करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको काउन्टर सञ्चालन

विराटचोक । करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको विस्तारित काउन्टर सञ्चालनमा आएको छ । सो काउन्टरको सञ्चालनसँगै विराटचोकमा रहेको करदाता सेवा कार्यालयमा व्यवसायीलाई करसम्बन्धी आर्थिक कारोबार गर्न सहयोग पुग्ने करदाता सेवा कार्यालय विराटचोकका प्रमुख नेत्र घिमिरेले बताए ।

सो करदाता सेवा कार्यालयले सुन्दरहरैंचा, बेलबारी र केराबारी गाउँपालिकाका व्यवसायीलाई सेवा दिँदै आएको छ । करदाता सेवा कार्यालयमा हाल ११ हजार २ सय २५ व्यवसायले कारोबार गर्दै आएकोमा १ हजार ३५ वटा व्यवसायले मूल्य अभिवृद्धि कर (भ्याट)मा कारोबार गर्दै आएको कार्यालयका प्रमुख घिमिरेले बताए ।

कार्यक्रममा प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले बैंक र करदाता सेवा कार्यलयबीच अन्योन्याश्रीत सम्बन्ध रहेको बताए । उनले बैंकको काउन्टर स्थापना भएपछि सेवाग्राहीलाई राजस्व तिर्न सहज हुने बताए । कार्यक्रमका वक्ताहरुले राजस्वसम्बन्धी तालीम कार्यक्रम सञ्चालन गर्न आग्रह गरेकाले अहिले कर कार्यालयबाट कर शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताए ।

कार्यक्रममा सुन्दरहरंैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले व्यापारीलाई फुर्सद नहुने भएकाले यो काउन्टर स्थापना हँुदा समयको समेत बचत हुने बताए । उनले कृषि विकास बैंकमा कर तिरेको राजस्व करदाता सेवा कार्यालयको खातामा जम्मा नहुने समस्या समेत रहेको बताए ।

यस्तै, उद्योगपति भोलेश्वर दुलालले व्यापारी र करदाताबीचको सम्बन्ध राम्रो नभएको बताए । उनले व्यापारीहरुले पान नम्बर लिएर ५० लाखभन्दा माथिको कारोबार गर्ने गरेको र त्यसो गर्दा आफूूलाई समस्यामा पर्ने स्वयम् व्यापारीलाई थाहा नभएको भन्दै त्यसको समाधानतर्फ करदाता कार्यालयले सहजीकरण गर्नुपर्ने बताए ।

सिभिल बैंक प्रदेश १ का प्रमुख राजेश ढकालको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व बैंकको केन्द्रीय कार्यालयका ‘डिपोजिट एण्ड ट्रान्जेक्सन’ का प्रमुख भोलाबहादुर विष्टले गरेका थिए । सभापति बिष्टका अनुसार हाल बैंकका १ सय १४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

बुधबार, २६ फागुन, २०७७, साँझको ०६:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर