लीलाबल्लभ घिमिरे
छिमेकी मुलुक भारतमा कोरोनाको डरलाग्दो दृष्य देखिएको छ । पहिलो चरणको कोरोनाले नेपाल मात्र हैन भारतमा समेत आँकलन गरिए अनुसारको क्षति गरेको थिएन । एक वर्ष अघि जसरी कोरोनाको हल्ला आयो, वास्तविक कोरोना आउँदा हल्ला गरे जस्तो ठूलो क्षति भएन । त्यसैले गर्दा मानिसहरुमा एकखाले धारणा बन्यो, यो कोरोना आउँछ अनि जान्छ । अहिले पनि धेरैमा यस्तै विचार पाइन्छ ।
तर, कोरोनाको दोस्रो लहरलाई हेर्दा यसपटक एक वर्ष अघि जुन रुपमा सहजै कोरोना गयो, त्यसरी जादैन भन्ने पूर्वअनुमान सहजै गर्न सकिन्छ । खुल्ला सिमाका कारण अहिले पनि भारतवाट नेपालतर्फ आउनका लागि कुनै अवरोध छैन । हजारौंको संख्यामा मानिसहरुको आउजाउ चलिरहेको छ । सीमा क्षेत्रका मात्र कुरा नगरौं, हाम्रा बजारहरु खुल्ला छन् । यातायातका साधन चलिरहेका छन् । यो सिजन फेरि विवाहको छ । दैनिकजसो हुने विवाहमा मान्छेहरु निस्फक्री विनामाक्स जम्मा भइरहेका छन् । सरकारले औपचारिकता मात्र निभाएको छ । २५ जनाभन्दा वढि मान्छेहरु भेला नहुने उर्दी जारी गरेको सरकारका मन्त्री र प्रधानमन्त्री नै सयौंको भिड जम्मा गर्दै उद्घाटन र शिलान्यासमा व्यस्त छन् ।
अहिले भइरहेका र्सावजनिक कार्यक्रम मात्र हैन, विवाहमा कति मान्छे जम्मा भएका छन् भने कस्ले गन्ने ? मान्छेहरु मृत्युलाई जिते जसरी विवाहमा नाचिरहेका छन् । चिया पसलदेखि होटलसम्म भरिभराउ छन् । यसले के संकेत गर्छ भने हामी भयाभयको नजिक छौं । दोस्रो लहरको कोरोना आउँछ नै । त्यसलाई अहिले हामीले जे गरिरहेका छौं, बढाउने काम मात्र गर्छ ।
शनिबार मात्र स्वास्थ्य मन्त्रालयले सरकारलाई काठमाडौंमा लकडाउन गर्ने सिफारिस गरेको समाचार बाहिर आएको छ । अब कोरोना रोक्न पुरै देशलाई १५ दिनका लागि लकडाउन गर्नुपर्छ । लकडाउनको विकल्प छैन । १५ दिन लकडाउन गर्दा आकासै झरी हाल्दैन । आफ्ना नागरिकलाई बचाउनु सरकारको पहिलो कर्तव्य हो । त्यसपछि मात्र व्यापार हेर्ने हो । प्रदेश १ को राजधानी विराटनगर झनै कोरोनाको हटस्पट बन्दैछ । यसलाई ध्यानमा राखेर महानगरले ठोस कदम उठाउन सक्नुपर्छ । हामीसँग भएको एउटा मात्र उपाय हो, लकडाउन । यसले केही हदसम्म कोरोनालाई फैलनबाट पक्कै पनि रोक्छ । हामीसँग अस्पताल छन् । तर, बेड छैन । वेड भएको ठाउँमा अक्सिजन हुदैन । अक्सिजन भएको ठाउँमा डाक्टर हुदैन । त्यसैले उपचार सोचे जस्तो सहज छैन । हिजो कोरोना लागेका अधिकांश घरमा नै बसेका थिए । आज पहिलो चरणको भन्दा अझ कडा रुपमा रोगले सताईरहेको छ । अस्पतालको सहारा खोज्नुपर्ने अवस्था थियो । हिजो केटाकेटीहरुमा देखिएको थिएन, आज बालबालिकाहरु संक्रमित छन् । यसले झनै समस्या निम्त्याउँछ । तर्सथ समयमा नै सजकता अपनाउनु बुद्धिमानी हुने छ । यसतर्फ स्थानीय सरकारहरुको ध्यान जानु आवश्यक छ ।
सिंहदरवार हाम्रो घरदैलोमा आएको छ । तर, अहिलेसम्म हाम्रा सरकारहरु मौन प्रायः छन् । हुन त नेपाल एउटा साह्रै नराम्रो अभ्यास छ । राजनीतिमा होस् या अन्य कुरामा पनि अन्तिम समयमा मात्र लाग्ने । तर, कोरोनामा पनि यही सिद्धान्त अपनाइयो भने यो गलत हुनेछ । यसको क्षति कल्पना गरेभन्दा धेरै हुनेछ । यसका लागि स्थानीय सरकारहरु सजग हुनु आवश्यक छ ।
हामीले सरकारको मात्र मुख ताकेर यो कोरोनावाट बचिएला भनेर कल्पना गरेका छौं भने त्यो ठूलो भुल हुनेछ । अब आफ्नो सुरक्षा आफैं गर्न सक्नुपर्छ । यदि त्यसो गरिएन भने सबैभन्दा ठूलो क्षति हामी र हाम्रो परिवारलाई पर्ने छ । सरकार त सवैले गरेको गाली सुन्ने मात्र हो । हामी नै बजारमा हिँड्दा माक्स लगाउँदैनन् । होटलमा नबसी हाम्रा दिन वित्दैन । चोकमा निस्केर गफ गर्नेपर्ने लत हामीमा छ । नेपालीमा एउटा उखान छ, अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु । अहिले जीउ जोगाउने समय आएको छ । त्यसैले अब विवाह पार्टी, भोजभतेर रोकौं । १५ दिनका लागि जहाँ छौं, त्यही बसौं । यसैमा हामी सबैको कल्याण छ । चोकमा निस्केर रकारले यो गरेन त्यो गरेन भन्दा भन्दै मृत्यृ हाम्रो घर आँगनसम्म आइपुग्छ । त्यसैले सबै घरमा नै बसौं । स्वास्थ्य सावधानी अपनाउ आफू बचौं र अरुलाई पनि बचाऔं ।