विराटनगर । मोरङको विराटनगरस्थित रङ्गेली रोडमा विराट जुत्ताचप्पल व्यापार मेला–२०७७ सुरू भएको छ ।
बिहीबार विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले व्यापार मेलाको उद्घाटन गर्नुभएको हो । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजना सुरू भएको एक्स्पो चैत ५ देखि बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । व्यापार मेलामा १२ कम्पनीको २० वटा ब्राण्डका जुत्ताचप्पलहरुको बिक्री वितरण हुने जनाईएको छ । स्वेदशी उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले जुत्ताचप्पल व्यापार मेलाको आयोजना गरिएको मेलाका संयोजक होमनाथ उपाध्यायले बताउनुभयो । ‘एकै थलोमा १२ वटा कम्पनीका २० ब्राण्डका ५ हजार जोर बढी मोडलका जुत्ता चप्पलहरू एक्स्पोमा राखिएको छ,’ उहाँले भन्नुभयो, ‘मेला अवधिभर २ लाख ५० हजार जोर जुत्ता चप्पलको कारोबार हुने लक्ष्य छ ।’
देशभर साना तथा मझौला गरि १ हजार ५ सयको संख्यामा छरिएर रहेका जुत्ताचप्पल उद्योगहरूलाई सङ्गठित गर्न विराट जुत्ताचप्पल व्यापार मेला लाभदायक साबित हुने आयोजकको दाबी छ । स्वदेशी उद्योगले मात्रै बार्षिक ५ करोडभन्दा बढी सबै प्रकारका जुत्ताचप्पल उत्पादन गरि स्वदेशी बजारमा आपूर्ति गर्ने गरेको फुटवेयर एशोसिएशनको अभिलेखमा उल्लेख छ । १७ अर्बको बराबरको लगानी रहेको यसक्षेत्रले बार्षिक ३२ अर्ब बराबरको कारोबार गरिरहेको व्यापार मेलाका संयोजक उपाध्यायले जानकारी दिनुभयो ।
व्यापार मेलामा जुत्ता चप्पलहरूको खरिदमा बिशेष छुटको पनि व्यवस्था समेत गरिएको छ । १ सय देखि १० हजारसम्मका जुत्ताचप्पलमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार दैनिक २० हजारभन्दा बढी ग्राहकले मेलाको अवलोकन गर्नेछन् ।
कार्यक्रममा बोल्नुहुँदै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यस किसिमको मेलाले स्वदेशी उत्पादनको प्रर्बद्धनमा सहयोग पुगेको जानकारी दिनुभयो । उहाँले विदेशी उत्पादनसँग प्रतिस्पर्धी भएर उपभोक्ताको चाहना अनुरुपको जुत्ताचप्पलहरू उत्पादन गर्न सके मात्रै स्वदेशी उत्पादनले पनि विश्वबजारमा ख्याति प्राप्त गर्ने स्पष्ट पार्नुभयो ।
बार्षिक ९ करोड जोडी जुत्ताचप्पल आन्तरिक बजारको माग छ । जसमध्ये करिब ६३ प्रतिशत जुत्ताचप्पल आन्तरिक उत्पादनबाट आपूर्ति हुने गरेको एशोसिएशनले जनाएको छ ।