प्रधानमन्त्रीको निरीह सम्बोधन

 अनन्तराज न्यौपाने

यसअघिका वक्तव्यहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीको जुन प्रकारको फुर्तीफार्ती र ‘बिग टक’ सुनिन्थ्यो, त्यस्तो मुडमा सोमबारको प्रत्यक्ष प्रसारण आएन । सोमबारको वक्तव्य सुन्दा लाग्थ्यो, उनी क्लान्त–स्खलित र विगलित भइसकेका छन् । उनमा कुनै उत्साहको सञ्चार थिएन । उनको शारीरिक भावभङ्गिमा कुनै घोर अवशादले ग्रस्त मनुवाजस्तै प्रतीत हुन्थ्यो ।

प्रधानमन्त्री ओली त्यसोत, यसअघि नै बेसार पानी र अम्बाको पातको गार्गल थेरापीबाट देशविदेशमा भाइरल भइसकेका व्यक्तित्व हुन् । हाच्छ्यूँ गरेर कोरोना भगाउने उनको भाषण सुनेर विश्व एक पटक चकित परेको थियो । नेपाल र नेपालीले कस्ता डेढअक्कली र उपबुज्रुक सरकार प्रमुख पाएछन् भन्ने तथ्य यसैबाट छर्लङ्ग थियो । अल्पविद्या भयङ्करी भन्ने उखान छ संस्कृतमा । ओली यही उखानका उदाहरणीय पात्र हुन् ।

ओलीले सोमबारको टेलिभिजन वक्तव्यमा जे भने, त्यसको विवरण दिने इच्छा यस लेखकलाई छैन । किनकि, यसको फेहरिस्त सरकारी लगायत सबै माध्यमबाट तत्काल सार्वजनिक भइसकेको छ । मूलतः उनले भनेका कुरा कुनै नौला र विशेष थिएनन् । उनले औसत कुरा गर्न मात्र भ्याए । प्रधानमन्त्रीजस्तो विशेष पदको व्यक्तिले विशेष सम्बोधन गरेपछि राहतका विशेष योजना आउँछन् भन्ने विश्वास सर्वसाधारण सम्मले गर्नु अस्वाभाविक थिएन । तर ‘गफ सम्राट’ ओली यस पटकको सम्बोधनमा भने निरीह देखा परे । खासमा वक्तव्यमार्फत् उनले केही दिन सकेनन् । अरू दिन गफ दिएर त हसाउँथे, सोमबार गफ दिन पनि सकेनन् । उनका चुड्किला एकाएक अलप भए । कुनै नाटकको हास्य कलाकारजस्तो उनको अनुहार किंकर्तव्यविमूढताको अवस्थामा देखिन्थ्यो । सम्भवतः उनी स्वयं हतास, निरास र हतप्रभ अवस्थामा थिए ।

ओली अब पनि सत्तामा टाँसिइरहनुको कुनै औचित्य छैन । उनले सत्तामा बस्ने नैतिक अधिकार सर्वोच्चको प्रतिनिधि सभाको पुनःस्थापनापछिको आदेशपछि नै गुमाइसकेका थिए । मूलतः नैतिक धरातलमा अडिएको राजनीति शर्म, धर्म र मर्मले प्रेरित हुन्छ । तर ओलीका शब्दकोशमा नैतिकता, शर्म, धर्म र मर्म नामका कुनै अक्षर छैनन् । उनलाई निर्लज्ज भएर सरकार चलाउनु छ । सरकार के चलाउनु छ र, मुख्य कुरा त एनी हाउ धन बटुल्नु छ । यसका लागि उनी ओम्नीदेखि सुपाडीसम्मका काण्ड गर्न तयार छन् र गरिसकेका पनि छन् ।

मुलुक वर्तमानमा कोभिडको दोस्रो लहरको चपेटले आक्रान्त छ । घरघरै मान्छे बिरामी भएर लडेका छन् । लकडाउन अझ कडा पार्ने सन्देश आएको छ । खासमा हाम्रा कमाउ प्रधानमन्त्रीले चाहेको अवस्था पनि यही हो । किनकि कोभिडको सङ्क्रमण जति बढ्यो, त्यति नै सरकारले स्वास्थ्य सामग्री खरिद गर्न पाउँछ । र, हरेक खरिदमा कम्तीमा ८० प्रतिशत भ्रष्टाचारको लेपन हुन्छ । यसअघि पनि कोभिडको पहिलो लहरका बेला मास्क र पिसिआर मेसिनदेखि थर्मल गन अनि हरेक सामग्रीका खरिदमा ब्रह्मलूट मच्चिएको तथ्य कसैका नजरबाट छिपेको छैन । त्योभन्दा भयङ्कर महामारी यस पटक आइलागेको छ । त्यसैले प्रधानमन्त्री ओली, पहिलेको भन्दा दोब्बर–चौबर लुट्न दाउ हेरेर बसेका छन् । कोरोनाको दोस्रो लहर आम नेपाली र सर्वसाधारणका लागि महादशा बनेर आएको छ तर ओलीजस्ता भ्रष्ट र कमिसनखोर निर्लज्ज शासकका लागि महादशैँ सुरु भएको छ । कुनै बेला यिनै ओलीले भाषण गरेथे, ‘अब कुनै नेपालीले पनि दाल–भात खान नपाउने अवस्था छैन । खानै पाइन भनेर कसैले भन्ने बेला अब छैन ।’

तर कडा लकडाउनको आदेशसँगै गाउँशहरमा बेरोजगार भएका नागरिक र उनको परिवारको पेटमा माड कसरी पस्ने हो, ओलीको वक्तव्य मौन छ । काठमाडौं र विराटनगरजस्ता शहरमा यसअघि पनि कतिपय समाजसेवी र सङ्घसंस्थाले निःशुल्क खाना खुवाएको तथ्य सायद कमैले बिर्सिएका छन् । त्यो बेला सरकार नकच्चरोझैँ टाढाबाट हेरिरह्यो मात्र । वास्तवमा त्यसबेला सेवीजनले सरकारप्रति ठाडै व्यङ्ग्य गरेका थिए । तर सरकारका मनमस्तिष्कमा शर्म नामको पानी एक थोपो पनि थिएन । त्यसैले त्यस्तो व्यङ्ग्यले सरकारलाई छुने कुरा पनि भएन । आज त्यही अवस्था आइपुगेको छ । नागरिकहरू गाउँशहरमा लाखौँको सङ्ख्यामा बेरोजगार हुने अवस्था छ । ती र तिनका परिवारका मुखमा कसले माड लगाउने भन्ने सवालबाट ओलीको वक्तव्य भागेको छ । नजाने गाउँको बाटै नसोध्नू भनेजस्तो ओली यो बाटो हिँड्न चाहँदैनन् । अहिलेको सङ्कट र महामारीमा भोकले टाक्सिएका जनताको पेटमा एक गेडा अन्न नपारी उनी समाजवादको यात्रा गर्न चाहन्छन् । त्यसैले उनको सम्बोधन भोक र भोकाप्रति लक्षित छैन ।

मङ्गलबार, २१ बैशाख, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर