इतिहास गर्वले भन्नसक्ने हुनुपर्छ

 ओम आचार्य

इतिहास व्यक्तिको, परिवारको, समाजको, गाउँको, शहरको, राष्ट्रको सबैको भएजस्तै धर्मको, राजनीतिको र राजनीतिक पार्टीको पनि हुन्छ । इतिहास कस्तो छ, त्यस्को आधारशिला, त्यसको पृष्ठभूमि कस्तो थियो ? यो जान्नु बुझ्नु पनि हामीलाई जरुरी र आवश्यक छ । समयमै आफ्नो इतिहास, आफ्नो कर्मभुमि कस्तो बनाउने, त्यो युवा अवस्थामै सोच्नु व्यक्तिको लागि जति अनिवार्य छ, यति नै जरुरी धर्म, राजनीतिको विचार कसरी स्थापित गराउने भन्ने धर्मगुरु अवतारीहरु र राजनीति गर्ने राजनेताहरुले पनि समयमै सोच्नु पर्छ र आफ्नो इतिहास बनाउनेतिर लाग्नुपर्छ ।

इतिहास यस्तो बनाउन बनाउनेहरुले गर्वले जुनसुकै मञ्चबाट भन्न सकुन् । सुन्नेलाइ कर्णप्रिय लागोस् । सुन्नेलाई प्रेरणा प्राप्त होस् । सुन्नेले यस्तै इतिहास बनाउने आफ्नो लक्ष्य बनाओस् । इतिहास सुन्दा सुनाउनेप्रति क्रोध नआओस्, सुनाउनेप्रति घृणा नआओस् र सुनाउनेप्रति अनास्था पैदा नहोस् । सुनाउनेप्रति वितृष्णा पैदा नहोस् । विषेशत मैले यहाँ केही राजनीतिक पार्टीहरुको मुलभुत राजनैतिक इतिहासको कुरा स्मरणतिर लान खोजेको हुँ, ती राजनीतिक पार्टीहरुको पृष्ठभूमि, राजनीतिक पार्टीको आधारशिलातिर फर्कन प्रेरित गर्न खोजेको छु । अहिले यी पार्टीहरु यस देशमा स्थापित भइसकेका छन् र आफू कसरी, कुन राजनैतिक मार्गबाट, कुन कर्म भुमिबाट स्थापित भएका छन्, त्यसको सामान्य जानकारी सबैले राख्नुस् भन्न खोजेको छु ।

एकपल्ट गुरु रजनिशसँग एक महिला डाक्टरले आफ्नो पूर्वजन्मको कुरा थाहा पाउने जिज्ञासा राखिन् । गुरु रजनिशले यो कुरामा तपाई हठ नगर्नुस्, जिद्धी नगर्नुस्, यो जानेर तपाइलाई आनन्द र सुख अनुभुति हुदैन, तपाईमा पीडा र ग्लानी बाहेक केही प्राप्ति हुदैन भने । तर, उनको हठ र जिद्धीका साथै र जे भएपनि सामना गर्न तयार छु भनेपछि रजनिश गुरुले उनको पूर्वजन्म फिल्मजस्तो सबै देखाइदिए । पूर्वजन्मतिर फर्काइदिए । त्यो समयमा तिनी शहरकी चर्चित तर घृणित वेश्या रहिछिन् । अहिलेको वर्तमानको सम्मानित डाक्टर जीवनमा त्यसले ठूलो धक्का लाग्यो र कालान्तरमा उननको त्यही पीडाले जीवनलिला समाप्त भयो ।

विगत त्यस्तो हुनुपर्छ, जुन स्मरण गर्दा सुखद् होस् । विगत त्यस्तो हुनुपर्छ, जुन स्मरणले आयु वृद्धि गरोस् । विगत त्यस्तो हुनुपर्छ की मृत्युपछि प्रेरणाको रुपमा अरुहरुले त्यो विगतलाई सम्झेर आफ्नो उद्देश्य बनाउँन् । नेपालमा भएका राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा बन्नुभन्दा पूर्वको एमाले, नेकपा माओवादीलगायतका पार्टीहरु, जसको इतिहास, जसको राजनैतिक पृष्ठभुमि राजनीतिक आधारभूमी कस्तो छ ? के यिनीहरुमा कुन–कुन पार्टीले जनतामाँझ आफ्नो इतिहास, आफ्नो विगत गर्वले र सानले भन्न सक्छन् ? यो कुरालाई ती पार्टीहरुले कसरी मनन् गरेका छन्? यो कुरामा आमजनताले यिनीहरुको विगत इतिहासतिर फर्केर हेरेपछि ती राजनीतिक दलहरुमा के कति श्रद्धा, के कति निष्ठा बनाएका छन् या कति घृणा र कति अनास्था बनाएका छन् । या कति क्रोध पालेका छन् या कति वित्रतृष्णा बनाएका छन्, यो पनि जान्नु जरुरी देखिन्छ ।

राजनीतिक दलहरु स्वयम् आफू पनि आफ्नो विगतबाट कति सन्तुष्ट छन् आफ्नो विगत इतिहासबाट कति आनन्दित छन् र कति गर्वित अवस्थामा छन्, त्यो पनि ती राजनीतिक दलले आत्मालोचना, पुनःमूल्यांकन गरेका छन् या छैन ? यौटा कुरा आफ्नो राजनीतिक पार्टीको नाम स्थापना कालदेखि अहिलेसम्म अध्यावधिक कुन पार्टीले राख्न सकेको छ ? कुन पार्टीले आफ्नो पार्टीको नाम परिवर्तित गर्दै गएका छन् र कुन पार्टी अन्य पार्टीमा विलय गर्दै आफ्नो इतिहास विर्सन या विर्साउन खोजिरहेका छन् ।

यी सबै कुरा विगत इतिहासकै पृष्ठभूमिले गर्दा यस्तो गर्नुपर्ने अवस्था कुन–कुन पार्टीमा देखा परेको छ या देखा पर्न खोज्दैछ ? यसलाई आफ्नो दृष्टिमा राखिरहुस् र त्यो जÞरासम्म पुग्न प्रयत्न गर्नुस्, सबै को राजनीतिक, धार्मिक, सामाजिक पारिवारिक पृष्ठभूमि तपाईको आँखा अगाडि चलचित्र जस्तो दृश्यमा आउँछ । ती महिला, जो आफ्नो पूर्वजन्मको जानकारीबाट आफै प्रति घृणा, आफैंप्रति ग्लानी र पीडाले जसरी आफ्नो जीवनलिला समाप्त गर्न त्यस्तो अब उप्रान्त हामीबाट नहोस्, शुभ विचार, शुभ कर्म आओस्, सबैमा मेरो अनुरोध ।

बुधबार, १५ बैशाख, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर