गणेश लम्साल
६ वैशाख २०६१ मा संघीय गणतन्त्र नेपालको स्थापनाका लागि मिसन पत्रकारिताको उद्देश्य लिएर प्रकाशन हुन थालेको जनविद्रोह दैनिक(अहिले हाम्रोमत दैनिक)को स्थापना दिन हो । सशस्त्र युद्धताका सुरक्षाकर्मीका आँखा छलेर विभिन्न स्थानबाट प्रकाशन हुने जनविद्रोह साप्ताहिक गणतन्त्र बहालीपछि विराटनगरबाट दैनिक रुपमा प्रकाशन सुरु भएको थियो । मिसनसँगै व्यवसायिक रुप धारण गर्न थालेपछि जनविद्रोह दैनिक ९ फागुन २०७६ बाट रंगिन कलेवरमा ‘हाम्रोमत’ ब्रोडसिट दैनिकका रुपमा प्रकाशित हुन थालेको हो । मितिको तिथि केही फरक जस्तो देखिएपछि हाम्रोमत ‘जनविद्रोह’ दैनिकको परिवर्तित नाम भएकोले पूर्वेली जनसञ्चार सहकारी संस्थाले ६ वैशाखलाई नै आफ्नो वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ ।
बदलिदो समय, व्यवसायिक पत्रकारिताको विकासँगै ‘हाम्रोमत’ परिवर्तनकारी धारलाई आत्मसात गर्दै प्रकाशन भइरहेको छ । जनविद्रोहको रुपान्तरणपछि ‘हाम्रोमत’ दैनिक आम पाठकमाझ झन् लोकप्रिय बन्न पुगेको छ । प्रतिस्पर्धा हरेक क्षेत्रमा हुन्छ । मिडिया क्षेत्रमा पनि छ । जसले अरुभन्दा पठनीय विषयवस्तु भएका समचार र समसामयिक विचार प्रस्तुत गरेर आम पाठक र दर्शकको मन जित्छ, त्यो ‘हाम्रोमत’ झै चाँडै लोकप्रिय हुन्छ । मिडिया क्षेत्रमा कर्म गर्दा पत्रकार होस वा सञ्चारगृह उसले पत्रकारिताको मान मर्यादा, आचारसंहिता र समचारीय तत्व र मूल्य मान्यता बारेमा ख्याल गर्नैपर्छ । जसले ख्याल गर्दैन, उसले आफ्नो विश्वास गुमाउँछ र आफ्नो आयु मात्र छोट्याउँदैन आम जनमानसमा भ्रम फैलाएर समाजलाई दिग्भ्रमित बनाउन पुग्छ । पत्रकारिताको धर्म र मर्मलाई आत्मसाथ गरेकै कारण ‘हाम्रोमत’ छोटो समयमा लोकप्रिय र अलग्गै पहिचान बनाउन सफल मिडिया बनेको छ ।
‘देखासेखी गरी खा, आरिसे जति मरी जा ! ’ भन्ने उखान झै हाम्रो मतको लोकप्रियतादेखि धेरैलाई ईष्र्या पनि लागेको हुनसक्छ । ‘जनविद्रोह’ साप्ताहिकको बलियो अधारमा बसेर पूर्ण व्यवसायिक मिडियामा रुपान्तरण भएको ‘हाम्रोमत’ दैनिक तेस्रो वर्षमा प्रवेश गरेको हैन १८ वर्षको इतिहासलाई संरक्षण गर्न पनि सफल भएको हो । ६ वैशाखकै दिन धर्तीमा जन्मिन पुगेको यो स्तम्भकार जनविद्रोह दैनिकदेखि ‘हाम्रोमत’ सम्म आइपुग्दा निरन्तर सम्पादकीय टिमसँग जोडिँदै आएको छ । वर्षाैदेखि नियमित स्तम्भकार मात्र नभएर बेलाबेला समाचार लेखनमा सहयोगी बन्ने मौका पनि मैले पाउने गरेको छु ।
मैले यस दैनिकको सम्पादन टीमसँग घुलमिल भएर जान्न बुझ्न पाए अनुसार ‘हाम्रोमत’ सधै आफ्नैपनमा रमाउने गरेको छ । ‘हाम्रोमत’ कहिल्यै अन्य सञ्चारमाध्यमसँग आफूलाई दाँजेको छैन । अरुको ईष्र्या गर्ने गरेको पाइनँ । अभाव, बाधा र चूतौतीपुर्ण दबाबलाई झेलेर पनि आफ्नैपनलाई पछ्याउने बानी कायमै छ, ‘हाम्रोमत’ टिमको । यो टिम संबिधानको रक्षाका लागि प्रतिबद्ध छ । गणतन्त्रको रक्षाका लागि सर्तक छ । संघीयता कार्यान्वयनमा सचेत र सक्रिय छ । पीत पत्रकारिता गरेको भेटाएको छैन । टिमको पारदर्शी जीवनशैलीले पनि प्रमाणित यसलाई प्रमाणित गर्छ ।
सम्पादकीय टिममा प्रत्यक्ष राजनैतिक र व्यवसायिक चेतले खारिएका युवा पत्रकार र व्यवासायीहरु सक्रिय छन् । यो टिमले पत्रकारिताका बहानामा नाफामुखी व्यापार कहिल्यै गरेको छैन । खोजमुलक सकारात्मक समाचारसँगै परिवर्तनको पक्षमा सचेतना जगाउने विचारहरु पनि पाठकमाझ प्राथमिकतासाथ प्रकाशन गर्दै आएको छ । हाम्रोमतमा नयाँ पुस्ताका पढेलेखेका समावेशी पत्रकारहरु पनि समावेश हुन थालेका छन् । यसैले हाम्रोमत आगामी दिनमा अझै परिपक्व र खोजमुलक समाचार र प्रगतिशिल विचारका लागि प्रसिद्ध हुनेमा दुईमत छैन । हाम्रोमतले चाकरी, चाप्लुसी, गैरव्यवसायिक चरित्रलाई पन्पिन दिएको छैन । जहिल्यै सुशासनको पक्षमा समाचार पस्कदै आएको छ ।
हाम्रोमतमा स्तम्भ लेख्ने स्तम्भकारहरु पनि मुलधरका मिडियामा लेखनमा सक्रिय र अनुभवी छन् । यसले पनि ‘हाम्रोमत’ को उचाइलाई बढाएको छ । पाठकसम्म तथ्यसहितको तर्क र अन्याय विरुद्धको सही धारणा पु¥याउन सहयोग पुग्दै आएको छ । जसले यस दैनिकको जनमत हवात्तै बढेको छ । समाचारीय तत्व र मुख्य मान्यता विश्वसनीय तारिकाले प्रस्तुत गरेर पूर्ण समाचार हाम्रोमतले प्रकाशन गर्दै आएको छ । यसैले पनि हो ‘हाम्रोमत’ को समाचारमा आम पठाकको रुची र विश्वास बढ्दै गएको छ ।
२०७७ ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रनिनिधिसभा विघटन गरेपछि प्रतिगमनको विरोधमा हाम्रोमतले अभियान नै चलायो । मानवअधिकारको सम्मान गर्दैै बिधिको शासन दिगो रुपले स्थापना हुनुपर्छ भन्नेमा हाम्रोमत विश्वास गर्छ । यसैैले व्यवसायिकताको बहानामा हाम्रोमतले आफ्नो धर्म र मर्यादासँग कहिल्यै सम्झौता गरेन । पैसाभन्दा पाठक र दर्शकको माया महत्वपूर्ण हुन्छ भन्ने सधै विश्वास गरिरह्यो । हाम्रोमतले कहिल्यै कुनै समाचार पनि आफ्नो स्वार्थका लागि ‘ब्लाकआउट’ गरेन । सूचना पाउनु नागरिकको पहिलो हक हो भनेर सधै सम्मान गरिरह्यो ।
हाम्रोमतमा गणतन्त्रका लागि सशस्त्र युद्धमा पूर्णकालिन सहभागी भएका पत्रकाहरु मात्र नभएर लामो समय व्यवसायिक पत्रकारिता गरेका पत्रकारहरु सक्रिय छन् । सबै वर्ग समुदाय, आस्था र विचारलाई यसले सम्मान दिँदै आएको छ । फरक कति मात्र हो भने हाम्रोमतले गलतलाई राम्रो र राम्रोलाई नराम्रो भनेर कहिल्यै भनेन । यसैले आफूअनुकुल भएन भन्नेहरुले आलोचना गर्नु गलत हैन । हाम्रोमतले पछिल्लो समयमा प्रकाशन गरेका समाचार, विचार र अन्तवार्ताहरु अध्यन गरे आफैंमा प्रस्ट हुन्छ ।
पत्रकारिता सत्ताको पक्षमा हैन, सधैं जनताको पक्षमा देखिनुपर्छ । राष्ट्र र जनताका लागि गरिनुपर्छ । पत्रकार र संचारगृहहरु पनि राष्ट्र र जनताको हितकै लागि विकास भएका हुन् । सेवामुलक ढंगले निस्वार्थ अन्याय, अत्यचार, भ्रष्टाचार, बेथिती, बिसंगती विरुद्ध आवाजबिहिनहरुको आवाज बनेकै कारण पत्रकारिताले चौथो अंगको सम्मान पाएका हुन् । यसैका लागि मानव अधिकारको विश्वव्यापी घोषणा १९४८ को को १९ नम्बर धारामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लेख गरिएको हो ।
पत्रकारिता सत्ताको हण्डी खाएर भजन गाउने मण्डली बन्ने हैन, सधै सत्तालाई प्रश्न गर्ने हैसियतमा रहनुपर्छ । हण्डी खाएर वा कसैको चाप्लुसी गरेर प्रश्न गर्ने हैसियत (हिम्मत) गुम्यो भने त्यहाँ पत्रकारिता रहदैन । प्रश्न गर्न सक्ने पत्रकारिता नै नभएपछि त्यहाँ सुशासन हुदैन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनि नागरिकहरुको हकअधिकार सुरक्षित हुदैन । निडर, निर्भिक, निष्पक्ष प्रतिपक्ष बनिरहने पत्रकारिता नै निम्छरो भएपछि आम नागरिकहरुले लोकतन्त्रको अनुभूति गर्न पाउदैनन् । उनीहरुको मौलिक हक र मानव अधिकारको सम्मान हुन सक्दैन । यसैले ‘हाम्रोमत’ले सधै नेता र मालिकको पछाडी पुच्छर तल झारेर हल्लाई हिँड्ने ‘ल्यापडग’ हैन, शीर समेत ठाठो पारेर तथ्यसहितको प्रश्न गर्ने ‘वाचडग’ को भूमिका खेलिरहनुपर्छ । सत्यको पक्षमा हिँड्दा साथी भएनन् भनेर आत्तिनु हुदैन । अनि मात्र ‘हाम्रोमत’ सबैका लागि विश्वासिलो र झन् राम्रोमत बनिरहन सक्नेछ ।
नयाँ वर्ष २०७८ को आगमनसँगै आफ्नो ५१ औं वर्षगाँठमा प्रफुल्ल भएर १८ वर्षको गौरवशाली इतिहासमा प्रवेश गरेको हाम्रोमत दैनिकलाई उन्नती र प्रगतिको मुरिमुरी शुभकामना । ‘सधै जनताका लागि लोकतन्त्रको पहरेदार भएर लडिरहनु ।’