नागरिकको ज्यानमाथि खेलवाड नगरौं

 पुण्य पी अधिकारी

२०७६ चैत ११ गते कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले देशभर लकडाउन ग¥यो । लकडाउनले सम्पूर्ण क्षेत्रमा खराब प्रभाव पा¥यो र पारेकै छ । लकडाउनपछि नागरिकका अन्य अधिकारसँगै स्वास्थ्य अधिकार सबैभन्दा नराम्रोसँग प्रभावित भयो । प्रदेश १ को राजधानी विराटनगरले शिक्षासँगै स्वास्थ्य क्षेत्रमा उत्तिकै दख्खल राख्छ । यो मानेमा प्रदेशभरका नागरिक सफल उपचारका लागि विराटनगर आएका छन् र आउँछन् नै । तर, कोरोना भाइरसको सङ्क्रमण बढेपछि सङ्क्रिमत बिरामीहरू उपचारका लागि प्रदेश राजधानी विराटनगर आउँदा उपचार पाउने हो वा होइन भन्ने अवस्था सिर्जना भएको छ । उपचार अभावकै कारणले अघिल्लो वर्षमा झण्डै एक दर्जन नागरिकले ज्यान गुमाउनु प¥यो, जसमा धेरै गल्ती विराटनगरका निजी तथा सरकारी अस्पतालको थियो ।

अघिल्लो वर्ष कानेपोखरी गाउँपालिका–५ की २३ वर्षीया सविना थापा (दर्जी)को उपचार नपाएकै कारण भदौ १६ गते राति ज्यान गयो । विराटनगरका नोबेल अस्पताल, विराट शिक्षण अस्पताल, विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल, ग्रीनक्रस अस्पताल, कोशी अस्पताल, सुरक्षा अस्पताललगायतका अस्पतालले कोभिड–१९ सङ्क्रमित भनेर भर्ना नलिँदा थापाको मृत्यु भयो । कोरोना भाइरसको सङ्क्रमण भए, नभएको पुष्टि माग गर्दै अस्पतालले बिरामी भर्ना नगर्दा उपचार अभावमा उदयपुर कटारी नगरपालिका–५ का २३ वर्षीय पदमबहादुर राईको साउन ९ गते मृत्यु भयो । श्वासप्रश्वासमा समस्या भएपछि परिवारले पदमबहादुरलाई साउन ९ गते विराटनगर ल्याएको थियो । सुरूमा बिरामी नोबेल अस्पताल विराटनगर लगिएको थियो । बिरामीका बारेमा अस्पताल प्रशासनलाई जानकारी गराएर स्टे«चरमा राखि आकस्मिक कक्षतर्फ लैजाने क्रममा अस्पताल प्रशासनले कोरोना भएन भएको पुष्टि गर्न बिरामीका परिवारलाई दबाब दिएको थियो ।

बिरामीका बारेमा सबै जानकारी गराएर आस्कमिक कक्षतर्फ लैजाने क्रममा कोरोना भए नभएको रिपोर्ट माग गर्दै नोबेलले बिरामीलाई भर्ना नलिएर कोशीमा उपचार हुने भन्दै फिर्ता पठाएको थियो । साउन ९ गते दिउँसो साँढे २ बजे बिरामीलाई कोशी अस्पताल पु¥याएपछि अस्पतालले गेटमा रोकेर बिरामीको स्वाब सङ्कलन गरेको थियो । बिरामीको स्वाब सङ्कलन गरी भर्ना गर्ने तयारी गरीरहेको बेला बिरामीको मृत्यु भएको कोशी अस्पतालले जनायो । वैशाख ६ बिहान उपचारका लागि विराटनगर आउनुभएकी एक महिलाको उपचार नपाएरै ज्यान गयो । एन्टिजेन परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि उपचारका लागि उदयपुर गाइघाटबाट विराटनगर आउनुभएकी ३५ वर्षीया महिलाको विराटनगरका अस्पतालले भर्ना नलिँदा ज्यान गयो । गोल्डेन अस्पतालमा भर्ना गरिएको अवस्थामा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि अस्पतालले उपचार गर्न मानेन र बिरामीलाई फिर्ता पठाएको आरोप पीडित परिवारले लगायो । विराटनगरका ५ अस्पताल चहार्दाचहार्दै बिरामीको मृत्यु भयो ।

उपचार अभावमा ज्यान गुमाउने प्रतिनिधिमुलक घटना मात्रै हुन् । अन्तर्राष्ट्रियस्तरको आधुनिक स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पताल विराटनगरमा छन् । तर, तिनै अस्पतालले कोभिड–१९ को बहानामा बिरामीलाई भर्ना नलिएर मृत्युको मुखमा पु¥याएका घटनाले भने सबैलाई दुखित् तुल्याएको छ । विपद्को बेलामा निजीभन्दा सरकारी सेवा चुस्तदुरूस्त हुनुपर्छ, अझ भनौं आम सर्वसाधारणको अभिभावक नै सरकार हो । तर, हाम्रो देशमा त्यो अवस्था छैन । संविधानले धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिकहकका रूपमा व्यवस्था गरेको छ । तर, कार्यान्वयनमा सरकारी संयन्त्रले अवरोध गरी नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको छ ।

कोरोना भाइरसको दोस्रो लहरले भारत पुरै आक्रान्त छ । खुल्ला सिमानाकाका कारण नेपालमा कोरोना सङ्क्रमितको सहज आवतजावत सम्भव छ । तर, पनि सरकारी निकायले गम्भीरतापूर्वक दोस्रो चरणको विपद्को सामना गर्न आवश्यक तयारी थालेको छैन । प्रदेश सरकारले यसअघि बन्द गरिएका कोभिड अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । तर, यही बिचमा उपचार अभावमा नागरिकले ज्यान गुमाउनु परेको छ । यसप्रति तीनवटै तहका सरकार र निजी क्षेत्रबीच समन्वयको र सद्भावको खाँचो छ । कोभिड–१९ का उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका लागि सरकारी सेवा र निजी क्षेत्रबीच सद्भाव र समन्वयको खाँचो छ ।

बुधबार, ०८ बैशाख, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर