लीलावल्लभ घिमिरे
अचेल सडकमा तमासा छ । हेर्न पटकै मनछैन । तर, नहेरी धरै छैन । मान्छेहरु केका लागि र किन सडकमा तमासा देखाइरहेका छन् । त्यो पनि थाहा छैन । हुन तमासा देखाउने प्रमुख पात्रहरुलाई पनि थाहा छैन होला । हामीहरु केको तमासा देखाईरहेका छौं । अनि हातमा झण्डा थमाइएकाहरुलाई झनै के थाहा, तमासा केको हो भन्ने ।
‘बा’ को तमासा सुरु भएको तीन वर्ष भयो । रेल, पानी जहाज, चुला चुलामा पाइका ग्याँस हुँदै भोकै नबस्नुपर्ने दिन पनि यहि तीन वर्षमा देखियो । ‘बा’ ले अन्त्यमा आफ्ैले बनाएको गगनचुम्बी महलमा आफैंले दागवत्ती दिनुभयो र ‘बा’ यतिबेला फेरि अर्को नयाँ महल बनाउने तमासा सडकमा देखाइरहनु भएको छ । ‘बा’ लाई थाहा छैन । विशालसभा सकिएपछि ‘बा’ भोक लागो भन्दै मसिनो स्वरमा नारा लगाउँदै एक हुल अर्लारे केटाहरु गन्तब्यविहीन यात्रामा लम्किरहेका छन् । ‘बा’ भन्नुहुन्छ, यिनलाई देखाउन यो तमासा गरेको हो ।
अर्कोथरीको तमासा पनि कम छैन । सडकमा बसेर छातीमा फोटोकपी टाँसेर तमासा देखाइरहेका छन् । हिजोसम्म भस्मासुरकै पछि लागेर भजनमण्डली बने । आज त्यसैको पश्चताप गर्दै सडकमा तमासा देखाइरहेका छन् । ‘बा’ भन्छन्, चुनाव हुन्छ । बाका भाईहरु भन्छन्, संसद पुनःस्थापना हुन्छ । तमासा देखाउन लामवद्ध भएका बबुराहरु दुबैथोकमा ताली मार्छन् । लाग्छ, उनीहरुलाई बाछोबाछी भन्दा पनि विगौतीको मात्र मतलब छ ।
सडकमा तमासा गर्ने पात्रहरु यी दुईवटा मात्र हैन्, अरु पनि छन् । चुनावमा डल्लो पर्नेगरी हार खाएर पहिला नै सडकमा आइसकेका पात्रहरुको तमासा पनि उदेकलाग्दो छ । प्रमुख पात्र भन्छन्, चुनावमा जाउँ । उनका सहायक पात्रहरु भन्छन्, सडकमा जाउँ । यो घरको तमासा पनि हेर्नलायक छ । झण्डै आठ दशक नेपालको राजनीति गरेका पात्रहरुलाई के गर्दा ठिक हुन्छ भन्ने हेक्का अहिलेसम्म हुन सकेको छैन । पात्रहरु कुहिराको कागजस्तै भएका छन् । न घरको न घाटको । यी पात्रहरुको तमासा देख्दा लाग्छ, पल्लो घरको रोग यिनीहरुको घरमा पनि चाडैं सर्नेछ । हुन त यस अघि पनि यो घरमा रोग नलागेको हैन । तर, पात्रहरुको चेत खुलेजस्तो छैन ।
तमासा यति मात्र सकिदैन् । पाँच वर्षका लागि जनताले दुईतिहाई मत दिएर पठाएको संघीय सरकार ‘बा’ को एक सनकमा कामचलाउ बन्यो । अहिले लिगलीगमा राजा बन्न तिघ्रामा तेल लगाएर दौडे जस्तै नेकपा र सुर्य चिन्ह मेरो हो भन्दै सडकमा तमासा भइरहेको छ । कसका मान्छे धेरै भन्ने प्रतिसप्रर्धा छ । देशका प्रधानमन्त्री बेरोजगार मान्छेहरुको भिड जम्मा गर्छन्, अनि छाती फुकाएर भन्छन्, ‘दुईचार हजार पनि मान्छे हैन, मेरो सभामा आएर हेर, मान्छे कति छन् । देश र जनताप्रति चिन्ता गर्ने प्रधानमन्त्री भए उनलाई त्यो मास देख्दा चिन्ता लाग्नुपर्ने हो । र उनले भन्नुपर्ने हो । यतिका मान्छे अझै बेरोजगार कसरी भए ? म यिनीहरुलाई रोजगारीको ब्यवस्था गर्छु । तर, हाम्रा नेताहरुलाई आफ्नो कार्यक्रममा मान्छेको जति भिड देख्यो, उति आन्नद आउँछ । किनकि उनीहरुलाई भोलि जनतालाई रोजगारी दिने र समृद्ध बनाउने योजना नै छैन ।
देशका प्रधानमन्त्रीको भाषण सुन्यो, छिचरा कुरा मात्र हुन्छ । आधा हावादारी गफ, आधा माधव–प्रचण्डलाई सराप्दा समय सकिन्छ । जनता त्यसैमा ताली ठोक्छन् । माप्रझ पनि कम छैनन् । उनीहरुपनि पाँडे गालीमा नै समय खेर फ्याँक्छन् । शेरबहादुरलाई थामिसक्नु छैन । रामचन्द्रदेखि गगनकुमारसम्मले न्वारानदेखिको बल निकालेर गाली गर्छन् । यी सबै तमासा हेर्ने पटकै मन छैन । तर, हेर्नेपर्ने बाध्यता छ ।
हाम्रो प्रदेश सरकारमा पनि यतिबेला तमासा छ । मुख्यमन्त्री अविश्वासको प्रस्ताववाट भाग्न मात्र खोज्दैनन, सत्ता पक्षले नै सदन अवरुद्ध गर्छ । योभन्दा तमासा अरु के हुन्छ ? धम्कीको शैलीमा नेताहरु बोल्छन् । तीन तहका सरकार बनाएर सिंहदरबार घरदैलोमा आयो भन्ने थियो । तर, तीनै तहका सरकारका तमासाले मुलुक बर्बादीतर्फ लागिरहेको छ । स्थानीय सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेका छन् । प्रतिपक्षीविहीन छन्, स्थानीय सरकारहरु । अब हुँदाहुँदा स्थानीय सरकारहरु सत्ता पक्षको सभामा गाउँमा मान्छे भेला पारेर सरकारी खर्चमा ओर्सान थालेका छन् । साँच्चीकै भन्नुपर्दा हाम्रो मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षहरुलाई यतिबेला गाउँको बजेट उल्फाको धन। फुपुको सराद्धे भनेजस्तै भएको छ ।