
कोरोना महामारीले सारा समाज आक्रान्त छ । दिनहुँ मानिस मरिरहेका छन् । हजारौं संक्रमित भइरहेका छन् । उपचार गर्न अस्पतालहरु अपुग भएका छन् । जो कसैले अस्पतालमा पुगेर उपचार पाउने अवस्था छैन । अस्पतालमा उपचार गर्न पनि सोर्सफोर्स लगाउनुपर्ने अवस्था छ । कथंकाल अस्पतालमा बेड मिलिहाल्यो भने पनि अक्सिजन पाउने ग्यारेन्टी छैन । अक्सिजन अभाव हुन थालेपछि अस्पतालले आफ्ना बिरामीको जिम्मा आफैं लिनु भन्न थालेका छन् । सरकारलाई अस्पताल सञ्चालकहरुले गुहारेको छ । दुई–तीन दिन अगाडिसम्म नेपालमा कोरोना नियन्त्रणमै छ भनेर विश्वसमुदायलाई ढाँट्ने व्यक्ति हाम्रो देशका प्रधानमन्त्री छन् । अहिले उनी कामचलाउ छन् । तर, छिट्टै फेरि कार्यकारी भूमिका उनैले पाउने संभावना छ । हामीले फेरि पनि उनको कोरोना नियन्त्रणमै रहेको दावी सुन्नुपर्ने छ । फैलिनुको कारण हामी आफैंले स्वीकार गर्नुपर्ने छ ।
भारतसँगको सीमाना बन्द राखेको सरकारले बन्द सीमाना र चोरबाटो भएर दिनहुँ हुने आवतजावत रोक्न आवश्यक ठानेन । उनीहरुको चेकजाँच र उपचार गर्न पनि आवश्यक ठानेन । जसले गर्दा भारतमा डढेलो झैं फैलिएको कोरोना नेपाल पस्यो । काठमाडौमा ठूला विवाह र उत्सवहरु नगर्नु भनेर सरकारले जनताको नाममा उर्दी जारी ग¥यो । तर, प्रधानमन्त्री स्वयंले ठूलाठूला जात्रा र उद्घाटन अनि शिलान्यासमा हजारौंको भीड जम्मा गरे । कोरोना मधेशमा र काठमाडौमा भुसको आगोझैं फैलियो । अनि प्रधानमन्त्रीले विश्वजगतलाई भनिदिए कोरोना नियन्त्रणमै छ, जति फैलियो जनताको गल्तिले गर्दा फैलिएको हो ।
महामारी सुरुवातकै चरणमा लकडाउन गर्न सरकारलाई सम्बन्धित सरोकारवालाहरुले सुझाव दिएका थिए । अरुको सुझाव नसुन्ने रोगी सरकारले त्यो सुन्ने कुरै थिएन, सुनेन । बरु भन्यो, सरकारले लकडाउन गर्दैन । जहाँ समस्या पर्छ, त्यहीँ गर्नु भनेर जिल्लातिर पन्छाइयो । यति भएपछि सरकारको काँध हलुको हुनेभयो । सरकारको निर्णय अनुसार कोरोना भाइरस चल्दैनथ्यो चलेन । संक्रमण फैलिदै गयो । सबैभन्दा पहिले राजधानीनै बन्द गर्नुपर्ने अवस्था भयो । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भयो । विस्तारै देशका विभिन्न भागमा निषेधाज्ञा थपिदै गयो । अहिले ७७ जिल्ला मध्ये ७० जिल्लामा निषेधाज्ञा छ । तर, नाम मात्रको । यो निषेधाज्ञामा मानिसहरु जहाँ पनि पुग्न सक्छन् । चाहिएको जे पनि खरिद गर्न सक्छन् । यो अवधिमा बिवाह पनि धेरैले गरे । भोज खान पनि रोकिएन । सप्ताह पूराण सबै लाग्यो । त्यस्तैबाट धेरैलाई कोरोना पनि लाग्यो ।
यति हुँदापनि सरकारलाई भाइरसको चेनब्रेक गर्नुपर्छ भन्ने लागेको छैन । जनस्वास्थ्य विज्ञहरुले दिनहुँ भनिरहेका छन् कि कडा लकडाउन गरौं, मानिसहरुलाई घरबाट बाहिर निस्कन नदिई १५ दिन घरभित्रै सीमित गरौं । तर, यो सुझावलाई सरकारले उल्टो रुपमा ग्रहण गरेको छ । अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ भनेजस्तो अघिल्लो वर्ष लकडाउन गर्दा निजी क्षेत्र र सर्वसाधारण जनताले राहत र क्षतिपूर्ति मागे भनेर सरकार लकडाउन भन्ने शब्दै सुन्न मान्दैन । विराटनगरका एकजना चिकित्सकले भनेको एउटा मर्मस्पर्शी कुरापनि छ । त्यो के भने पञ्चायत कालदेखि अहिलेसम्म ज–जसले सरकार चलाए उनीहरुले आप्mनो कुर्सी वा पद जोगाउन कफ्र्यु लगाए । जनतालाई गोली हाने । कडा खालका निषेधाज्ञा लगाए । तर, जनताको ज्यान जोगाउन उनीहरु लकडाउन गर्दैनन्, कफर््यू लगाउने आँट गर्दैनन् । १०–१५ दिन त्यतिको आँट गरे जनता बचाउन सकिन्थ्यो होला । महामारी नियन्त्रण गर्न सकिन्थ्यो होला । तर, सरकारसँग त्यस्तो अपेक्षा गर्ने अवस्था रहेन । यहाँ सरकारले तोकेको भन्दा दोब्बर संख्यामा संक्रमित भइसक्दा पनि निषेधाज्ञा नलगाएर संक्रमण फैलाउने प्रमुख जिल्ला अधिकारीहरु छन् । उनीहरुले अस्तिसम्म भन्दै थिए आत्तिनुपर्ने अवस्था छैन । जब आत्तिनुपर्ने अवस्था आयो, उनीहरु जिम्मेवारी लिन तयार छैनन् । उनीहरुले काम नगरेपनि सरकारले तलब दिइनै रहन्छ । महामारी उनीहरुको कमाउने राम्रो अवसर पनि हो । मौकामा हिरा फोर्न उनीहरु चुकेका छैनन् ।
केवल आरोपका लागि आरोप लगाएको कुरा होइन, यो । सरकारका निकायका कुरा राम्ररी सुन्नुभो भने त्यो पुष्टि हुन्छ । जुन–जुन जिल्लामा निषेधाज्ञा लागू भएका छन्, ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको अवधि थप गर्ने सन्दर्भमा सञ्चार माध्यमलाई दिने गरेको एउटा प्रतिक्रियामा ध्यान दिऔं ‘अब थप हुने निषेधाज्ञाको अवधि पहिलेको भन्दा कडा हुन्छ ।’ कानूनले निषेधाज्ञालाई एउटै अर्थमा बुझेको छ । कडा निषेधाज्ञा र नरम निषेधाज्ञा भन्ने व्यवस्था छैन । तर, निषेधाज्ञा जारी गर्दा किन नरम बनाइयो ? यो सरकारका प्रतिनिधिहरुको कमजोर प्रस्तुति होइन ? कमजोर प्रशासनका कारण आज जनताले ज्यान गुमाउन परिरहेको छ । उनीहरुले कडा भनेपनि त्यो कडा चाँही हुँदैन । किनभने सरकारले त्यो क्षमता गुमाइसकेको छ । त्यसैले जनताले सरकारसँग भरोसा गर्न छोडेका छन् । एउटा नागरिकका लागि वास्तवमा यो साह्रै दुखद् र दारुण अवस्था हो ।