खोलाको बालुवामा पैसा फलाउनेहरु

 डा.राजेन्द्र उप्रेती

बितेको हप्ता हामी आगामी वर्षको कृषि योजनाका लागि संभावनाका क्षेत्रहरु र गर्नुपर्ने कामहरुको खोजी गर्ने उद्देश्यका साथ सरोकारवालाहरुसँग भेटघाट गर्दैथियौं । यसै क्रममा कन्काई नगरपालिका र झापा गाउँपालिकामा भइरहेको बगरको तरबुजा खेती अवलोकन गर्ने मौका जु¥यो । त्यहिमध्ये झापा गाउँपालिका २ मा रहेको माईको बगरमा भइरहेको तरबुजा खेतीमा हामी पुगेका थियौं । त्यहाँ भइरहेको खेतीको बारेमा हाम्रो सहजिकरण त्यहि खेती गरिरहेका युवा कृषक जनार्दन मण्डलले गरेका थिए । हामीले उनको ट्रयाक्टरमा चडेर पूर्वी किनारामा बगिरहेको माई नदीको भंगालो पार ग¥यौं र मुख्य खेती भइरहेको क्षेत्रमा पुग्यौं । ट्रयाक्टरमा बजिरहेको चर्काे भोजपुरी गीतले बाल्यकालमा सिरुवा मेला घुम्दाको झल्को दिँदैथियो ।

नदिको पूर्वी भंगालो पार गरेर तरबुजा खेती भइरहेको मुख्य क्षेत्रमा पुग्दा जताततै तरबुजाको फलहरु लडिरहेका थिए । पाकेर तयार भएका फलहरु धमाधम टिप्ने र एकठाउँ भेला पार्ने कार्यहरु भइरहेका थिए । बालुवामा पैसा फलाउने कर्मयोगीहरु आफ्ना काममा ब्यस्त थिए । नयाँ मानिसहरु बगरमा देख्दा उनीहरुको अनुहारमा पनि एकखाले उत्सुकता र खुशी झल्किँदै थियो । यो पटक माई नदिको बगरमा देखिएको तरबुजा खेती मैले पहिला पहिला अरु नदि किनारहरुमा देखिए भन्दा ठूलो क्षेत्रमा फैलिएको थियो ।

बालुवाको पैसा खेती

वर्षातको बाढि पछि खोलाले छोडेको तर पानीको सतह नजिकै भेटिने बालुवा र बाढि बगाएर ल्याएको पांगो माटोले पुरिएको खोलाको बगरमा गरिने खेती बगर खेती हो । यसरी गरिने खेती वर्षातपछि अर्थात कार्तिक मंसिरतिर सुरु गरिन्छ र चैत वैशाखमा आएर समाप्त हुन्छ । यसरी गरिने खेतीमा मुख्यतया तरबुजा, काक्रा फर्सी, लौका आदि बालीहरुको खेती मुख्यरुपमा गरिन्छ । यसरी खेती गरिने बगरमा थोरै खन्दा पानी भेटिन्छ जुन बिरुवामा पटाउनको लागि पर्याप्त हुन्छ । यस्ता खाल्टाहरुबाट वा नजिकै भेटिने पानीका श्रोतहरुमा पम्पसेट प्रयोग गरेर बगर खेतीमा सिंचाईको ब्यवस्थापन गरिन्छ ।

यो वर्ष झापा गाउँपालिकाको २ नम्बर वडामा पर्ने माईको बगरमा ८० परिवारका कृषकहरुले झण्डै ५०० बिगाह क्षेत्रफलमा तरबुजा खेती गरिरहेका रहेछन् । जनार्दनको परिवारले मात्र ९ बिगाहमा तरबुजा फलाईरहेको छ । अब उनीहरुको फल बेच्ने सिजन सुरु भएको छ । हामी बगरको खेती अवलोकन गरेर फिरेपछि नजिकै रहेको तरबुजा बिक्री गर्ने ठाउँमा पुग्यौं । त्यहाँ तरबुजा काठमाडौं र पोखरा पठाउन गाडीहरु लोड भइरहेको थियो । यो कार्यक्रममा कृषि ज्ञान केन्द्र, झापाको आर्थिक सहयोग पनि रहेको रहेछ । आजभोलि खेती गरिरहेको ठाँउबाट प्रतिकिलो रु.२० मा थोक बिक्रि भइरहेको तरबुजा स्थानीय बजारमा ३० देखि ४० रुपैयाँमा खुद्रा बिक्री भइरहेको रहेछ । नाफाघाटाको कुरा गर्दा जनार्दनको परिवारले खेती गरिरहेको ९ बिगाहबाट उनले २० लाख रुपैयाँभन्दा बढिको तरबुजा बेच्ने विश्वास लिएका छन् । उनको खर्च भनेको ५ देखि ६ लाख रुपैयाँ भएको छ । यो कुरालाई विचार गरेर हेर्दा माईको बगरमा मात्र ८० परिवारले गरेको तरबुजा खेतीबाट यो साल १० करोड रुपैयाँभन्दा धेरै पैसा फल्ने रहेछ ।

कर्मयोगिहरुका लागि सबैतिर अवसरहरु

अहिले हिउँदपछि गर्मी बिस्तारै बढ्दै जाँदैछ । तराईका फाँटहरु र पहाडका खेतबारीहरु आधा भन्दा धेरै बाँझै छन् । जुन वर्षातमा धान खेतीको बेला जसोतसो हरियो देखिन्छन् । तर, कर्मयोगीहरु चाहे माईको बगरमा भेटिएका जनार्दन मण्डल हुन् या कोशी गाँउपालिकामा भेटिएका असगर अलि ९जततउकस्ररथयगतग।दभरध्हष्ःयल्ह्दद्दज्य० हुन् । देवानगंजका चन्देश्वर मेहता ९जततउकस्ररथयगतग।दभरवक्ष्भ्एछटचधकहड० हुन् या भोक्राहाका चन्दन मेहता हुन्, उनीहरुको खेती खाली हुदैन । उनीहरु निरन्तर बालीहरु फलाईरहेका छन् वर्षमा ३ देखि ४ बालीसम्म खेती गरेर बालुवा वा बलौटे जमिनमा पैसा फलाईरहेका छन् । उनीहरुको घर पुग्दा उनीहरुको कमाई र कमाईबाट परिवारमा आईरहेको समृद्धि सजिलै अन्दाज गर्न सकिन्छ । उनीहरु परिश्रमी छन्, अनि निरन्तर रुपमा आफ्नो पेशामा लागिपरेका छन् । यहाँ उल्लेख गरिएका नामहरु कर्मयोगी किसानहरुका प्रतिनिधि पात्रहरु मात्र हुन् । यस्तै हजारौं अन्य किसानहरु प्रदेशका बिभिन्न जिल्लामा आफ्नो भाग्य फलाईरहेका छन् । उनीहरुले गर्ने कर्महरु फरक–फरक छन् । तर, प्राप्तिहरु उस्तै छन् । उनीहरु केहि भएन भनेर गुनासा र गफ गरेर समय बिताउनुभन्दा अवसर हेरेर उपयुक्त आफू सुहाउँदो कृषि पेशा छान्छन् र त्यसैमा लागि पर्छन् । त्यसैले उनीहरुको पेशा सधै फल्छ ।

कर्मयोगीहरु र भल छोप्नेहरु

कर्मयोगीहरुमा निरन्तरता¸ समर्पण¸ लगातार सिक्ने उत्सुकता र फैलदै जाने प्रबृति देखिन्छ । तर, भल छोप्नेहरु सतहि अरुको देखासिखी गर्ने कर्मबिना तिलस्मि प्राप्तिको कल्पनामा मस्त र तातै खाउ जलि मरौं प्रबृतिले ग्रस्त भेटिन्छन् । त्यसैले उनीहरु पेशालाई गहिराईमा गएर बुझ्न चाहदैनन् सुनेका उडन्ते गफका भरमा तिलस्मि सपना सजाउदै आफूले फेदटुप्पै नजानेका पेशाहरुमा फाल हान्छन् । न उनीहरुले त्यो जानेका हुन्छन्, न त्यो पेशाप्रति उनीहरुको समर्पण हुन्छ, न ठक्करहरुबाट सिक्न चाहन्छन । कोहि अनुदान पाईन्छ भनेर कुदेका हुन्छन्, कोहि कसैको देखासिखीमा वर्षातको भेल जस्तै देखा पर्छन् र हराउछन् । तर, त्यस्तो भेलमा श्रोतहरुको नास मात्र हुन्छ । सरकारी अनुदानसँगै उनीहरुको लगानी पनि भेलमा बगेर जान्छ । त्यसैले कृषि क्षेत्रमा आउन चाहनेहरुले अब चेतन ढिला गर्नुहुदैन । कृषि पेशा कर्म फलाउने पेशा हो, यहाँ तिलस्मी कुराहरु कम तर निरन्तरतामा आधारित दिगोपन चै पर्याप्त हुन्छ । त्यसैको परिणाम हो कोभिडको कारण संसारका धेरै अन्य पेशा व्यवसायहरु तहसनहस हुँदा पनि कृषि स्थिर भएर उभिएको थियो ।

अन्त्यमा,

कर्मयोगीहरुका लागि संभावनाहरु जताततै छन् । चाहे त्यो मकै खेती होस् या तरबुजा खेती, आलु खेती होस या बंगुरपालन, तरकारी खेती वा बाख्रापालन पैसा सबैतिर फल्ने रहेछ । कर्मयोगी किसानहरु र सहयोगी सरकारी तथा गैरसरकारी हातहरुको मिलनले कृषि पेशालाई अझ बढि फल्नसक्ने बनाउने रहेछ । हामी आ–आफ्ना कर्तब्यहरुप्रति समर्पित बनौं, एकअर्काको अवरोधक होइन, सहयोगी बनौं । हामीले स्वदेशमै पैसा फलाउन सक्छौं ।

आइतबार, २९ चैत, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर