गोकुल पराजुली
व्यक्तिवाद एउटा नैतिक, राजनैतिक र सामाजिक दर्शन हो । व्यक्तिवादले व्यक्तिगत स्वतन्त्रता, निपूर्णतालाई बल प्रदान गरेको हुन्छ भन्ने विश्वास गरिन्छ । सामान्य अर्थमा व्यक्तिवाद स्वार्थको समर्थन हो । आफूलाई केन्द्रभागमा राखेर प्रस्तुत गर्ने र आफू महान् छु भनेर सम्झने प्रवृत्ति नै व्यक्तिवाद हो । व्यक्तिहरुको भीडमा आफूलाई विशिष्ठ व्यक्ति ठह¥याउन जेसुकै गर्न तयार हुने प्रवृत्ति हो, व्यक्तिवाद ।
नेपाली राजनीतिको वर्तमान परिदृश्यमा एक प्रकारको व्यक्तिवादको उदय भएको हामी पाउन सक्छौं । मपाईत्वको चरम आकांक्षी, अहंकार र दम्भले निपूर्ण, नैतिकताप्रति कुनै दिलचस्वी नभएका राजनीतिक व्यक्तित्व हाम्रो मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । केपी शर्मा ओली प्रधानमन्त्री भएकै दिनदेखि उहाँका क्रियाकलाप आफूलाई केन्द्रभागमा राख्ने र शक्तिशालदी बन्नेतर्फ केन्द्रीत भए ।
शक्तिशाली र निर्विकल्प नेता हुने उहाँको आकांक्षा बढ्दै गयो । त्यसका लागि स्वार्थ समूह र झुण्डहरुको संरक्षण गर्न तथा त्यस्ता प्रवृत्तिलाई मलजल गर्नेतर्फ उहाँको ध्यान केन्द्रीत भयो । अराजकतालाई व्यक्तिगत स्वतन्त्रताको जलप लगाउन थाल्नुभयो । आफ्नो स्वार्थकाखातिर स्वार्थ समूहका अनुचित सरोकारहरुको सम्बोधन गर्नेतर्फ उहाँ लाग्नुभयो । जसले देशमा भ्रष्टाचार चरमरुपमा बढ्नपुग्यो ।
व्यक्तिवाद एक प्रकारका रोग पनि हो । जसले आफूलाई मात्र अग्लो देख्छ । आफू बराबर अरु कोही छैन भन्ने एक प्रकारको घमण्ड पनि हुन्छ । विज्ञतामा दोश्रो अब्बल व्यक्तिको उसले कल्पना गरेको हुँदैन । व्यक्तिवादको आकांक्षी व्यक्ति ‘मिस्टर नो अल’ पनि हो भन्न सकिन्छ । हाम्रा प्रधानमन्त्रीमा पनि यस प्रकारको प्रवृत्ति व्याप्त छ । कोरोनाकालमा बेसारपानीदेखि, तातोपानीको प्रयोग, साबुनपानीको फाइदाबारे उहाँको ब्याख्या, राम जन्मभूमिको नयाँ खोज र त्यसका लागि प्रस्तुत तर्कहरु, वेद, पुराण, धर्म, संस्कृति आदि विषयमा उहाँले दिने प्रवचन, गुरुत्वाकर्षण बलका सन्दर्भमा नयाँ बैज्ञानिकको घोषणा गर्ने कामले पनि उहाँमा आफूमात्रै महान्, विशिष्ठ, योग्य र निर्विकल्प व्यक्ति हुँ भनेर ठह¥याउने कोसिस गर्नुभएको देखिन्छ । हो, यही प्रवृत्ति व्यक्तिवाद हो ।
हाम्रा प्रधानमन्त्री पार्टीमा अरु कुनै नेता छ भन्ने नै ठान्नुहुन्न । धेरैजसो कमरेडहरुलाई केटा देख्नुहुन्छ । अग्रज नेतृत्व र समान तहका नेताहरुलाई ‘भाइ’ भन्नुहुन्छ । उहाँ यति कृतघ्न हुनुहुन्छ कि कसैप्रति पनि उहाँको सम्मानभाव छैन । उपराष्ट्रपति र सभामुखलाई नमस्कारसम्म नफर्काउने प्रधानमन्त्री ओली कृतघ्न पात्रको एउटा नमुना हो ।
अमेरिकी व्यक्तिवादी चिन्तक भन्छन् ‘व्यक्तिवादी नेतृत्वले कुनै हालतमा पनि आफूलाई कुनै निर्वाचित वा कुनै प्रकारका नेताको अधिन राख्न हुँदैन ।’ उनका अनुसार व्यक्तिवादको यहि आयामले उसलाई अराजकतावादी व्यक्तिवादको नजिक पु¥याउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिवादी चिन्तनका कारण मुलुकमा कर्तव्यच्युत स्वार्थ समूहको बढोत्तरी कसरी भयो भनेर अध्ययन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अझ कम्युनिष्ट आन्दोलनको नेता भएका कारण कम्युनिष्ट आदर्श र दर्शनभित्र एउटा व्यक्तिवाद जन्म र विकास कसरी भयो यो पनि महत्वपूर्ण खोजको विषय हो । यस प्रवृत्तिले समाजलाई कसरी चिन्तनशून्य, स्वार्थी र अनैतिक बनाउँदै लग्यो भन्ने कुरा पनि हामीले विचार गर्न जरुरी छ ।
प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरित, जनताको चाहाना विपरित प्रतिनिधिसभा विघटन गरेपछि आमसभाहरु गर्दै हिड्नुभयो । ती आमसभाहरुमा प्रधानमन्त्रीका तस्बिरयुक्त बडाबडा प्रतिकहरु ठड्याइए । प्रधानमन्त्रीलाई देवताको रुपमा प्रस्तुत गरियो । भक्तहरु त्यस्ता प्रतिकलाई नमस्कार गर्दै ढोग्दै हिँड्नथाले । सामान्य मानिसको कुरा होइन प्रदेश सरकारका मन्त्रीहरु नै यस्तो भक्त प्रवृत्तिको अनुयायी बनेको देखियो । यसले व्यक्तिवाद नैतिक, राजनैतिक र सामाजिक दर्शनको नकारात्मक अर्थको रुपमा नेपालमा पनि पुष्टि भयो ।
हुन त व्यक्तिवाद सँधै नकारात्मक मात्र हुँदैन । व्यापार क्षेत्रमा व्यक्तिवादलाई सकारात्मक अर्थमा लिइन्छ । कतिपय बेलामा व्यक्तिवादले समाजको विकासमा गति पैदा गर्न सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ । तर, नेपालको वर्तमान राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिवादले समाजलाई कुनै गति दिएन । बरु मुलुकलाई अनावश्यक कष्ट, व्यवधान, अस्थिरता, अनिश्चितताको भुँमरीमा फसाउने काम ग¥यो । न्यायालयले नसच्याएको हुन्थ्यो भने मुलुक प्रधानमन्त्रीको व्यक्तिवादको नराम्रो शिकार बन्ने खतरा थियो । भलै त्यसको एउटा पटाक्षेप भएको छ ।