‘बालशिक्षाका उपलब्धि बिग्रने जोखिम बढ्यो’

 धर्मानन्द खरेल

चीनको बुहानबाट फैलिएको भनिएको कोरोना भाईरसका कारण विकासका सबै पूर्वाधारहरू प्रभावित हुँदा यसबाट झनै अछुतो रहन नसकेको क्षेत्र शिक्षा हो । कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका लागि व्यापक रुपमा विद्यालय बन्द गरिएका कारण बालबालिकाको शिक्षाका साथै समग्र हितमा अभूतपूर्व जोखिम सिर्जना भएको छ । विशेषगरि सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा यसले ठूलो असर पुर्‍याएको छ । कोरोना महामारीको जोखिमका बिच अबको शैक्षिक भविष्य कस्तो हुनेछ ? भावी रणनीति र चुनौतीहरू के-कस्ता छन ? शैक्षिक गतिविधिलाई कसरी निरन्तरता दिन सकिन्छ ? लगायतका विषयमा केन्द्रित रहेर आज हामीले विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ हाम्रोमत दैनिकका लागी राकेश कर्णले गरेको कुराकानीको सम्पादित अंश:

कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा कस्तो असर परेको छ ?

विद्यालय बन्द भएका कारण रोगको संक्रमणमा कस्तो प्रभाव पर्दछ भन्ने बारे पर्याप्त प्रमाण नभएपनि बन्द विद्यालयका कारण बालबालिकाको सुरक्षा र शिक्षण सिकाईमा ठूलो असर परेको छ । पछिल्ला दशकमा बालशिक्षाको क्षेत्रमा हाँसिल गरिएका उपलब्धिहरू गुम्नुका साथै अवस्था पहिलेको भन्दा झनै बिग्रन सक्ने जोखिम बढेको छ । सामुदायिक विद्यालयमा प्राप्त हुने स्वास्थ्य सेवाबाट समेत उनीहरू वञ्चित भएका छन् । यसको असर दीर्घकालीन हुनसक्छ । त्यसैले विद्यालय पुनःसुचारू भएसँगै विद्यालयमा स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुनसक्छ । राष्ट्रिय तथा स्थानीय अधिकारीहरूले विद्यालय पुनःसुचारू गर्ने निर्णय लिँदा शिक्षा, जन–स्वास्थ्य र आर्थिक तथा सामाजिक पक्षहरूमा गरिएको तथ्यपरक विश्लेषणका आधारमा बालबालिकाको सर्वोत्तम हित तथा समग्र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ ।

वैकल्पिक शिक्षण सिकाई पद्धतिको प्रयोग कस्तो रहयो ?

वैकल्पिक शिक्षण सिकाई पद्धतिको माध्यमबाट पठनपाठनलाई निरन्तरता दिने प्रयास भयो । त्यसले खासै उपलब्धि हासिल गर्न सकेन । गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुका लागि अनलाइन कक्षा फलदायी साबित हुन सकेन । उनीहरु पठनपाठनबाट विमुख नै रहे । उल्टै मोबाईल, ईन्टरनेट र ल्यापटपको नाममा सामाजिक विकृति बढ्यो । रेडियो, टेलिभिजन र अनलाईबाट भएका पठनपाठन प्रभावकारी देखिएन । अभिभावकको गुनासो पनि सुन्नुपर्‍यो ।

यो अवस्था कहिलेसम्म रहन्छ भन्ने कुनै टुंगो नभएका कारण अबको शिक्षण सिकाईलाई कसरी अगाडि लैजानु पर्छ ?

यो अवस्था कहिलेसम्म रहन्छ, यकीनका साथ भन्न सकिँदैन । बैशाख मसान्तसम्म त भनिएको छ । तर त्यसपछि के हुन्छ । नयाँ भेरिएन्टसहितको कोरोना महामारीका कारण निजी विद्यालयहरुले प्रश्नपत्र नै घर लग्न दिएर वार्षिक परीक्षा सम्पन्न गर्ने गराउने तयारी भईरहेको छ भन्ने विषयहरु पनि सुनेका छौं । भोलिका दिनमा समाजले यसलाई कसरी बिश्लेषण गर्छ ? शिक्षा क्षेत्रमा यसको प्रभाव के रहन्छ ? भन्ने चुनौतीहरु पनि छन् । हामी सामुदायिक विद्यालयहरुले परीक्षा स्थगन गरेर बसेका छौं । महानगरसँग पनि हामीले आवश्यक छलफल र समन्वय गरिरहेका छौं । अबको समयमा विद्यालय पुर्नसुचारू गर्दा विद्यालयमै बालबालिकालाई सिकाई र तिनको समग्र हेरचाह लगायत स्वास्थ्य, पोषण, मनोसामाजिक सहयोग, खानेपानी, स्वच्छता तथा सरसफाईका क्षेत्रमा पहिलेभन्दा राम्रो हुने गरि व्यवस्था मिलाउनु पर्छ । निकै लम्बिएको विद्यालय बन्दका कारण कैयौं विद्यार्थीहरू आफ्नो सिकाईको यात्रामा पछाडि परिरहेको अवस्थामा निकै कठिन भएता पनि विद्यालय पुनः सञ्चालन कहिले र कसरी गर्ने भन्ने विषय आजको प्राथमिकतामा राखिनुपर्छ ।

नीतिगत सुधारको आवश्यकता छ की छैन ?

नीतिगत सुधार गर्नैपर्छ । स्वास्थ्य सम्बन्धि आपतकालीन परिस्थितिमा विद्यालय बन्द गर्ने र पुनःसुचारू गर्ने नीति परिमार्जन गरिनुपर्छ । सीमान्तकृत तथा विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकामा समान पहुँचको वातावरण सिर्जना गर्न र दुर–शिक्षाको अभ्यासलाई सुदृढीकरण तथा स्तरीकरण गर्ने विषयमा नीतिगत व्यवस्था गर्नुपर्छ ।

छुटेको सिकाई कसरी व्यवस्थापन हुनसक्छ ?

छुटेका शिक्षण सत्रहरू पुनःप्राप्त गर्नका लागि विशेष अभ्यासहरूको विकास गर्ने तयारी छ । सिकाईका विधिको सुदृढीकरण तथा दूरशिक्षा प्रणालीको माध्यमबाट मिश्रित शिक्षा प्रणालीको विकास गर्न विशेष ध्यान दिने योजना छ । विद्यालय सुचारू गर्दा विगतमा विद्यालय बाहिर रहेका, विस्थापित र गरिब तथा विपन्न वर्गका बालबालिकाहरुलाई पनि समेटने गरि सुचारू गर्ने नीति तथा अभ्यासलाई परिमार्जन र विस्तार गर्ने विषयमा हाम्रो फोकस हुनेछ ।

अब शिक्षा क्षेत्रको भबिष्य के होला ?

शिक्षा क्षेत्रको अबको भविश्य अनिश्चित छ । यस्तो नै हुन्छ भनेर दाबी गर्न सकिँदैन । शिक्षा क्षेत्र धेरैपछि धकेलिएको छ । यसलाई पुनः ट्रयाकमा ल्याउन धेरै कसरत गर्नुपर्ने हुन्छ । भाबी चुनौतीहरु धेरै छन् ।

शुक्रबार, २४ बैशाख, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर