भूकम्पपछिको पुनःनिर्माणको वास्तविकता

 पुण्य पी अधिकारी

२०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको ६ वर्ष पुरा भएको छ । यो अवधिमा निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत प्रगति भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । १२ गतेको विनाशकारी भूकम्प र वैशाख २९ गएको दोस्रो ठूलो पराकम्पनबाट भत्किएका ७ प्रतिशत घरहरूको अझै पुननिर्माण भइसकेको छैन । विनाशकारी भूकम्पको कारण प्रदेश १ का ६ जिल्ला प्रभावित भएका थिए । सोलखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, धनकुटा, भोजपुर र खोटाङमध्ये अतिप्रभावित ओखलढुङ्गामा राष्ट्रिय पुननिर्माण प्राधिकरणले क्षति भएका भौतिक संरचनाहरू निर्माण गरिरहेको छ ।

जनताको आवासको अधिकारको सुनिश्चितताको लागि पुनस्र्थापनाको प्रमुख क्षेत्र निजी आवासको पुननिर्माण नै रहेको थियो । जसको उपलब्धि ९३ प्रतिशतको भएको प्राधिकरणले जनाएको छ । जसमाअनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये निजी आवास पुननिर्माण सुरू गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १०४ छ । साथै जोखिम क्षेत्रमा रहेका २९९ स्थानका ४ हजार ७२० लाभग्राही परिवारलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राही परिवारलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको छ । भूकम्पबाट क्षति पुगेका ९२० पुरातत्विक सम्पदामध्ये ४९३ वटाको पुनःनिर्माण सम्पन्न भएको र २८८ वटा पुननिर्माण भइरहेको प्राधिकरणले जनाएको छ । जसमा राष्ट्रिय महत्व तथा सार्वजनिक चासो रहेको काठमाडौँको रानीपोखरी र धरहराको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको जिर्णद्वारको कम पनि सकिएको छ ।

भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुननिर्माण सम्पन्न भएको र १७ प्रतिशत विद्यालय पुननिर्माण भइरहेको सरकारी तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, कुल १ हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण सम्पन्न भएको छ । २९६ को पुननिर्माण जारी रहेको र ४१५ सरकारी भवनमध्ये ३७० भवनको र सुरक्षा निकायका २१६ संरचनामध्ये २१४ को पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । प्रदेश १ का पहाडी तथा हिमाली जिल्लाहरू ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुमा ४२ स्वास्थ्य संस्थाको भवन पुननिर्माणको क्रममा रहेका छन् । ओखलढुङ्गामा २२, खोटाङमा १७ र सोलुखुम्बुमा ३ गरी जम्मा ४२ स्वास्थ्य संस्थाको भवन पुननिर्माणको क्रममा रहेका छन् । जसमध्ये हालसम्म ११ स्वास्थ्य संस्था भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् । बाँकी ३१ स्वास्थ्य संस्थाको भवन निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुङ्गाले जनाएको छ ।

ओखलढुङ्गाको जन्तरखानी, माम्खा, रगनी, टारकेराबारी र नर्वदेश्वर स्वास्थचौकी पुननिर्माण सम्पन्न भएका छन् । त्यसैगरी खोटाङको विजयखर्क, चिप्रिङ, नेर्पा, दुवेकोल, सप्तेश्वर, टेम्मा स्वस्थ्य चौकी भवन गत मङ्सिरमा निर्माण सम्पन्न भई सञ्चालनमा छ । ५ स्वास्थ्य चौकी भवन अरबी मुलुक साउदी सरकारको सहयोगमा बन्न लागेको हो भने बाँकी ३७ वटा नेपाल सरकारको स्रोतबाट निर्माण हुनेछ । त्यसैगरी सोलुखुम्बुमा नेले आयुर्वेद औषधालय, काँकु स्वास्थ्य चौकी, सम्झौताको चरणमा छन् भने खुम्जुङ स्वास्थ्य चौकी मूल्याङ्कनको चरणमा छ । भूकम्पबाट अतिप्रभावित ओखलढुङ्गाका २२ स्वास्थ्य चौकी पुननिर्माणका क्रममा रहेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुङ्गाबाट पुननिर्माणमा परेका स्वास्थ्यचौकीमध्ये ७ वटा स्वास्थ्यचौकी निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका छन् । ९ वटा स्वास्थ्यचौकी चालू आर्थिक वर्षको चैत ९ गतेदेखि चैत १८ गतेसम्म सम्झौता भई निर्माण कार्य भइरहेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको भवन नक्साङ्कनअनुसार जिल्लामा निर्माण भएका स्वास्थ्यचौकी भवनहरू अपाङ्गमैत्री तथा बालमैत्री नहुँदा अपाङ्गता भएकाहरूको अधिकार र बालअधिकारका विषयमा नेपाल सरकार गम्भीर हुन आवश्यक देखिन्छ । ओखलढुङ्गामा आर्थिक वर्ष ०७३÷७४ कार्यक्रममा ४७ विद्यालय भवन पुननिर्माणमा परेकोमा ४७ बनिसकेका छन् । आर्थिक वर्ष ०७४/७५ मा ४६ विद्यालय पुननिर्माणमा परेकोमा ४५ विद्यालय पुननिर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका छन् । एउटा विद्यालयको समयमै सम्झौता नहुँदा पुननिर्माणको बजेट फिर्ता भएको छ । आर्थिक वर्ष ०७५/७६ मा ३२ विद्यालय भवन पुननिर्माणमा सम्पन्न भइसकेका छन् ।

आर्थिक वर्ष ०७६/०७७ मा ४६ विद्यालय पुननिर्माणमा परेकोमा ४५ वटा निर्माणाधीन अवस्थामा छन् । । आर्थिक वर्ष ०७६/७७ मा ५९ शौचालय पुनःनिर्माणमा परेकोम २ शौचालय निर्माण सम्पन्न भइसकेको छ भने ५६ वटा निर्माणाधीनरहेको कार्यालयले जनाएको छ ।

ओखलढुङ्गामा आर्थिक वर्ष ०७६/७७ मास् वच्छ पिउने पानीमा ६४ योजना रहेकोमा ३ वटा बनिसकेका छन् भने ६० धारा निर्माणको अवस्थामा छन् । स्वच्छ पिउने पानीका लागि २१५ विद्यालय धारा पुननिर्माणमा परेका छन् । ओखलढुङ्गाबाट पुननिर्माणमा परेका विद्यालयमध्ये १ सय ४९ विद्यालय निर्माण सम्पन्न भएर पनि हस्तान्तरण भइसकेका छन् । भूकम्प गएको ६ वर्षको अवधिमा प्रदेश १ का भूकम्प प्रभावित जिल्लामा पुननिर्माणको अवस्था आशावादी देखिएपनि सन्तोषजनक भने पाईदैन । प्रदेश सरकारले शिक्षालय, स्वास्थ्य र स्वच्छ पिउने पानी कति आवश्यकीय पूर्वाधार हुन् भन्ने बुझ्न अबेर भएको भान हुन्छ । प्रदेशकै मन्त्रीले ३ करोड बढीको सवारी साधन खरिद गर्नुको सट्टा त्यो रकम भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण वा कोभिडको समयमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन खर्चिएको भए त्यसले प्रदेशको अभिभावक भएको छनक दिनेथियो ।

बुधबार, १५ बैशाख, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर