दमक भ्यूटावरको अन्तरकथा : जग्गा कारोबारी खुसी पार्न ‘बक्सिस’

प्रधानमन्त्री ओलीलाई जग्गा कारोबारीले प्रभावमा पारेर भ्यू टावर निर्माण गर्न लगाएका हुन्, जहाँ राज्यकोषको डेढ अर्बभन्दा बढी रकम खर्च भइरहेको छ ।

दमक । जग्गा दलालहरुको प्रभावमा प्रधानमन्त्री केपी शर्मा ओली परेपछि औचित्यहिन ठाउँमै पनि राज्यकोषको अर्बभन्दा बढी रकम अनाहकमा खर्च भइरहेको छ ।

यो प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा निर्माणाधीन भ्यूटावरको कथा हो, जसको प्रधानमन्त्री निकटहरु र जग्गा व्यापारीबाहेक अरुलाई चासो छैन ।

‘यहाँ एउटा गतिलो अस्पताल छैन’, दमक ३ का एमाले कार्यकर्ता राजेश हुमागाइँ भन्छन् ‘यो भ्यू टावर किन चाहिएको हो ? अचम्म लाग्छ ।’ डेढ अर्बभन्दा ठूलो लागतमा बन्दै गरेको भ्यू टावरको औचित्य कसैगरी पुष्टि हुन नसक्ने ठाउँमा प्रधानमन्त्रीको लहडकै भरमा करौडौं रकम खर्च भइरहेको छ ।

हरेकलाई लाग्छ, भ्यू टावर भन्नेवित्तिकै सूर्योदय, सूर्यास्त, हिम शृंखला वा कुनै रमणीय प्राकृतिक दृश्य हेर्ने उपयुक्त ठाउँ हो । रमणीय दृश्य अवलोकनका लागि भ्यू टावर चढ्ने गरिएपनि झापाकोे दमकमा निर्माणाधीन भ्यू टावरको अवस्था यस्तो छैन । भ्यू टावरबाट के हेर्ने ? यहाँका सबैको मनमा उब्जिएको प्रश्न हो, यो ।

दमकको वडा नम्बर ३ दापगाछीमा निर्माणाधीन भ्यू टावरबाट माथिका कुनै पनि दृश्य देख्न सकिँदैन । तराईको समथर भूभागमा निर्माण भइरहेको भ्यू टावरबाट पर्यटकले छेउछाउको फाँटबाहेक अन्य दृश्य देख्न सक्ने छैनन् । भ्याटसहित १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँको लागतमा चीनको जेडसीजीआइइसी र नेपालको आशिष–ओम साईरामले संयुक्त रुपमा टावर निर्माणको काम गरिरहेका छन् ।

दमक चोकबाट करिब ८ किलोमिटरको उत्तर दुरीमा निर्माणाधीन भ्यू टावर ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी २०७६ असार २७ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताको आधाभन्दा बढी समय सकिए पनि हालसम्म ३६ प्रतिशतमात्र काम सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका इञ्जिनियर सुरेन्द्रकुमार साहले जानकारी दिए ।

लकडाउनका कारण सोचेअनुरुप काम गर्न नसकिएको निर्माण कम्पनी ओम साइरामका इञ्जिनियर सूर्यनारायण साहको भनाइ छ । सम्झौता अवधिभित्र मुख्य संरचना निर्माणको काम सकिएपनि फिनिसिङलगायत अन्य काम बाँकी रहने उनको भनाइ छ । १८ तला कंक्रिट र सात तला स्टिलको टावर रहने गरी पहिलो तलाको काम सम्पन्न भएको उनले बताए ।

टावर २५ तलाको हुने भएपनि १८ तलासम्म मात्र पर्यटक जान पाउने इञ्जिनियर साहले बताए । टावरसँगै कम्पाउण्ड वाल, टिकट घर, कोसेली घर लगायत अन्य संरचना निर्माणको कार्य भइरहेको छ । एउटै कम्पाउण्डभित्र टावरसँगै सपिङ मल, व्यावसायिक कम्प्लेक्स, चिल्ड्रेन पार्क, खुला मञ्च, सभागृह आदि रहने उनको भनाइ छ ।

पर्यटन प्रवद्र्धन गर्ने मुख्य लक्ष्य लिएर भ्यू टावर निर्माण गर्न थालिए पनि भौगोलिक अवस्थाका कारण अपेक्षित लक्ष्य हासिल गर्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । तर, भ्यू टावर निर्माण भइरहेको स्थल दमक–३ का वडाध्यक्ष नविन बराल भने दमक लगायत सिङ्गो झापाको पर्यटन प्रबद्र्धनमा यसले सहयोग पुग्ने दाबी गर्छन् । सोही वडामा रहेको भुटानी शरणार्थी शिविरको ठूलो संख्या हाल विदेशमा रहेको र ३÷४ सय हाराहारीमा शरणार्थीहरु बर्षेनी दमक घुम्न आउने गरेको उनको तर्क छ ।

दमक क्षेत्रमा कैयन् बाटाघाटा कालोपत्रे गर्न बाँकी नै छ । कतिपय सरकारी विद्यालयको भौतिक संरचनासमेत लथालिङ्ग छन् । सरकारी स्तरको दमक अस्पतालको अवस्था पनि राम्रो छैन । यति धेरै विकासका कामहरु बाँकी छँदै भ्यू टावरमा यति ठूलो लगानी हुनुमा केही फरक स्वार्थ रहेको स्थानीयवासीकै गुनासो छ । ‘भ्यू टावरको निर्माणले पर्यटन प्रवद्र्धनमा निकै ठूलो टेवा पुग्छ,’ बरालले भन्नुभयो, ‘यहि क्षेत्रमा लामो समय रहेर हाल विदेशमा रहेका ३÷४ सय शरणार्थी पर्यटकलाई वर्षेनी यहाँ ल्याउन सकिन्छ ।’

तर, बरालले भनेजस्तो पर्यटकलाई सजिलै लोभ्याएर यहाँ ल्याउन त्यति सहज भने देखिँदैन । स्वदेश तथा विदेशमा रहेका पर्यटक भित्र्याएर दृश्यावलोकन गराउने न कुनै विशेष संरचना छ, न त बस्नलाई स्तरीय होटल नै छन् । दमक तथा आसपासका आन्तरिक पर्यटकको भ्रमण मात्रैले यति ठूलो लगानी रहेको भ्यू टावरको लक्ष्य पूरा हुने देखिँदैन ।

दमक नगरपालिकाभित्रका अन्य आधारभूत विकास निर्माण सकेर भ्यू टावर निर्माण थालिएको होइन । विकासकै दृष्टिकोणले हेर्ने हो भने दमकमा विशेषज्ञ सेवासहितको ठूलो अस्पतालसमेत छैन । एउटा रहेको सरकारी अस्पताल पनि नाम मात्रको छ ।

सामान्य बाहेकका स्वास्थ्य सेवा लिनुपरे विर्तामोड, विराटनगर वा धरान जानुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् । दमक क्षेत्रमा कैयन् बाटाघाटा कालोपत्रे गर्न बाँकी नै छ । कतिपय सरकारी विद्यालयको भौतिक संरचनासमेत लथालिङ्ग छन् । यति धेरै विकासका कामहरु बाँकी छँदै भ्यू टावरमा यति ठूलो लगानी हुनुमा केही फरक स्वार्थ रहेको स्थानीयवासीकै गुनासो छ ।

निर्माणाधीन भ्यू टावरकै कारण छोटो समयमै त्यस ठाउँको जग्गाको मूल्य २० गुणा बढेको छ । भ्यू टावर निर्माण हुने सुइँकोसमेत नपाएका स्थानीयवासी भने सस्तो मूल्यमा जग्गा बेचेकोमा पश्चाताप गर्छन् । रातारात करोडपति हुन जग्गा व्यवसायीहरुको योजनावद्ध चालअनुसार यो योजना ल्याइएको हुन सक्ने स्थानीयवासीको आशंका छ ।

स्थानीयवासीका अनुसार केही वर्षअघि जग्गा व्यवसायीहरुले मा पञ्चकन्या हाउजिङ प्रा.लि. का नाममा ११ बिगाहा जग्गा खरिद गरेका थिए । व्यवसायीले भ्यू टावर निर्माणका लागि तीन बिगाहा र स्थानीयबासीले दुई बिगाहा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । भ्यू टावर निर्माणअघि प्रतिकठ्ठा तीन लाख रुपैयाँसम्ममा खरिद गरेको जग्गा हाल तीन लाख रुपैयाँ प्रतिधुरमा मोलमोलाई भइरहेको स्थानीयवासी नरेन्द्र गौतम बताउँछन् ।

निर्माणाधीन भ्यू टावरकै कारण छोटो समयमै त्यस ठाउँको जग्गाको मूल्य २० गुणा बढेको छ । भ्यू टावर निर्माण हुने सुइँकोसमेत नपाएका स्थानीयवासी भने सस्तो मूल्यमा जग्गा बेचेकोमा पश्चाताप गर्छन् । रातारात करोडपति हुन जग्गा व्यवसायीहरुको योजनावद्ध चालअनुसार यो योजना ल्याइएको हुनसक्ने स्थानीयवासीको आशंका छ ।

टावर निर्माण पश्चात अन्य विकासका काम भएपनि वा नभएपनि हाललाई जग्गाको मूल्यवृद्धि हुनका साथै सडक कालोपत्रे हुनेमा आफू विश्वस्त रहेको स्थानीयवासी विमला गौतम बताउँछिन् । ‘भविष्यमा यही हुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भनिन्, ‘तर, हाललाई घर अगाडिको सडक पिच हुने र जग्गाको मूल्य बढ्नेमा म विश्वस्त छु ।’

जथाभावी जग्गाको खरिद–बिक्री हुन थालेपछि नगरपालिकाले हाललाई जग्गा बिक्रीमा रोक लगाएको छ । अव्यवस्थित बसोवासलाई रोकेर आधुनिक सहर निर्माणका लागि नगरपालिकाले जग्गा एकीकरण गर्ने सोच बनाएकाले जग्गा बिक्रीमा रोक लगाइएको वडाध्यक्ष नविन बरालले जानकारी दिए ।

राज्यले नै ल्याण्ड पुलिङ गरिदिने र भविष्यमा व्यवस्थित बसोबासका लागि आधार तयार गरिदिने भने पनि कतिपय जग्गाधनीले कुरा नबुझेकाले समस्या भइरहेको उनको भनाइ छ । ‘ल्याण्ड पुलिङ हामी नै गरिदिन्छौँ, जसले भविष्यमा हुने अव्यवस्थित शहरीकरणलाई रोक्छ,’ बरालले भने, ‘तर, थोरै जग्गा हुनेहरुले बुझे पनि धेरै जग्गा हुनेहरुले कुरा नबुझ्दा समस्या भइरहेको छ ।’

शुक्रबार, १३ चैत, २०७७, बिहानको १०:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर