पाँचथर । जिल्ला सदरमुकाम फिदिम नगरपालिका ९ मा गत चैत ३ गतेको हावा हुरीका कारण ध्वस्त भएको भीमप्रसाद लावतीको घर निर्माणका निम्ति दक्षीण कोरियामा रहेका १२ जना स्थानीय युवाहरुले सहयोग गरेका छ्न् ।
१२ जना स्थानीयबाट ३७ हजार ९ सय ५७ नेपाली रुपैयाँ सहयोग स्वरुप पीडित परिवारलाई हस्तान्तरण गरिएको संयोजक गङ्गा पाहोहाङ्ले जानकारी दिए ।
दिनभर ज्याला मजदुरी गरेर परिवार चलाइरहेका भिमको दुई कोठेघर हावाहुरीका कारण पूर्णरुपमा ध्बस्त भएको थियो । घर उडाएपछि उनीहरु स्थानीय सामुदाय, रेडक्रस, जिल्ला रेडक्रसले प्रदान गरेको आपतकालीन राहतको भरमा बस्दै आएका थिए ।
जिल्ला प्रशासन कार्यलयबाट खाद्यान्नका लागि ७ हजार नगद प्रदान भएपछि सोही नगदले घर चलाइरहेको भीमको भनाइ छ । ‘घर लडेपछि मजदुरी जान पाएको छैन’, भीम भन्छन्, ‘मजदुरी गरेर ५ जनाको जहान परिवार पाल्न मुस्किल थियो ।’
घर लडेपछी बालबच्चाको झनै बिजोग भएको उनको भनाइ छ । खडेरीका कारण अन्न बाली समेत उब्जनी नभएको अबस्थामा भिमको परिवारलाई थप चुनौती थपिदै गएकाले गाउँलेहरु उनको घर निर्माणमा सहयोग गर्ने अभियान चलाइएको स्थानीय समाजसेवी भवेन्द्र सिगुको भनाइ छ ।