चुनावपछिको प्रश्न, हामी कता ?

 विक्रम लुइटेल

नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको निर्वाचन भर्खरै सम्पन्न भएको छ । पहिलो पटक केन्द्र, प्रदेश र जिल्लाको एकैपटक प्रत्यक्ष प्रणालीमा भएको निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएपनि यसको परिणामले आम श्रमजीवीलाई भने झस्काइदिएको छ । हुनत म आफैं पनि कुनै दलको शुभेच्छुक हुँ । तर, यसपटकको महासंघको चुनाबले पत्रकार महासंघलाई साझा बनाउने दृढ संकल्पमा भने कुठाराघात भएको छ । आफ्नो पक्षले हा¥यो या जित्यो त्यो कुरालाई थाँती राखेर हेर्ने हो भने पत्रकारहरुको जुन निष्ठा छ, आदर्श छ र समाजले हेर्ने दृष्टिकोण छ त्यसमा भने काफी प्रश्न चुनावले खडा गरेको छ । अघिल्ला चुनाबहरुमा केन्द्रीय कार्यसमिति चुनिएर गएका प्रतिनिधिबाट निर्वाचित हुन्थे । त्यतिखेर पत्रकार महासंघको निर्वाचनमा साझा संस्थाको मर्यादा कायम राख्नेगरी सबै पक्षले जित्दै आएका थिए । तर, यस पटकको केन्द्रीय र प्रदेशको निर्वाचनमा एउटा पक्ष बाहिर रह्यो । निर्वाचनमा व्यवसायिक र स्वतन्त्र भनेर उठ्नेहरु पनि नराम्रोसँग पराजित भए । गाँउका विभिन्न खाले संघ संस्थाका चुनावमा पनि मिश्रित परिणामहरु आइरहेको अवस्थामा पत्रकारहरुको चुनावमा झन् मिश्रित नतिजा आउनुपर्ने हो । तर, नतिजाबाट कुनै पनि पार्टीका कार्यकर्ताभन्दा कम बफादार पत्रकारहरु देखिएनन् ।

पत्रकारको अघिल्ला निर्वाचनहरुभन्दा यसपटक बढी राजनीतिक दल हावी भएको प्रष्ट देखिएको छ । त्यसको पछिल्लो उदाहरण नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिबाट प्रष्ट हुन्छ । उनले सबै दल मिलेर एमालेका उमेद्वारलाई हराइयो भनिसकेका छन् । राष्ट्रिय समिकरणमा नेताहरुले देखाएको चासो हेर्दासमेत त्यो देखिन्छ । कुनै दलसँगको बेमेल र तालमेलले पुरै राजनीतिकरणको शिकार नेपाल पत्रकार महासंघ जस्तो गरिमा बोकेको साझा संस्था हुँदा आगामी दिनहरुमा स्वतन्त्र पत्रकारितमा संकटमा पुग्नसक्छ ।

यसबाट अर्काे खतरा के हुनसक्छ भने भोलि पत्रकारहरुका मुद्दा ओझेलमा पर्ने र राजनैतिक मुद्दाहरुले ठाँउ पाउने सम्भावना छ । त्यसको पछिल्लो उदाहरण अग्रगमन र प्रतिगमनको नाममा पत्रकारहरुले गरेको नाराबाजी र जुलुसलाई लिन सकिन्छ । दलहरुप्रति चाहिने भन्दा बढी बफादार हामी पत्रकारहरु बनिदिँदा भोलि हाम्रा व्यवसायिक मुद्दा मात्र हैन, हामीले लेख्ने समाचारलाई पनि नागरिक समुदायले त्यसरी नै हेर्ने परिपाटी बस्दै गयो भने हाम्रो पत्रकारिता कता पुग्छ, सोच्नु पर्ने बेला भएको छ ।

हुनत पत्रकार महासंघको नेतृत्वमा म आफू पनि भइरहँदा यस्तो प्रश्नको जवाफदेही आफैं पनि हुनुपर्ने अवस्था छ । यी सबै कुरालाई चिर्नको लागि म भित्रैबाट पनि केही सुधार हुनु पर्ने जरुरी छ । चुनावको चर्चा सुरु हुनसाथ हामीमध्येका धेरै व्यवसायिक पत्रकारिताको बाटो मोडेर टिकट लिन सानेपा, धुम्बराही, पेरिसडाँडातिर चालेका कदमलाई नागरिकले पचाउन सकिरहेका छैनन् । न्यायधिस नियुक्ति र उनीहरुको नियुक्तिपछि नेताहरुलाई भेटेको विषयलाई प्रश्न उठाउने हाम्रो नैतिकतामाथि प्रश्न उठ्ने खतरा उत्तिकै छ ।

पत्रकारिताका यावत् बहसभित्र यो प्रश्न यक्ष रुपमा उठेको छ । कतिपय गठबन्धनकर्ताले आफूहरु अग्रगमनको मोर्चा भनिरहँदा त्यसविपरितका पत्रकारका मोर्चा र सरकारबाट सहयोग लिन्छन् कि लिदैनन् यो प्रश्न पनि कतिपय पत्रकारहरुले उठाइरहेका छन् । हाम्रासामु श्रमजीवीका सबाल, स्वरोजगार मिडियाका सबाल र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषय तथा पत्रकारको क्षमता अभिवृद्धिका विषय प्रमुख मुद्दा हुन् । ती मुद्दालाई नयाँ नेतृत्वले सहि ढंगले साझा रुपमा अगाडि बढाउन सके माथि उल्लेखित विषयहरुलाई समेत सम्बोधन गर्ने छ । हामी यावत् प्रश्नबाट माथि उठौँ र व्यवसायिक निष्ठामा अघि बढौँ, नयाँ वर्षको २०७८ सालको शुभकामना ।

शुक्रबार, ०३ बैशाख, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर