डा.अनुप बाँस्तोला
मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ । अधिकांश फोन, आइसीयू र भेन्टिलेटरको खोजीमा आउँछन् । तर, टेकू अस्पताल भरिसक्यो । थप बिरामी राख्ने सम्भावना न्यून छ । अब, वार्डबाट आइसीयूमा बिरामी सार्ने स्थिति छैन । रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन ।
जताजतै खुला छ र कोरोना भाइरसको संक्रमण दिन दुई गुणा, रात चौगुनाको दरले बढ्दो छ । यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ । अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए ।
हामीले कहिल्यै चेतेनौं, महामारीलाई साह्रै हलुका रूपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो । यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं । कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा, हामी फुक्काफाल भयौं । हामी सुस्तायौं । तर कोरोना भाइरस अझ संक्रामक भएर आयो । पहिले भन्दा कडा देखियो ।
संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउनसक्छ । हाम्रो स्वास्थ्य सेवा डामाडोल हुनसक्छ । अस्पतालमा बेड नपाउने समस्या त छँदैछ, कुन उपचारले बिरामी निको हुनेछ भन्ने अन्यौल पनि उस्तै छ । कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ ।
कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ । एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल छ । पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन् ।
तत्काल, कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ । ‘चेन ब्रेक’ नगरी हामीले सम्हालिने मौका पाउने छैनौं । अहिले आइसीयूमा जति सिकिस्त बिरामी हुनुहुन्छ, त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहनु भएको होला भन्ने अनुमान गर्न सकिन्छ ।
कृपया, अब अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौं । सुरक्षाका सबै मापदण्ड अपनाऔं । अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन । सकेसम्म सुरक्षित रहने कोसिस गरौं । यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँ–कहाँ चुक्यौं । विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन । अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ । हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं । घरीघरी त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था ?