विराटनगर । विराटनगरमा सङ्गठित रुपमा चोरी गर्दै हिँडने ७ जनाको समूहलाई मोरङ्ग प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय युवा र मोरङ्ग प्रहरीको समन्वयमा विगत ४ दिनदेखिको प्रयासपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ४ बालक र ३ महिला रहेका छन् । उनीहरुलाई विराटनगर देवकोटा चौक दक्षिण एक कबाडी पसलमा विगत लामो समयदेखि चोरीको सामान बेचबिखन गर्दै आएको खबर पाएपछि पक्राउ गरिएको मोरङ्ग प्रहरीले जनाएको छ । उनीहरुले समुह बनाएर विराटनगरका विभिन्न भागमा चोरी गर्दै आएका थिए ।
विराटनगर–५ निवासी शंकर शर्माले गत बिहीबार बरगाछी स्थित र ईन्टेल कन्टिनेन्टल ग्यारेजमा पेन्टिङ गर्न राखिएको आफ्नो बुलेट बाईकको पछाडिको चक्का, डिक्सब्रेक, फ्री ह्विल, ब्याट्री र सिडिआई लगायतका ३० प्रतिशत पाटपुर्जाहरु चोरी भएको बताउनुभयो । उहाँले चोरी भएको सबै पाटपुर्जा देवकोटा चौकस्थित कबाडी पसलमा भेटिएको जानकारी दिनुभयो । बाईकको चोरी भएका सबै पार्टहरु कबाडीमा फेला परेको छ, उहाँले भन्नुभयो “सिसीटिभी फुटेजको आधारमा मोरङ्ग प्रहरीको सहकार्यमा उनीहरुलाई पक्राउ गर्न सफल भएका हौं ।”
त्यस्तै बरगाछीस्थित र इन्टर कन्टिनेन्टलका सञ्चालक मनिष हमालले भने ग्यारेजमा आफू नभएको बेला चोरी भएको बताउनुभएको छ । उहाँले यसअघि पनि ग्यारेजबाट प्राय: आवश्यक सामानहरु हराएको उल्लेख गर्नुभयो ।
यता कबाडी पसल सञ्चालक पुनमदेवी शर्माले विगत चार दिनदेखि बाईकका पाटपुर्जा बिक्रीका लागि पसलमा आईरहेको बताउनुभयो । उहाँले ती सामानहरु चोरीको हो भन्ने बिषयबाट आफू अनविज्ञ रहेकाले मात्रै उनीहरुबाट ती सामाग्री खरिद गरेको जिकिर गर्नुभयो ।
पक्राउ परेका सबैको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ । मोरङ्गमा आर्थिक वर्ष २०७५÷०७६ मा १ सय ५ वटा र चालु आर्थिक वर्षकोे ७ महिना ६९ वटा साधारण चोरीका घटनाहरु भएको मोरङ्ग प्रहरीको तथ्याङकले देखाएको छ ।