कोरोना रोक्न बोर्डरमा तारबार लगाऔं

 उषाकला राई

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको बेला प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेकी उषाकला राई कोदोको रक्सी ब्रान्डिङ गर्ने भन्दै कार्यदल गठन गरेपछि चर्चा र विवादमा छिन् । प्रदेशमा कोरोना संक्रमण दर वैशाख १४ गतेसम्म २१ प्रतिशत पुगेको बेला कोभिड नियन्त्रण की कोदोको रक्सी ब्राण्डिङलाई प्राथमिकता दिने भन्ने प्रश्न सरकारमाथि उठिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणको पहल र प्रयत्न सरकारले प्रभाबकारी रुपमा गर्न सकेको छैन । जसले गर्दा नागरिकमा त्रासको अवस्था छ । खुला सीमानाका कारण अवैध आवतजावत नियन्त्रणमाा छैन । तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पनि पालना भएको छैन । जसले संक्रमण फैलाउन मद्दत गरिरहेको छ । यो अवस्थामा मन्त्रालयले कसरी काम गर्दैछ त भन्ने बारेमा मन्त्री राईसँग हाम्रोमत दैनिकले  गरेको कुराकानी प्रस्तुत गरिएको छ :

कोरोना महामारी दोहोरिएको छ । प्रदेश १ मा अहिलेको कोरोना संक्रमणको अवस्थालाई तपाईंको मन्त्रालयले कसरी लिएको छ ?

पछिल्लो संक्रमणको दरलाई हेर्दा भयावह अवस्थाकै संकेत देखिन्छ । ग्राफमा हेर्दा भारतमा झैं संक्रमण दर आकासिएको छ । सुरुवाती चरणमा ९ प्रतिशतको दरमा रहेको संक्रमण मंगलबार २१ प्रतिशत पुगेको छ । अहिलेसम्म हाम्रो प्रदेशमा ६ हजार १३८ जनाको पिसिआर परीक्षण भएको छ । संक्रमणको दर दोब्बरबाट तेब्बर हुने क्रममा पुगेको देखिन्छ । जसले अवस्था भयावह हुनसक्छ भन्ने नै देखाउँछ । त्यसैले कोरोना रोकथाम र नियन्त्रण गर्नका लागि सरकार, नागरिक समाज, सरोकारवाला निकायहरु सबै मिलेर जानुपर्छ । नेपालमा कोरोना संक्रमण हुनुमा भारतमा फैलिएको महामारी हो । महामारीकै अवधिमा भारतबाट खुला सीमानाको दुरुपयोग गरी लुकिछिपी प्रवेश गर्ने वा प्रहरीको आँखा छलेर खुलेआम आउने क्रम जारी रह्यो । केही दिन अघि मैले सीमा क्षेत्रको अवलोकन गरेर त्यसलाई नियन्त्रण गर्न कडा निर्देशन दिएँ । यद्यपी प्रहरीलाई निर्देशन गर्ने मेरो मन्त्रालयको जिम्मेवारी होइन । तर, जनताको स्वास्थ्यसँग मैले सरोकार राखेर त्यस्तो प्रयत्न गरें । फलस्वरुप खुलेआम आवतजावत नियन्त्रणउन्मुख भएको छ ।

कोरोना महामारीले भयावह रुप लिने स्वीकारोक्तिबीच सरकारको तयारी चै कस्तो छ ?

प्रदेश सरकार यस विषयमा गम्भीर छ । यतिछिटो संक्रमण फैलिएला भन्ने हामीलाई लागेको थिएन । त्यसैले तयारीको काममा केही बिलम्व भएकै हो । तर, यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ । पिसिसिएमसीको बैठकमा हामीले तयारीका लागि पूर्ण निर्देशन दिएका छौं । सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्नुपर्छ भनेका छौं । मुख्यगरी कोरोना भित्रिने नाकाहरु बन्द गर्नेतर्फ ध्यान पुगेको छैन । त्यसलाई अझ कडा गरौं । बोर्डर क्षेत्रमा तारबार लगाऔं भन्ने मेरो सुझाव छ । त्यसो भयो भने एकद्वार प्रणालीबाट मानिस आवतजावत गर्ने काम हुन्छ । निश्चित द्वारबाट आउने मासिहरुलाई होल्डिङ सेन्टरमा राख्ने र कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमण नियन्त्रणको प्रयत्न गर्नुपर्छ । मेरो प्रयास त्यसतर्फ छ । अब अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा मात्र होइन जिल्लागत नाकाहरुमा पनि यस्तो होल्डिङ सेन्टरहरु स्थापना गर्नुपर्छ । त्यस विषयमा मैले पहल बढाएको छु । यसका लागि हामी सबै संघीय सरकार, प्रदेश, स्थानीय तह, नागरिक समाज, सामाजिक संघसंस्थाहरु एकजुट भएर काम गर्नुपर्छ भन्नेमा हाम्रो मन्त्रालयले पहल गरिरहेको छ । मंगलबार त्यसै अनुरुप सडकमा स्वयं गएर मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गर्ने र सचेतना फैलाउने काम ग¥यौं ।

सरकारले संक्रमितको संख्या पाँच सयभन्दा माथि भयो भने निषेधाज्ञा गर्नसक्ने अधिकार दिएको छ । तर, प्रदेश १ का जिल्लाहरुमा किन निषेधाज्ञा नलगाइएको हो ?

हामीले संघीय सरकारको निर्देशन र निर्णय उल्लंघन गरेका छैनौं । अवज्ञा गर्ने कुरा पनि होइन । पिसिसिएमसीको बैठकमा यस विषयमा कुरा उठेको थियो । केही दिन हेरौं, संक्रमण दर कसरी बढ्छ भन्ने भयो । अझै अध्ययन गरौं भन्ने भएर पर्खिएको हो । संक्रमणको ट्रेण्ड र टेण्डेन्सीको विषयमा विज्ञ चिकित्सकहरुको समूहसँग छलफल गरेर उनीहरुको सुझावका आधारमा अघि बढौं भनेर केही दिन पर्खिएको हो । तर, अवस्था भयावह भएको खण्डमा लकडाउन लगाउनैपर्ने हुनसक्छ ।

सीमा क्षेत्रमै अहिलेसम्म होल्डिङ सेन्टर छैनन् । जिल्लागतरुपमा होल्डिङ सेन्टर स्थापना गर्ने कुरा कहिलेबाट कार्यान्वयनमा आउँछ ?

सामाजिक विकास मन्त्रालयले मुख्य नाकाहरुमा हेल्थ डेस्कहरु क्रियाशिल नै राखेको छ । तर, पनि खुला सीमाका कारण पूर्णरुपमा नियन्त्रण गर्न गाह्रो भएको छ । अब तुरुन्तै कम्तिमा पनि दुई सय जनालाई राख्नसक्ने होल्डिङ सेन्टरहरु स्थापना गर्ने तयारी भइरहेको छ । जिल्लाहरुमा पनि यस्ता सेन्टरहरु बन्छन् ।

काठमाडौंबाट मानिसहरु घर फर्कँदा कोरोना गाउँमा फैलने खतरा बढेको बेला स्थानीय तहहरुसँग समन्वयको अवस्था कस्तो छ ?

हामीले स्थानीय तहहरुबीच समन्वय गरिरहेका छौं । १४ वटै जिल्ला प्रशासन कार्यालयहरुसँग सम्पर्कमा रहेर सल्लाह, सुझाव र निर्देशन दिने काम सरकारले गरिरहेको छ । हरेक जिल्ला प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेस्कहरु राख्ने काम तत्काल हुन्छ । हिजो जसरी व्यवस्थापन भएको थियो, अहिले पनि त्यसैगरी व्यवस्थापन हुन्छ । जिल्ला अस्पतालहरुलाई संक्रमित उपचारका लागि ५ वेडबाट २० वेडमा स्तरोन्नति गर्ने निर्णय भएको छ । त्यो कार्यान्वयन छिट्टै हुन्छ ।

कोरोना नियन्त्रणमा सरकार गम्भीर नभएको प्रतिपक्षको आरोपबीच कसरी सहकार्य गरेर अगाडि बढ्ने तयारीमा हुनुहुन्छ ?

यो महामारीको अवस्था हो । सरकार एक्लैबाट यो नियन्त्रण र रोकथामको प्रयत्न सम्भव हुँदैन । सर्वपक्षीय, सर्वदलीय सहमतिका साथ अघि बढ्नुपर्छ भन्ने मेरो मत हो । मैले त्यसका लागि पहल गर्नेछु । आपसी सहकार्य र समन्वयबाट मात्र नतिजा प्राप्त हुन्छ भन्ने विश्वास सरकारले लिएको हुँदा हामी सबैसँग सहकार्य गरेर अघि बढ्छौं ।

प्रदेश सरकारले महत्वका साथ स्थापना गरेको कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न किन सरकारले सकिरहेको छैन ?

कोभिड अस्पताल सञ्चालनमै छ । हामीसँग ३२ बेड चलिरहेको छ । तर, बिरामी २७ जना मात्र छन् । त्यसलाई बिस्तार गर्ने काम जारी छ । धेरै काम सकिएको छ । हामीले १८० बेड भनेपनि सबै तत्काल हुने अवस्था छैन । तर, १३२ बेड भोलिबाटै सञ्चालनमा आउँछ । त्यहाँ आधुनिक उपकरणहरु राखिएका छन् । मित्रराष्ट्रले सहयोगस्वरुप दिएका धेरै राम्रा उपकरण त्यहाँ छन् । त्यसैले कोसी कोभिड अस्पतालबाट गुणस्तरीय सेवा लिनसक्ने आधार तयार भएको छ । मेरो बिचारमा बिहीबारबाटै हामी थप बिरामी भर्ना गरेर उपचार गर्न सक्छौं ।

अहिले विद्यमान स्वास्थ्यकर्मी र जनशक्तिले तपाईंले भनेजस्तो गुणस्तरीय सेवा दिन सम्भव छ ?

कोभिड अस्पतालमा अहिले १८ जना स्वास्थ्यकर्मीको टोली क्रियाशील छ । हामीसँग केही समस्या र सीमाहरु पनि छन् । तर, हामी निरन्तर लागि पर्नुपर्छ । अप्ठ्यारा छन् भनेर चुप बस्ने कुरा भएन । आवश्यक सबै तयारी गरेर सरकारले काम गरेको छ । आवश्यक पर्दा जनशक्तिहरु तत्काल आपूर्ति हुन्छन् । दरबन्दीको समस्या समाधान गर्न पहल गर्छौं । आग्रह र अनुरोध गरेर पनि आवश्यकता पुरा गर्छौं ।

निजी अस्पतालहरुसँग सरकारले कसरी समन्वय गरेको छ ?

हामीले भर्खरै यहाँका निजी अस्पताल सञ्चालकहरुसँग छलफल गरेका छौं । अरु बेलामा मुनाफामा आधारित भएर काम गर्नुभयो, अब जनसेवाको काम गर्ने कर्तव्य पुरा गर्नुस् भनेर भनेका छौं । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ । उहाँहरुले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य बीमाको सरोकार उठाउनु भएको छ । सरकारले त्यसमा पनि ध्यान दिन्छ । नोबेल अस्पतालले कोभिड उपचारका लागि ३ सय बेडसम्म विस्तार गर्नसक्छौं भनेको छ । न्यूरोले अहिले ५० बेड क्षमताको अस्पताल सञ्चालन गरिरहेको छ, आवश्यक परेको खण्डमा विस्तार गर्छु भनेको छ । त्यसैले अब बिरामीले भर्ना नपाएर यता र उता गर्नपर्ने अवस्था आउँदैन । त्यस्तो सूचना आए तत्काल कारवाहीको सिफारिस गर्छु ।

निजी अस्पतालले चर्को शूल्क असुल्ने गरेका छन् । त्यसमा मन्त्रालयले ध्यान दिएको छ कि छैन ?

शूल्कको विषयमा पनि हामीले छलफल गरेका छौं । संघीय सरकारले तोकेको दररेटभन्दा बढी शुल्क लिन मिल्दैन । सरकारले आइसियु, भेन्टिलेटर सबै सेवाको शूल्क तोकेको छ । त्यो भन्दा बढी लिएको पाइएमा हामी कारवाहीको सिफारिस गर्छौं ।

कोरोना नियन्त्रण गर्नुपर्ने बेलामा कोदोको रक्सीलाई ब्राण्डिङमा तपाई केन्द्रीत हुनुभयो भन्ने आलोचना उठिरहेको छ । त्यो आवश्यकता किन प¥यो ?

यो गर्नुपर्ने बेलामै गरेका छौं । सरकारले सबै कामहरु गरिरहेको हुन्छ । कोभिडको समस्याको बेलामा किन यो आयो भन्ने लाग्नसक्छ । तर, सरकारले कोभिडसँग लड्दै सबै काम र क्रियाकलापहरुलाई अगाडि बढाइरहेकै हुन्छ । सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र वृहद् छ । युवा खेलकुद, शिक्षा, स्वास्थ्य, रोजगार, महिला बालबालिका जस्ता कार्यक्षेत्र छन् । कोभिडको नाममा अरु सबै काम रोक्न सकिदैन ।

सरकारको मुख्य प्राथमिकता यतिबेला कोभिड नै हो । कोभिडसँग सबै मिलेर लड्ने हो । त्यसका लागि सरकारले काम गरिरहेको छ र अझ आवश्यक पर्ने कामहरु गर्दैजान्छ । सँगसँगै कोभिडमा मात्र अल्झिएर बस्ने अवस्था पनि छैन । हामीले हाम्रो अर्थतन्त्रलाई जोगाउँदै विकास गर्दै अघि बढ्न जरुरी छ । त्यसका लागि हामीसँग जे छ, त्यसकै उत्पादन बढाउने, विकास गर्ने र विश्व बजारमा पुग्ने उपायहरुको खोजी गर्नुपर्छ । अब त्यो उपाय अवलम्बन गरेनौं भने हाम्रो आर्थिक अवस्था के होला भनेर सोच्नुपर्छ ।

हामीले अरु उत्पादन विश्व बजारमा निर्यात गर्नसक्ने अवस्था छैन । जे छ, त्यहि बेच्ने हो । हाम्रो माटोमा जे फल्छ, त्यही बेच्ने हो । हामीले हाम्रो प्राकृतिक र सांस्कृतिक विविधता विश्व बजारमा बेच्ने हो । त्यसबाहेक हामीसँग भएको यस्तै घरेलु उत्पादनहरु बेच्ने हो । नेपाली कोदोको रक्सीलाई विश्व बजारमा प्रतिष्पर्धा गर्न लैजाने काममा सबैले सहयोग गर्नुपर्छ ।

सामाजिक विकास मन्त्रालयले धुम्रपान र मद्यपान निरुत्साहित गर्नेगरि काम गर्नुपर्ने जिम्मेवारी छ । अनि तपाई प्रबद्र्धनमा किन ?

पहिलो कुरा रक्सीले समाजमा अस्वस्थ वातावरण बनाउँछ । हाम्रो प्रयास त्यसलाई नियन्त्रण गर्नेमै केन्द्रीत छ । रक्सीको ब्राण्डिङले ग्रामिण क्षेत्रका किसानहरुको आर्जन क्षमता बढ्छ । समृद्धिसँगै मानिसहरुले जथाभावी रक्सी सेवन गर्ने क्रम घट्छ । जहाँसम्म कार्यक्षेत्रको कुरा छ, यो सामाजिक विकास मन्त्रालयकै कार्यक्षेत्र हो । तर, यसको कार्यान्वयनको चरणसम्म पुग्दा भने अन्य मन्त्रालयहरुसँग अन्तरसम्बन्धित हुँदै जान्छ । हामी कृषि, उद्योग, आर्थिक, आन्तरिक र पर्यटन मन्त्रालयहरुसँग पनि समन्वय गर्दै यसलाई अघि बढाउँछौं । समाजका धेरै पक्षहरुलाई यसमा अन्तरसम्बन्धित बनाउँदै यो अभियानलाई सफल बनाउँछौं ।

सामाजिक विकास मन्त्रालयले कार्यदल गठन गरेर प्रतिवेदन तयार गर्दै थन्क्याउने काम गरिरहेको आलोचना छ । तपाईले बनाएको कार्यदलको प्रतिवेदन कार्यान्वयन हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?

पहिलेका समितिहरुको विषयमा मलाई जानकारी छैन । त्यस विषयमा म अध्ययन गर्दै जान्छु । राम्रा प्रतिवेदनहरु कार्यान्वयनमा जान्छन् । तर, यो समिति भने आर्थिक समृद्धिको आधार तयार गर्ने र त्यसका लागि मार्गदर्शन गर्ने समिति हो । त्यसैले यसले दिने प्रतिवेदन कार्यान्वयन हुन्छ ।

कोदोको रक्सी ब्रान्डिङबाहेक सामाजिक विकास मन्त्रालयले आगामी दिनमा प्राथमिकताका साथ अगाडि सार्ने कार्ययोजना के–के छन् ?

मन्त्रालयसँग नियमित र विशेष गरी थुप्रै कार्यक्रम र कार्ययोजनाहरु छन् । त्यसलाई क्रमशः अघि बढाउँछौं । हामीले एउटाबाट सुरुवात गरेका हौं । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमार्फत पनि कतिपय नयाँ कार्ययोजनाहरु अघि सार्छौं । शिक्षामा व्यापक सुधारको खाँचो छ । त्यसमा काम थाल्नु छ । महिलाहरुको थुप्रै समस्याहरु छन् । बनेका कानून कार्यान्वयन भएका छैनन् । छोरीहरुको सुरक्षा र शिक्षाको कुरा छ । ती विषयमा काम गर्ने कार्ययोजनाहरु मेरो दिमागमा छ । धेरै काम मानिसले पैसा कमाएपछि मात्र गर्न सक्छन् । त्यस्तो वातावरण राज्यले बनाउन थाल्नुपर्छ भनेर नै हामीले ब्याण्ड भर्सेस ब्राण्डको अवधारणा अघि सारेका हौं । अहिले बनाएको समितिको अर्थ के हो भने हामी कोभिडसँग लड्दै गर्छौं विज्ञहरुले अध्ययन गरेर प्रतिवेदन ल्याउँदै गर्नुहुन्छ । यो अभियानमा हामी सबैलाई समावेश गरेर लैजान्छौं ।

बिहिबार, १६ बैशाख, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर