केराबारीका खोलामा ठेकेदारको दादागिरी

केराबारी (मोरङ) । जनप्रतिनिधिकै मिलेमतो र प्रत्यक्ष संरक्षणमा जथाभावी भइरहेको प्राकृतिक स्रोत दोहनले मोरङ केराबारी गाउँपालिकाको सिंगो बस्ती उच्च जोखिममा परेको छ । गाउँपालिका भित्रका खोलाहरुमा जनप्रतिनधिहरूको संरक्षणमा क्रसर उद्योगहरुले मनपरी गरिरहेका छन् ।

वातावरणीय प्रभाव मूल्यांकनको सीमा मिचेर यसरी खोलाका ठेकेदारले गर्दा बस्ती जोखिममा परेको हो । ठेकेदारको मनपरीलाई स्थानीय तह र प्रहरीले देखेको नदेख्यै गरिदिँदा बस्ती जोखिममा पर्ने क्रम चुलिएको छ ।

खासगरी केराबारीको खदम खोला र त्यसछेउको निजी जग्गामा मापदण्डविपरीत तीव्र गतिमा उत्खनन् गरेका कारण केराबारी गाउँपालिका ८ को आमजुगी बस्तीका ५ सय घरपरिवार उच्च जोखिममा परेका हुन् । क्रसर व्यवसायी भीम पौडेलको महादेवा मिनरल इन्डष्ट्रिज र शिवम् क्रसरले खदम खोला र केराबारी ८ मा रहेको बस्तीछेउदेखि मापदण्ड विपरित उत्खनन गरेको पाइएको छ ।

सोही कारण वडाको आमजुगी बस्ती जोखिममा परेको स्थानीबासी जीतबहादुर बस्नेतले बताउनुभयो । ठेक्कासमेत नलागेको खदम खोलादेखि अहिले दिउँसो र रातिको समयमा अवैध रूपमा ढुंगा, गिट्टी बालुवाको दोहन तीव्र भएको स्थानीयबासीले बताएका छन् ।

जनप्रतिनिधि र प्रहरीकै संरक्षणमा यहाँका खोला र बस्ती नजिकको निजी जग्गाहरूबाट उत्खनन् भइरहेको छ । केरावारी ८ आमजुगीको खदम खोलामा ठेकेदारले तोकिएको मापदण्डभन्दा धेरैबढी ढुङ्गागिट्टी र बालुवा निकाल्दा खोला नै तालजस्तो बनेको छ । खोला उत्खनन् गर्नका लागि बढीमा एक मिटर ४० सेन्टिमिटर गहिरो खन्न मात्रै अनुमति दिइएको हुन्छ । तर, त्योभन्दा तेब्बरबढी गहिराईमा उत्खनन् जारी छ ।

ठेकेदारले ३ देखि ४ मिटरसम्म गहिरो खन्दा आसपासका बासिन्दा आक्रोशित छन् । मापदण्डविपरित खोला उत्खनन् हुँदा खोला जुनसुकै बेला बस्तीमा पस्ने त्रास उच्च भएको केराबारी ८ का बस्नेतले बताउनुभयो । ‘हामीले त्यति गहिरो बनाएर नखन्न ठेकेदारलाई आग्रह ग¥यौं,’ उहाँले भन्नुभयो, ‘तर, खन्न छाडेनन्् ।’

खदम खोलामा मापदण्ड विपरीत खोलाको दोहन गर्दा खोलाको सतह गहिरिएर आसपासका बस्तीका चापाकल र इनारको पानीको स्रोत सुकेपछि पानी आउनै छाडेकोे छ । बस्नेतका अनुसार मापदण्ड विपरित खोला उत्खनन् भइरहँदा पनि जनप्रतिनिधि मौन छन् । गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की, वडानम्बर ८ का अध्यक्ष मनोज खड्कासहितको संरक्षणमा मापदण्ड विपरित खदम र निजी जमिनदेखि धमाधम ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको स्थानीयको आरोप छ ।

आँखै अघि खोलामा मनपरी चल्दा पनि जनप्रतिनिधि मौन रहेको घटनाले उनीहरुको मिलेमतो पुष्टि हुने आरोप स्थानीयबासीको छ । ‘दैनिक ५ सय टिफर ढुंगा, गिट्टी जथाभावी निकाल्दा पनि उनीहरु रमिते मात्रै किन छन् ?’ स्थानीयबासी सोध्छन् ‘हामीले बारम्बार सुनाउँदा पनि थाहा नपाए झैं गर्छन् ।’

खोलामा ठेकेदारले मनपरी गरिरहेको वडाध्यक्ष मनोजकुमार खड्का स्वीकार्छन् । ‘हामीले तोकिएको मापदण्डमा रहेर ढुंगा, बालुवा र गिट्टी निकाल्ने आचारसंहिता बनाएका थियौं,’ वडाअध्यक्ष खड्काले भन्नुभयो, ‘त्यसको अहिले पालना भएको छैन ।’ आफूहरुले अवैध खोला उत्खनन र चोरी तस्करी रोक्न नसकेको उहाँको भनाइ छ ।

खदम खोला र त्यसछेउमा सञ्चालन भइरहेका क्रसर उद्योग र ठेकेदारले वातावरणीय प्रभाव मूल्यांकन विपरित खोलाको दोहन गर्दा स्थानीय निकाय, प्रहरी मौन छन् । शून्य दशमलव ५ मिटरदेखि बढीमा डेढ मिटरसम्म गहिरो बनाएर गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न स्थानीय तहले क्रसर र ठेकेदारलाई अनुमति दिएको थियो । तर, चार मिटरसम्म गहिरो खनेर उत्खनन भइरहेको छ ।

निजी जग्गाबाट यसरी जथाभावी बालुवा गिट्टी झिक्ने क्रसर उद्योगी भीम पौडेल हुन् । स्थानीबासीका अनुसार खदम खोलाछेउमा रहेको ६ विघाको जमिनबाट दैनिक ३ देखि ५ सय टिफर ढुंगा, बालुवा र गिटी निकालिने गरेको छ । प्राकृतिक स्रोतको यसरी दोहन भइरहँदा पनि गाउँपालिकाले नियन्त्रणको प्रयत्न गरेको छैन । क्रसर उद्योगी पौडेलले खदम खोला छेउमा रहेको आफ्नो निजी जमिनदेखि बालुवा र गिट्टी मापदण्ड अनुसार झिक्ने गरेको दाबी गर्नुभयो ।

‘मैले ६ बिघा जमिन किनेको छु । अहिले खोला ठेक्का लागेको छैन । त्यही भएर अहिले आफ्नो निजी जमिनदेखि बालुवा र गिट्टी झिक्ने गरेको छु,’ पौडेलले भन्नुभयो, ‘बालुवा र गिट्टी झिकेपछि गहिरो हुन नदिन माटो हालेर पुर्ने गरेको छु ।’

ठेकेदारको रजाइँ

केराबारीमा गाउँपालिकाभित्र पाँच वटा खोला छन् । खदम, भलुवा, लोहन्द्रा, मुगु र हुरहुरे । ठेक्कामा लगाउन गाउँपालिकाले ५ वटा खोलाको टेण्डर अव्हान गरेको छ । ९ फागुनमा १६ करोड ९९ लाख २ हजार ८ सय ४५ रुपैयाँको टेण्डर आह्वान गरिएको छ । अहिले पाँच वटा कम्पनीको आवेदन परेको गाउँपालिका सूचना अधिकारी सुवास सुवेदीले जानकारी दिनुभयो ।

पाँच वटा ठेकेदारमध्ये कान्छाराम कन्ट्रक्सनले बढी कबुल गरेको छ । कान्छाराम कन्ट्रक्सनले २१ करोड ९८ लाख ९८ हजार रुपैयाँ कबुल रहेको गाउँपालिकाले जनाएको छ । तर, गाउँपालिकाले ठेक्का लगाउनुभन्दा अगाडिदेखि नै तस्करी भने जारी छ ।

दुई वर्षअघि जिल्ला प्रशासन कार्यालयले मोरङका क्रसर उद्योगहरूको नियमनका लागि गठन गरेको अनुगमन समितिले अधिकांश उद्योग खोला र वन क्षेत्रमै मापदण्ड विपरित सञ्चालन भइरहेको प्रतिवेदन तयार गरेको थियो । प्रशासनले उक्त प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा ल्याएको छैन ।

त्यसलगत्तै प्रशासनले खोला नदी र वन क्षेत्रमा अवैध रुपमा क्रसर सञ्चालन भएको र एक्स्काभेटर लगाएर मापदण्ड विपरीत उत्खनन् भइरहेको गुनासो बढेपछि घरेलु कार्यालयका तत्कालीन प्रमुखको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियो । त्यसैगरी केरावारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीको कृष्ण क्रसर उद्योग, वडा ८ का अध्यक्ष मनोज खड्का र वडा १० का अध्यक्ष जंग खवासको महादेव क्रसर उद्योग पनि खदम खोलामा मापदण्ड विपरीत सञ्चालन हुँदै आएको प्रतिवेदनमा उल्लेख थियो । वडाअध्यक्ष खड्काले क्रसर उद्योगी पौडेलसँग मिलेर ढुंगा, गिट्टी र बालुका झिक्दै आएका छन् ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल मापदण्डी विपरीत उत्खनन् भएको गुनासो आएकोले तत्काल अनुगमन गरिने बताउनुभयो । ‘मापदण्ड विपरित खोलाहरूमा उत्खनन् भएको गुनासो आएको छ,’ उहाँले भन्नुभयो, ‘हामी प्राविधिकसहितको टोलीले चाँडै अनुगमन गर्नेछौं ।’

उल्टै उजुरी

खदम खोला र त्यस छेउको निजी जमिनमा मापदण्ड विपरित उत्खनन हुने गरेको पाइएपछि रोक्न माग राख्दै केराबारी ८ आमजुगीका स्थानीयबासी दुई दिनयता आन्दोलित छन् । अवैध उत्खनन् रोक्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको बेला क्रसर उद्योगी भीम पौडेलको महादेवा मिनरल इन्डष्ट्रिजले दुई वटा एक्साभेटर २ वटा टिफरले खदम खोला छेउको निजी जमिनदेखि टुंगा, गिट्टी र बालुवा उत्खनन् गरेको थियो ।

अवैध उत्खनन गरेको साधन हटाउन प्रहरीलाई स्थानीयले खबर गर्दा पनि ढिलो गरि आएको स्थानीय जीतबहादुर बस्नेतले बताउनुभयो । अवैध उत्खनन गर्ने सवारी साधन नियन्त्रण नगरेको भन्दै आक्रोशित भएका स्थानीयले उद्योगी पौडेलको क्रसरको कार्यालयको दुई वटा झ्याल तोडफोड गरिदिएका छन् । पौडेलले आफ्नो अवैध उत्खनन् ढाकछोप गराउन प्रहरी प्रशासन लगाएर धम्क्याउने गरेको आरोप छ ।

‘अहिले उद्योगी पौडेलले १७ लाख ५० हजार रूपैयाँ चोरी भएको भन्दै चार जनाविरूद्ध प्रहरीमा उजुरी दिएका छन्,’ बस्नेतले भन्नुभयो । स्थानीयका अनुसार केराबारी ८ का गोपाल खड्का, गोपाल थापा, जीतबहादुर राई र राजेश राईविरुद्ध इलाका प्रहरी कार्यालय बेलाबारीमा उजुरी दिएका छन् । प्रहरीले अवैध उत्खनन्मा प्रयोग भएको दुई वटा एक्साभेटर र २ वटा टिफर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार इलाका प्रहरी कार्यालय केराबारीले क्रसर उद्योगी पौडेलका ती साधन नियन्त्रणमा लिएको इप्रका बेलबारीले जनाएको छ ।

गाउँपालिका प्रमुख थुनिए

खदल खोलामा चोरी तस्करी रोक्नुपर्ने र मापदण्ड विपरित उत्खनन् रोक्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयले आइतबार केराबारी गाउँपालिकाको कार्यालय घेराउ गरे । अवैध उत्खनन र मापदण्ड विपरितका क्रसर उद्योगहरु बन्द गरिनुपर्ने माग राख्दै ठूलो संख्यामा उपस्थित भएका गाउँले गाउँपालिकामा १२ बजे पुग्दा केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की कार्यालयको मुल गेटको ढोकामा ताल्चा लगाएर बसेका थिए । स्थानीयबासी दिनभर कार्यालयबाहिर नाराबाजी गरे ।

आइतबार साँझ आन्दोलनमा उत्रिएका स्थानीय र गाउँपालिका प्रमुख कार्कीबीच भएको बार्ता पनि बिनानिष्कर्ष सकिएको वार्तामा सहभागी स्थानीय निरबहादुर खड्काले जानकारी दिनुभयो । ‘अवैध उत्खनन रोक्नुपर्दछ । बस्ती जोखिममा पार्ने क्रसर बन्द गरिनुपर्ने र उद्योगी पौडेलले प्रहरीमा स्थानीय विरुद्ध दिएको जाहेरी फिर्ता लिनुपर्ने हाम्रो माग थियो,’ खड्काले भन्नुभयो, ‘प्रमुख कार्कीले सबै माग पूरा गर्न नसक्ने भनेपछि बिना निष्कर्ष टुंगियो ।’ सोमबार कार्यपालिकाको बैठकपछि पुन छलफल हुनेछ ।

गाउँपालिका प्रमुख कार्कीले त्यसबारेमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिन मानेनन् । आक्रोशित स्थानीयबासीले केराबारी गाउँपालिको झ्यालसमे तोडफोड गरेका छन् । आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित भएर झ्यालमा ढुंगा हानेका थिए ।

सोमबार, १७ फागुन, २०७७, बिहानको ११:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर