‘कोभिडमा रेमडिसिभिर प्रभावकारी छैन’

 डा. रोशन खड्का

कोभिड उपचारमा रेमडिसिभिर नामक एण्टिभाइरल औषधिको माग बढ्दै गएको छ । नेपालमा बिक्री प्रतिबन्ध रहेको रेमडिसिभिर अहिले सीमित परिमाणमा सरकारले आयात गरिरहेको छ भने भारतबाट तस्करी भएर ठूलो परिमाणमा यो औषधि आउने गरेको छ । बिरामीका आन्तहरुले अबैध रुपमा आयात भएको रेमडिसिभिर महंगो मूल्यमा खरिद गर्ने गरेका छन् । एक जना ब्यक्तिलाई ६ भायल रेमडिसिभिर दिनुपर्छ । ब्लेकमार्फत प्रतिभायल २० हजार रुपैयाँसम्म खर्च गरेर यो औषधि खरिद गर्दा उपचार निकै महंगो पर्ने गरेको छ । तर, कोभिड उपचारमा रोमडिसिभिरको प्रभावकारिताको विषयमा प्रश्न उठेको छ । मेडिकल साइन्सहरुको पछिल्ला अध्ययनहरुले कोभिड उपचारमा रेमडिसिभिरको प्रयोग न्यून प्रभावी रहेको निष्कर्शहरु आएका छन् । प्लाज्मा थेरापीबाट जीवन बचाउने सवालमा खास प्रभावकारी नदेखिएका कुराहरु आएका छन् । विराटनगरमा रहेर पहिलो चरणको महामारीका क्रममा कोभिड उपचारमा प्रत्यक्ष संलग्न रहेका र अहिले पनि सार्वजनिक सोसल मिडियाहरुको प्रयोग गरी कोभिड संक्रमितहरुलाई महत्वपूर्ण सुझाव र सचेतनाको काममा सक्रिय रहदै आएका कोसी अस्पताल विराटनगरका चिकित्सक डा. रोशन खड्कासँग हामीले कोभिड उपचारमा रेमडिसिभिरको प्रयोग र कोरोना उपचारमा पछिल्ला दिनमा प्रयोग भइरहेका औषधि र विधिहरुका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सार संक्षेप :

कोरोना संक्रमितहरुको उपचारमा प्रयोग भइहरेको महंगो मूल्य पर्ने रेमडिसिभिर नामक औषधिको प्रभावकारिता कति छ ?

रेमडिसिभिर सबै किसिमको एण्टिभाइरल, इन्फ्युएन्जा यहासम्मकी जनै खटिरा जस्ता भाइरलहरु (जसलाई एक्युट हुने भाइरल भनिन्छ )हुँदा त्यसको लक्षण आएको ७२ घण्टा भित्र प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग ७२ घण्टाभित्र गर्दा प्रभावकारी हुने सैद्धान्तिक मान्यता हुन्छ । त्यसपछि त्यसको खास प्रभाव रहदैन । कोभिड लागेको बेलामा पनि यसको प्रभाव हुन्छ कि भन्ने अनुमान गरिएको थियो । सुरुमा अरु धेरै औषधिसँगै यसको पनि परीक्षण गरियो । कोभिडको लक्षण देखिएको ७२ घण्टाभित्र प्रयोग गर्न सक्दा प्रभावकारी हुन्छ कि भनेर भएका परीक्षणहरुबाट त्यति सन्तोषजनक नतिजाहरु आएको पाइदैन ।

यो कस्तो औषधि हो ? यो हरेक भाइरल बिरुद्ध प्रभावकारी हुन्छ ?

रेमडिसिभिर एण्टिभाइरल औषधि हो । विश्वमा नयाँ प्रकारका भाइरसको प्रकोप आउँदा विशेषगरी यो अफ्रिकामा इबोला भाइरसको महामारी देखिँदा परीक्षणको रुपमा यसको प्रयोग गरिएको थियो । इबोला बिरुद्ध रेमडिसिभिरले राम्रो नतिजा दिएको मानिएको छ । कोभिडमा पनि यो प्रारम्भिक चरणमा प्रयोग गरिएको थियो । कोभिड –१९ संक्रमण सुरुवातकै चरणमा थोरै मानिसहरुमा क्लिनिकल परीक्षण भएको थियो । यसको प्रभावकारिताको अध्ययनहरु त्यतिबेला भए । अरु धेरै औषधिहरुको पनि सँगसँगै परीक्षणहरु भएका थिए । प्रारम्भमा थोरै मानिसहरुमा प्रयोग गर्दा प्रभावकारी छ कि भनियो । तर, अहिलेसम्म आउँदा यो औषधिले कोभिडमा खास नतिजा दिएको छैन । त्यसैले भन्न सकिन्छ रेमडिसिभिर कोभिड उपचारमा जुन तहमा यस क्षेत्रमा प्रयोग भइरहेको छ त्यसको प्रभावकारिता खास छैन । न्यून प्रभाव रहेको हुनसक्छ । यो कुरा मैले भन्दा पनि मेडिकल साइन्सका धेरै जर्नलहरुमा प्रकाशित तथ्यहरुले स्पष्ट पारेको छ । पछिल्ला अध्ययनहरुको रिपोर्टहरुलाई हेर्दा कोभिडमा रेमडिसिभिरको उपयोगिता खास छैन ।

प्रभावकारिता खास छैन भन्नुहुन्छ तर आम मानिसहरुमा रेमडिसिभिर प्रभावकारी छ भन्ने धारणाले यसको माग बढ्दो छ । किन ?

कोभिड उपचारमा रेमडिसिभिरको प्रयोग भइरहेको छ । भारतलगायत धेरै मुलुकले पनि यसको प्रयोग गरे । अहिले पनि गरिरहेका छन् । नेपालमा यो औषधि खुला आयात हुँदैन । यहाँ पनि यसको प्रयोग भइरहेको छ । तर, मेडिकल क्षेत्रका धेरै जर्नलहरु जुन डेढ वर्षयता प्रकाशित भएका छन् त्यसले गरेको अध्ययन र अनुसन्धानहरुले कोभिड उपचारमा रेमडिसिभिरको उपादेयता र प्रभावकारिता न्यूनमात्र छ भन्ने स्पष्ट भइसकेको छ । तरपनि मानिसहरुमा एक प्रकारको धारणा भने विकास भएको हामीले पाएका छौं । कतिपयले त रेमडिसिभिरलाई कोभिड उपचारमा रामबाँणकै रुपमा समेत लिने गरेका छन् । उनीहरु रेमडिसिभिर खोज्ने र जोहो गर्ने तहसम्म पुगेको हामीले पाएका छौं । तर, सत्य कुरा त्यस्तो होइन । हुनत कतिपय चिकित्सकहरुले पनि यो औषधि सिफारिस गरिरहेका छन् । चिकित्सकहरुले बिरामीको क्लिनिकल जजमेन्टका आधारमा सिफारिस गर्नुभएको हुनसक्छ । तर, अध्ययनहरुले कोभिडमा यसको प्रभावकारिता न्यून छ भनेको छ । त्यसैले त्यसको प्रयोगमा भन्दा अन्य विधि र अध्ययनहरुमा जानुपर्ने अवस्था पनि मैले देखेको छु ।

रेमडिसिभिरको प्रभावको बारेमा जनसाधारणमा यस प्रकारको धारणा कसरी विकसित भयो होला ?

यसका सम्बन्धमा हाम्रो देशमा मात्र होइन युरोप, अमेरिका, एशीयाकै विकसितलगायत विश्वका धेरै मुलुकमा एक प्रकारको धारणा बन्यो । जतिबेला थोरै मानिसहरुमा प्रयोग गरेर परीक्षण गरियो प्रभावकारी छ कि भन्ने भयो । महामारीको सुरुवाति चरणमा थोरै मानिसहरुमा यसको प्रयोग गरिएको थियो । थोरैमा परीक्षण गर्दा आएको नतिजा अन्तिम हुँदैन । त्यसलाई नै निष्कर्शको रुपमा बुझ्न हुँदैन धेरैमा ट्रायल गर्दा के प्रभाव रह्यो भन्ने कुरा मुख्य हो । हो, त्यही थोरैमा प्रयोग गर्दाका बखत आएको नतिजालाई लिएर प्रचारहरु भए । जसले गर्दा महामारीका विषयमा सचेतताका साथ जानकारी लिइरहेका मानिसहरुलाई रेमडिसिभिर निकै प्रभावकरी हुने रहेछ भन्ने जस्तो बुझाई भयो । धेरै मानिसहरुमा क्लिनिकल ट्रायल गर्दै जाँदा वास्तवमा त्यसको प्रभाव खास देखिएन । त्यस सम्बन्धी अध्ययन गरेर धेरै जर्नलहरु लेखिएका छन् । अहिलेसम्मको परीक्षणहरुबाट यो कोभिडमा खास प्रभावकारी छैन भन्ने नै निष्कर्श निस्किएको छ । तर, यस विषयमा सर्वसाधारणहरुले जानकारी पाएका छैनन् । त्यसैले उनीहरुमा विकसित भएको धारण परिवर्तन हुन सकेको छैन । अर्कोतिर निरन्तर अध्ययन भइरहेको विषय भएकोले पनि मानिसहरु त्यसै अनुसार अपडेट नभएको हुनसक्छन् । गत वर्षका अध्ययनले देखिएको नतिजा र अहिलेको अध्ययनले देखाएको नतिजामा धेरै ठूलो अन्तर परिसकेको छ । सुरुसुरुमा प्लाज्मा थेरापीको विषय पनि निकै उठ्यो । अहिलेसम्मको अध्ययनहरुले मानिसको जीवन बचाउने कुरामा प्लाज्मा थेरापीको भूमिका एकदमै कम देखिएको छ । केहीलाई राम्रो गरेको छ तर त्यो प्लाज्माकै कारणले हो भन्ने ग्यारेन्टी भेटिएको छैन । अध्ययनहरुबाटै मानिसहरुको धारण र वास्तविकता फरक पर्दै गएको हो ।

हामीकहाँ भारतबाट तस्करी भएर रेमडिसिभिर आउने गरेको छ । सरकारले पनि आयात गरिरहेको छ । प्रभावकारिता छैन भने प्रयोग घटाउनु पर्ने होइन र ?

चिकित्सकहरुले रेमडिसिभिरको प्रयोग र कोभिडमा यसको प्रभावकारिताका विषयमा सचेतनाको काम गरिरहेका छन् । विभिन्न माध्यमहरुबाट यस सम्बन्धी धारणाहरु चिकित्सकहरुले व्यक्त गरेका छन् । एड्भोकेसी गरिरहेकै छन् । रेमडिसिभिरको प्रयोग घटाउने भन्ने कुरा चिकित्सकहरुले व्यक्तिगत रुपमा अवलम्बन गर्ने विषय हो । सरकारले वा सरकारको उच्च तहमा बसेर मेडिकल साइन्सका सम्बन्धमा नीति तर्जुमा गर्नेहरुले यतातर्फ ध्यान दिन जरुरी देख्छु । उनीहरुलाई पछिल्ला अध्ययन र जर्नलहरुमा प्रकाशित तथ्य थाहा नै छैन भनेर त म भन्दिन तर, ध्यान भने पुगेको देखिदैन । जुन औषधि रोग निदानका लागि कम प्रभावकारी छ त्यसको प्रयोगलाई सीमित बनाउदै लैजाने र कालोबजारीलाई पनि रोक्ने तर्फ सरकारले ध्यान दिनुपर्छ । नीति निर्माताहरुले यसको प्रयोगबाट पर्ने असरहरुको बारेमा सजगतापूर्वक निर्णय लिनुपर्छ ।

कोभिड उपचारमा अहिलेसम्म प्रभावकारी देखिएका औषधि वा विधिहरु के छन् ?

कोभिड उपचारमा अहिलेसम्म तीनवटा कुराहरु महत्वपूर्ण देखिएका छन् । पहिलो हेपाइरिन नामक औषधि जसले रगत पातलो बनाउने काम गर्छ त्यो प्रभावकारी देखिएको छ । अर्को अक्सिजनको प्रयोग हो । जुन कोरोना संक्रमितहरुको उपचारमा निकै प्रभाव देखिन्छ । तेस्रो भनेको स्टेरोइड नामक औषधि हो । कोभिड उपचारमा स्टेरोइड प्रभावकारी देखिएको छ, जसले इन्फ्लामेसनलाई कम गर्ने काम गर्छ । शरीरमा वाह्य तत्वले आक्रमण गर्दा शरीरको रोग प्रतिरोधात्मक प्रणाली सक्रिय हुन्छ । विभिन्न एण्टिबढीको विकास गर्छ । त्यस्तो बेलामा शरीरमा साइटोक्राइम्स् र इम्युन सिस्टमको प्रभाव बढ्न गई शरीरमा क्षति पुग्ने सम्भावना हुन्छ । त्यसलाई कम गर्न स्टेरोइडको प्रयोग लाभदायक हुन्छ । कोभिड उपचारमा पनि यो औषधिको प्रयोग प्रभावकारी देखिएको छ । अहिले संसारभरि कोभिड उपचारमा यी तीनवटा चिजको प्रयोग अधिक भइरहेको छ र प्रभावकारी देखिएको छ ।

अहिले कोभिडका सम्बन्धमा विकसित भएको अरु तथ्यहरु के छन् ?

हामीले उपचार विधि र त्यसमा प्रयोग भइरहेका औषधिहरुको विषयमा कुरा ग¥यौं । अहिलेसम्मको तथ्यहरुलाई हेर्दा कोभिडबाट दीर्घरोगी, मोटोपन, मधुमेह, रक्तचाप, मुटु, किड्नी, कलेजो आदिका समस्या वा रोग भएका मानिसहरु बढी जोखिममा रहेको पाउँछौं । कोभिडको पहिलो महामारीमा वृद्ध, दीर्घरोगीहरु धेरै जोखिमा रहेको देखिएको थियो भने अहिले दोश्रो महामारीमा हरेक उमेर समूहका मानिसहरु जोखिममा छन् भन्ने देखिएको छ । बालबालिकाहरुमा पनि असर रहेको अध्ययनहरुले देखाइरहेको छ । विशेषगरी युवा उमेरका मानिसहरुमा बढी क्षति गरिरहेको जस्तो देखिएको छ । यस्तो बेलामा अस्पताल, उपचार भन्दा पनि महामारी रोकथाम र नियन्त्रणमै सरकारले जोड दिनु पर्छ । संक्रमित भइसकेकाहरुलाई अघि हामीले चर्चा गरेको औषधि र विधिहरुको प्रयोगमा जोड दिनुपर्छ ।

संक्रमण रोकथामका लागि अपनाउनु पर्ने अरु विधिहरु के हुन् ?

मैले अघि पनि भने कोभिड उपचारमा अहिलेसम्म विश्वमा प्रभावकारी देखिएको कुराहरु भनेको हेपाइरिन, अक्सिजन र स्टेरोइडकै प्रयोग हो । यो विश्वमा प्रमाणित भएको कुरा हो । जतिपनि कोभिडबाट संक्रमितहरुको जीवन बचाउन सहायता भएको छ त्यसमा यी चिजहरुको प्रभाव देखिएको छ । अक्सिजन भनेरमात्र हुँदैन यो पनि विभिन्न माध्यमबाट बिरामीहरुलाई दिइन्छ । बिरामीको अवस्था र आवश्यकता अनुसार मात्रा निर्धारण गरिन्छ । अक्सिजन मास्कको माध्यमबाट, क्यानोला, हाइब्रो क्यानोला, भेन्टिलेटर आदि माध्यमबाट दिइने गरिन्छ । त्यो बिरामीको अवस्था अनुसार चिकित्सकहरुले निर्णय गर्दछन् ।

कोभिड सम्बन्धी पछिल्ला समयमा विकसित भएका तथ्यहरु के छन् ?

कोभिड संक्रमण सुरुवाति चरणमा स्वासप्रस्वासबाट सर्छ भनिन्थ्यो । अहिले हावाबाट पनि सर्छ भन्ने तथ्य सार्वजनिक भएको छ । पहिले र अहिले तथ्यमा नै फरक परिसकेको अवस्था छ । यस्तो प्रकारको महामारी नियन्त्रण गर्न भाइरसको चेनब्रेक गर्नु नै प्रमुख कुरा हो । यस्तो महामारीमा हरेक मुलुकमा भएका स्रोतसाधन अप्रयाप्त नै हुन्छन् । हाम्रो जस्तो मुलुकमा त झन् ठूलो अभाव हुन्छ । तथ्यहरुले देखाएको कुरा के हो भने रोकथाम र नियन्त्रणको विधिबाट मात्र हामी बच्न सक्छौं ।

महामारी फैलिरहेको समयमा हाम्रो तयारीलाई कसरी लिनुभएको छ ?

महामारीसँग जुध्ने हाम्रो क्षमता के हो भन्ने कुरामा हामी सबै स्पष्ट हुनुपर्छ । अहिलेसम्मका सरकारहरुले आफ्नो सरकार र सत्ता जोगाउन कफ्र्यु लगाउनेलगायत कठोर कदम चाल्न पनि तयार भएको हामी पाउँछौं । तर, जनताको जीवन रक्षा गर्ने विषयमा सरकारहरु कठोर भएको पाइदैन । अहिले संक्रमण तीब्ररुपमा फैलिरहेको छ र यसले क्षति पनि धेरै गरिरहेको छ । यस्तो बेलामा चेन ब्रेक गर्नका लागि सरकारले कठोर ढंगले काम गर्नुपर्ने अवस्था छ । कडा लकडाउन गरेर मात्र नियन्त्रण हुनसक्छ जस्तो मलाई लाग्छ ।

बुधबार, २९ बैशाख, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर