विराटनगर । विराटनगर ७ स्थित रारा बच तथा सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको रकम जोखिममा परेको छ ।
सहकारीहरुले समयमा निक्षेप फिर्ता तथा व्याज नदिँदा निक्षेपकर्ता जोखिममा परेका हुन् । । चार महिनादेखि बचतकर्ताको पैसा फिर्ता नदिएको निक्षेपकर्ताहरूले बताएका छन् ।
मोरङको धनपालथान गाउँपालिका–१ नोचाका रबिन्द्रकुमार साहले रारा सहकारीमा जम्मा गरेको १० लाख रुपैयाँ लिन सहकारी धाएको दुई महिना हुदा पनि अहिलेसम्म नपाएको बताउनुभयो । उहाँले सहकारीमा फिक्स डिपोजिट गर्नुभएको थियो ।
फिक्स डिपोजिटको लागि जम्मा परेको रकम वर्ष दिन पूरा भएपछि झिक्न सहकारी जाँदा सहकारीले आलटाल गर्दै आएको साहले बताउनुभयो । सहकारीमा दैनिक गएर ताकेता गरेपछि उहाँलाई गरिमा बिकास बैंकको ९ लाख ९० हजारको चेक सहकारीले दिएकोमा तीन पटक बाउन्स भएको छ ।
दुःख गरेर आर्जेको रकम जम्मा गरेको त्यति ठुलो रकम बैंकले फिर्ता दिन नमानेका कारण आफ्नो विचल्ली भएको साहको गुनासो छ । रारा सहकारीले निक्षेपकर्ताले बचत गरेको रकम फिर्ता लिने साह मात्र होइन्, दर्जनौं निक्षेपकर्ताहरू अहिले बचत गरेको रकम लिन सहकारीमा लर्को लाग्ने गरेको छ । विराटनगर ८ मा किराना पसल सञ्चालन गरेका सन्तोष मण्डलले रारा सहमारीमा ३ सय रुपैयाँको दरले बचत गर्दै आउनुभएको थियो ।
हालसम्म आएर सन्तोषले बचत गरेको रकम ५३ हजार बढी बचत भएकोमा बचत गरेको रकम लिन सहकारी धाएको दुई महिना हुँदा पनि नदिएको उहाँले बताउनुभयो । ‘अहिलेसम्म सहकारीले बचत गरेको पैसा दिने कुनै छाँटकाट देखाएको छैन’ उहाँले भन्नुभयो, ‘बचत गरेको पैसा लिन जाँदा भोली आउनु भन्दै झुलाउने काम गरिरहेको छ ।’ दुई महिनासम्म धाउँदा सहकारीले २ हजार मात्र फिर्ता पाउन सकेको उहाँको भनाइ छ ।
विराटनगर ९ की उषा घिमिरेले सो सहकारीबाट ६ लाख रुपैयाँ पाउनुपर्ने छ । ब्यवसाय गर्ने उद्देश्यले आफूले रकम बचत गरेपनि अहिले आएर सहकारीले फिर्ता नदिँदा आफ्नो योजना चौपट भएको उहाँले बताउनुभयो । ‘आफूले खाइनखाइ दुःख गरेर आर्जेको रकम बचाएर सहकारीमा जम्मा गरेको थिएँ,’ उहाँले भन्नुभयो, ‘अहिले जम्मा गरेको रकम लिन आउँदा सहकारीले झुलाउने गरेको छ ।’
बजारमा गरेको लगानी लकडाउनका कारण उठ्न नसकेका कारण बचतकर्ताको रकम फिर्ता दिन समस्या भएको सहकारीका अध्यक्ष शेरबहादुर थापा मगरले बताउनुभयो । ‘बजारमा हामीले ऋण प्रभाव गरेको छौं । त्यो पैसाँ उठन बाँकी छ । कर्जा उठेपछि बचत गरेका सबै निक्षेपकर्ताहरुको रकम दिनेछौं,’ अध्यक्ष मगरले भन्नुभयो, ‘तर, केही समय भने लाग्नेछ ।’
बजारमा सहकारीको लगानी १२ करोड बढी रहेको र ग्राहकलाई ७ करोड मात्र तिर्न बाँकी रहेको छ । आकर्षक ब्याज दिने भनेर आम सर्वसाधारणबाट रकम संकलन गरेको रारा सहकारीले संकलन गरेको अधिकांश रकम बिनाधितो बजारमा ऋण प्रभाव गरेको कारण लगानी जोखिममा परेको बुझिएको छ ।
२०६९ सालमा स्थापना भएको उक्त सहकारीको कार्यक्षेत्र मोरङ जिल्लाभरी रहेको छ । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले रारा सहकारीलाई बचतकर्ताले जम्मा गरेको रकम फिर्ता दिन निर्देशन दिएको बताउनुभयो । ‘लकडाउनको कारणले निक्षेप संकलन हुन नसकेको पाइयो । सहकारीले तरलता प्रयाप्त राख्न सकनेन् । त्यही भएर समस्या परेको हो,’ उहाँले भन्नुभयो, ‘समस्या सावधान गरिदिन तिर हामीले पनि पहल गर्दै आएका छौं ।’