पुण्य पी अधिकारी
०७७ चैत २६ गते मुख्यमन्त्री शेरधन राईले विराट गोल्डकपको उद्घाटन गर्दै–गर्दा कोभिड–१९ को दोस्रो चरणको लहर आएको विषयमा चर्चा हुँदै गरेको थियो । तर, पछिल्लो दुई या तीन दिनमा कोभिड–१९ का विषयमा अप्रत्याशित समाचारहरू आएका छन् । भारतमा दैनिक हजारौँ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुँदै गर्दा नेपालमा दोस्रो लहरका विषयमा त्यति धेरै चर्चा थिएन, जुन आजका दिनमा छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो एक साताको कोभिड–१९ सङ्क्रमितहरूको तथ्याङ्क हेर्ने हो भने प्रदेश १ मा १४७ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा कोभिडका कारण ज्यान गुमाउनेको संख्या यसै साता अभिलेख भएको छ । भारतमा कोरोना सङ्क्रमित प्रतिदिन थपिएपछि प्रदेश सरकारसहित केन्द्र सरकारले लकडाउनसहित रेल सेवा बन्द गरेका छन् । नेपालमासमेत त्यसको प्रभाव परेको छ । खुला सिमा नाकाका कारण कोरोना नियन्त्रणका लागि यसअघि दुवै देशका सरकारले गरेका सकारात्मक प्रयासहरू फिक्का भएका छन् । यही मेसोमा यतिवेला विराटनगरको जीवन्त इतिहास बोकेको फुटवल प्रतियोगिता विराट गोल्डकप मध्यविन्दुमा आइपुगेको छ ।
अघिल्लो वर्ष लकडाउनका कारण सञ्चालन हुन नसकेको प्रतियोगिता चैत २६ गतेदेखि सञ्चालनमा छ । प्रतियोगिता आयोजना गर्नु चानहुने कुरा होइ् । जसलाई हिम्मतका साथ विराट गोल्डकप ट्रष्टले अघि बढाएको छ । फ्लडलाइटसहित रात्रीकालीन रूपमा आयोजना गरिएको प्रतियोगितामा दिनप्रतिदिन दर्शकको साथ र माया प्रतियोगिताले पाइरहेको अवस्था छ । तर, यहीबिचमा नेपालमासमेत कोभिड–१९ को दोस्रो चरणको लहर चलेको विषयमा स्वास्थ्य विज्ञहरूले सरकार सचेत गराएपछि त्यसले सबैलाई सचेत तुल्याएको छ । वर्षभरिको मेहनतपछि विराट गोल्डकप ट्रष्टले प्रतियोगिता सञ्चालन गरेको छ । जुन प्रतियोगिताले महानगरवासीको प्रतिष्ठालाई बोकेको छ ।
आयोजकले स्वास्थ्य सर्तकताका लागि प्रवेशद्धारमा मास्कसहित सेनिटाइजरको व्यवस्था गरेको छ । जुन प्रशंसनीय छ । सिमित मानिसलाई मास्क र सेनिटाइजर उपलब्ध गराउन सहज हुन्छ । तर, प्रतियोगिता हेर्न दिनहुँ थपिने दर्शकलाई उच्च प्राथमिकतामा राखी स्वास्थ्य मापदण्ड पुरा गराउन आयोजकले खेलेको भूमिकाको तारिफ गर्नै पर्छ । यसर्थ हामीले नैतिक तथा भौतिक हिसाबले समेत विराट गोल्डकप ट्रष्टलाई हामी सबैले सहयोग गर्न जरूरी छ । विराट गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिता अबको दिनमा समापन हुनेछ । तर, यही समयमा कोभिड–१९ को सङ्क्रमणलाई न्यूनीकरण गर्नका लागि तपाई, हामी सबैको साझा प्रयास र साथ आवश्यक छ । प्रतियोगिता हेर्न प्याराफिटमा पुग्ने आम दर्शकले आयोजकका तर्फबाट जारी गरिएका स्वास्थ्य मापदण्डहरूलाई अक्षरश पालना गरी आयोजकलाई प्रतियोगिता सहज ढङ्गमा सम्पन्न गराउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न अति आवश्यक छ । यो प्रतियोगिता केवल विराट गोल्डकप ट्रष्टको मात्र होइन, आममहानगरवासीको हो ।
विराट गोल्डकप विजेता टोलीलाई १५ लाख १५ हजार र उपविजेता टोलीलाई ७ लाख ५१ हजार रुपैयाँ जुटाउनु चानचुने कुरा होइन । यसका लागि विराट गोल्डकप ट्रष्टलाई माया गरी रमपम चाउचाउ र मारूती सिमेण्टले गरेको आर्थिक सहयोगमा महानगरवासीको प्रतिष्ठा जोडिएको छ । प्रतियोगिताभर घरेलु टोली विराटनगर–११ लाई आमदर्शक र खेलप्रेमीको साथ मिलेको छ र मिल्नेछ । प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि पुरस्कारबाहेक अन्य विविध शीर्षकमा आयोजकले खर्च गरेको छ । सो खर्चका लागि आम महानगरवासीले विराट गोल्डकपको टिकट खरिद गरी सहयोग गर्न आवश्यक छ ।