मणि दाहाल
अराजनीतिक तवरका प्रचारशैली अहिलेको मुल समस्या हो । सस्तो लोकप्रियतावादी तथ्यबिहिन बहस र त्यसकै आधारमा धारण बनाउने प्रवृति समाज विकासको चरणकै बाधक हो । यसले हाम्रो चेतनास्तलाई कमजोर बनाएको छ । परिणामस्वरुप आर्थिक तथा सामाजिक पछौटेपनको सामना र भुलभुलैयाको गुलियो बचन हाम्रो नियति बन्दैछ । २०७५ साल फागुन ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा भएको एकताले जनतालाई हर्षित तुल्यायो । तर, जनताको उक्त खुशिलाई लामो समय टिक्न दिइएन । २०७७ फागुन २३ गतेको अदालती कु–मार्फत दुई पार्टीबीचको एकतालाई जबरजस्त भंग गरियो । अग्रगमनकारी रोए, पश्चगमनाकारी हर्षबिभोर भए । उनीहरु उन्मादले कक्टेल पार्टीमा रमाए । तर, श्रमजीवी तथा मेहनतकस जनताको लागि फागुन २३ इतिहासमा कालोदिनको रुपमा दर्ज भयो ।
सत्ताको स्वाद चाखिसकेका कमरेड केपी पुनः सत्तारोहणको पर्खाइमा हुनुुन्थ्यो । २०७४ सालको आम निर्वाचनमा एमालेको एक्लो बुताबाट मात्र सो संभब थिएन । स्थानीय तहको निर्वाचनले त्यसको संकेत दिइसकेको थियो । यसको लागि उहाँले सजिलो उपाय निकाल्नु भयो । कृत्रिम रुपमै भएपनि नेकपा माओवादी केन्द्रसँग संयुक्त चुनावमा जाने कार्ड फाल्नुभयो । दुई पार्टीबीचको संयुक्त चुनाबी घोषणपत्र तयार भयो । घोषणपत्रमा उल्लेखित प्रतिबद्धताका आधारमा जनताले संयुक्त गठबन्धनलाई करिब दुईतिहाई सिट दिएर बिजयी गराए । कमरेड केपी प्रधानमन्त्री बन्नुभयो ।
प्रधानमन्त्री त बन्नुभयो तर उहाँ दक्षिणपन्थी इरादामा बन्धक भएको रायमाझीपथलाई चौडा पार्न चाहनुहुन्थ्यो । त्यसको लागि कमरेड माधवलगायतका धेरै कमरेडहरु तगारेको रुपमा खडा थिए । उक्त तगारोलाई नतोडिकन उहाँको इरादा पुरा हुने संभावना थिएन । षड्यन्त्र शास्त्रमा बिद्याबारधी हाँसिल गर्नुभएका कमरेड केपीले माधव कमरेडलाई साइजमा ल्याउने सजिलो उपाय पार्टी एकीकरणलाई रोज्नुभयो । सोही मुताबिक कमरेड प्रचण्ड र कमरेड केपीको बिचमा आधा—आधा कार्यकालको सम्झौता भयो । केपी कमरेडले उधारो तमसुकमा सहिछाप गर्नुभयो । कमरेड प्रचण्ड मख्ख पर्नुभयो । साथै ६०–४० को गणितीय एकाता पनि भयो । दुबैका केन्द्रीयलगायत मातहात कमिटी भंग गरिए । पार्टी एकीकरणको घोषण गरियो । एकीकरण जस्तो महत्वपूर्ण सवालमा उहाँहरु दुबैले मातहात तहमा बहस तथा छलफलको आवश्यकतासम्म महसुश गर्नु भएन । जे भएपनि वामहरुबीचको एकता आवश्यक थियो । कार्यकर्ताले आँखा चिम्लेर ताली बजाए ।
आदरणीय पाठकबृन्द्ध ! मैले माथिका प्रसंगहरु किन जोड्न खोजेको हो भने यतिखेर कमरेड माधब एमाले पुनर्गठनको तुफानी अभियानमा हुनुहुन्छ । यस अबधिमा उहाँले एमालेलाई माओवादीमा बिलय गर्न खोजेको, प्रचण्डको पाउमा परेको जस्ता अनेकौ अराजनीतिक र तथ्यहिन आरोपहरु लगाएर जनता तथा कार्यकर्तामा भ्रम छर्न खोजिदैछ । के उल्लेखित आरोपहरु तथ्यमा आधारित छन् ? साथै उहाँ पुनर्गठित एमालेको शीर्ष नेता हो । यस हैसियतमा उहाँले नेकपा माओवादीलगायत आम वाम शक्तिलाई एकताको सुत्रमा बाँध्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो भने के त्यो नेपाली जनताको अहितमा होला ? यस्ता सवालहरुमा कार्यकर्ता स्पष्ट हुनु जरुरी छ ।
ढिलो होस् अथवा चाँडो नेकापा माओवादी केन्द्र र एमालेको बिचमा एकता हुनैपर्छ । यो राष्ट्रको आवश्यकता हो । यसमा कसैले भ्रम पाल्नु जरुरी छैन । फेरि माओवादीसँगको संयुक्त चुनाबी मोर्चा चल्ने । संयुक्त घोषणपत्र चल्ने । माओवादीले दिएको भोट चल्ने । सांसद चल्ने । प्रधानमन्त्रीलगायत मन्त्री र मुख्यमन्त्री चल्ने । कमरेड केपीको पाउ पर्ने रामबाहादुर, टोपबहादुरलगायतका मुसाहरु चल्ने । अनि प्रचण्डसँंग पानी नचल्ने ? यस्ता वाइयात तर्कको कुनै अर्थ छैन । कार्यकर्ता यस्ता अराजनीतिक स्याल हुँइयाँको पछाडि लाग्नुहुदैन ।
अबको कार्यभार समृद्धि र समाजवाद हो । कमरेड केपीले समाजवादी कार्यदिशालाई दलाल नोकरशाही पूँजीवादको पोल्टामा सुम्पनुभयो । अनेकौं आर्थिक अपराधबाट आर्जित सम्पत्ती र त्यसबाट रातारात धनी बन्ने सीमित वर्गको समृद्धि नै समाजवाद हो भन्ने उहाँको बुझाई भयो । भ्रष्ट तस्कर माफिया सञ्जालको मितेरीमा उहाँले सर्वहारा श्रमजीवी तथा मेहनतकस जनताको हितमा लात मार्ने काम गर्नुभयो । चुनावी प्रतिबद्धतालाई कन्टेनरमा पाल्ने काम गर्नुभयो । पार्टी अनुशासनमा चल्नुभएन । एकीकरणप्रति इमान्दार बन्नुभएन । संगठनलाई तहसनहस पार्नुभयो । त्यसकारण उहाँको नेतृत्वमा समृद्धि र समाजवाद दुबै संभब छैन ।
बहुदलीय जनवादलाई एमालेले सिद्धान्तको रुपमा स्वीकारेको छ । तर, बहुदलीय जनवाद सामन्तवाद बिरोधी कार्यक्रम मात्र हो । राजतन्त्रको अन्त्यसँगै आर्थिक रुपमा सामन्तवाद परास्त भएको छ । सामाजिक र संस्कृतिक रुपमा सामन्तवादका अवशेषहरु जीवित भए तापनि आर्थिक रुपमा वर्तमान नेपाली समाज पूँजीवादमा प्रवेश गरेको छ । तर, राष्ट्रिय पूँजीपति वर्ग कमजोर अवस्थामा छ । नोकरशाही पूँजीवादले उत्पादन प्रणालीलाई ध्वस्त बनाएर रोजगारीका अवसरलाई खोस्ने काम गरेको छ । यस्तो अवस्थामा समाजवादउन्मुख कार्यक्रममार्फत समृद्धिको मार्ग पहिचानको जरुरत छ ।
पार्टी अध्यक्षका साथमा सरकारको नेतृत्व सम्हालेको यतिका वर्षसम्म कमरेड केपीले समृद्धि र समाजवादको बारेमा कुनै आधारशिला तयार पार्न सक्नुभएन । भाषणमा भ्रष्टाचारको शुन्य सहनशिलता भनियो । तर, व्यवहारमा ठूला भ्रष्टाचारीहरु उहाँकै वरिपरी संरक्षित बन्ने वातावरण बन्यो । भुइफुट्टा अर्थात अपारदर्शी आयले रातारात धनी भएको वर्गले पार्टीमाथि कब्जा जमायो । संसदीय क्षेत्र खरिद बिक्रीको बस्तु बन्यो । के अब पनि उहाँबाट आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणसहितको समाजवाद संभब छ भनेर कार्यकर्ताले भ्रम पाल्ने ?
समाजवादी यात्रा र त्यसको सार्थकताको लागि सहमत पक्षहरुको बिचको हतत्तेमालो जरुरत हुन्छ । नेपालको राजनीतिक परिवेशमा वामपन्थी शक्तिहरु मात्र समाजवादका आधार स्तम्भहरु हुन् । माओवादीलगायत बाम शक्तिहरुबीचको एकताविना समाजवादी यात्रा गन्तब्यमा पुग्न सक्तैन । त्यसकारण जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिक मुल प्रबाहमा अवतरित शक्तिको बारेमा चल्ने अराजनीतिक हल्लाको पछि पुनर्गठित एमालेको पक्षमा जनमत जुटाउनु कार्यकर्ताको दायित्व हो ।