‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा विवादित बन्दै

विद्यार्थी संगनठको विरोध, आदिवासी जनजाति संघसँग आबद्ध संघ संस्थाद्वारा स्वागत

विराटनगर । दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको बेला यसको रोकथाम र नियन्त्रण गर्नुको साटो प्रदेश १ को सामाजिक विकास मन्त्रालयले रक्सीबारे अध्ययन गर्न कार्यदल गठन गरेपछि विद्यार्थी संगठनले विरोध जनाएको छ । उता आदिवासी जनजाति संघसम्बद्ध कतिपय संघसंस्थाले भने मन्त्रालयको उक्त कदमप्रति स्वागत गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विराटनगर महानगरपालिका कमिटिले सोमबार प्रेस विज्ञाप्ती जारी गर्दै कोरोना संक्रमणले गाँज्दै गएकोे अवस्थामा अस्पतालहरुमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्नुको साटो रक्सीबारे अध्ययन गर्न कार्यदल गठन गरेको भन्दै विरोध जनाएको हो ।

‘कोरोनाको कारण सम्पूर्ण देश नै जटिल स्थितिमा रहेको समयमा सामािजक विकास मन्त्रालयको यस्तो लज्जास्पद र गैरजिम्मेवारीपूर्ण कामप्रति अनेरास्ववियु घोर भत्सर्ना गर्दछ,’ संयोजक अविरल काफ्ले र सह–संयोजक विशाल कुमार साहले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रीस्तरीय निर्णय भन्दै प्रदेश योजना आयोगका सदस्य पूर्ण लक्समलाई कार्यदलको प्रमुख तोकेकी छन् । यो पत्र सार्वजनिक भएसँगै मन्त्री राईको कदमको आलोचना सुरु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको मुख्य जिम्मेवारी शिक्षा र स्वास्थ्य हो । अहिले कोरोना महामारीको दोस्रो लहरले प्रदेशलाई गाँज्दै लगेको बेला त्यसलाई न्युनिकरण गर्ने कुनै योजना अगाडि नबढाएकी मन्त्री राईले आफ्नो कार्यक्षेत्रबाहिर गएर रक्सीको ब्राण्डिङ गर्ने भन्दै कार्यदल बनाएकी छिन् ।

मन्त्रीको कदमप्रति स्वागत

यता, मन्त्री राईले अघि सारेको नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धन का लागि ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणालाई आदिवासी जनजाति संघसँग आबद्ध संघ संस्थाहरुले स्वागत गरेका छन् । उनीहरुले आदिवासी जनजातिको परम्परा, संस्कृति एवं पहिचानको व्यवसायीकरण गर्ने योजनाका रुपमा ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणालाइ लिएको बताएका छन् ।

मन्त्री राईलाई आज ज्ञापन पत्र बुझाउँदै उनीहरुले आदिवासी जनजाति महिलाहरुको ज्ञान, सीप प्रविधि तथा रोजगारीसँग जोडिनका साथै आदिवासी जनजातिहरुको जम्म देखि मृत्यु पर्यन्तसम्म पनि प्रयोग हुने धर्म संस्कार संस्कृतिसँग नेपाली घरेलु मदिरा जोडिएको बताएका छन् ।

ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च प्रदेश १ अध्यक्ष माया राईले नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै उत्पादित नेपाली घरेलु मदिराको बजारिकरण गरिएको खण्डमा कृषि उत्पादनमा बृद्धि, सोजगारी सृजना, गरिवी न्युनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्दा अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने बताइन् । मन्त्रालयको आधिकारिक इमेल ठेगानाबाटै प्रचारित समाचारमा माया राईले ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणाको उच्च मूल्यांकन गरेको उल्लेख छ ।

सामाजिक विकासमन्त्री राईलाई राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, राष्ट्रिय जनजाति महिला महासंघ समन्वय परिषद् सुनसरी, राष्ट्रिय जनजाति महिला महासंघ समन्वय परिषद् इटहरी, किराँत राई सुम्निमा संघ, इटहरी र किरात राई सुम्निमा संघ प्रारम्भिक कार्यसमितिले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै मन्त्री राईले आफुले अघि सारेको काममा साथ दिन सबैलाई आग्रह गरिन् । ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा सफल भएरै छाड्ने उनको भनाइ थियो ।

मङ्गलबार, १४ बैशाख, २०७८, साँझको ०७:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर