विराटनगर । शनिबार विराटनगरको आमसभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापासहित नेताहरुले जनताले चुनाव चाहेको दाबी गरे ।
उल्लेख्य संख्यामा उपस्थित सहभागीलाई देखेर संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले त घोषणा नै गर्नुभयो, ‘चुनाव चाहेर नै तपाइँहरु यति ठूलो संख्यामा यहाँ आउनुभएको छ, चुनाव अब जनताले मागिसकेको प्रमाण तपाइहरु हो ।’
मञ्चबाट नेताहरुले यस्तो घोषणा गर्दा त्यसको साक्षी बन्नुभयो, ५० वर्षीया करुणा ऋषिदेव । सुनसरी हरिनगराकी उनलाई सोधियाो, तपाईं चुनाव चाहेर आउनु भएको हो ? ‘होइन’, लजाउँदै उहाँले सुनाउनुभयो ‘ठूलो नेता आउँछ, जाउँ भने अनि म आएँ ।’ ठूलो नेता को हो भन्ने चै उनले नेताहरुले बोलिसक्दा पनि पत्तो पाइनछन् ।
नेकपाको ओली समूहले ठूलो तामझामसहित आयोजना गरेको सभामा ग्रामिण क्षेत्रबाट यात्रुबसमार्फत हजारौंको संख्यामा जनसहभागिता जुटाएको थियो । सभा र जुलुसमा सहभागी कार्यकर्ताबाहेकका सर्वसाधारण भने कतिपय दबाबमा र कतिपय घुम्ने रहरमा आएको बताउँथे ।
कार्यक्रमस्थलमा भेटिएका मोरङ बुढीगंगा गाउँपालिका ब्रमहदेव सहनीले विराटनगर घुम्ने र राम्रो खाजा पनि पाइने भनेपछि आएको बताउनुभयो । ‘गाउँका स्थानीय नेताहरूले प्रधानमन्त्री आउँदैछन्, राम्रो खाजा पनि खान पाइन्छ भन्दै लिएर आए,’ सहनीले भन्नुभयो ‘चुनावका बारे थाहा छैन । म त प्रधानमन्त्री पनि चिन्दिनँ ।’
विराटनगर २ विराट नर्सिङ होम अगाडिको खाली मैदानमा नेकपा ओली समूहले जनसभामा गरेको थियो । सभामा सर्वसाधारणलाई खाली चौरमा थचक्कै बस्न लगाइएको थियो भने नेताहरु र सांसदहरुलाई कार्पेटमाथी कुर्सीको व्यवस्था गरिएको थियो ।
चर्को घामबीच भुइँमा थचक्क बसेका कार्यकर्ता धेरै गाउँ–गाउँदेखि गाडीमा आएका थिए । ५ पुसमा प्रतिनिधिसभा भंग गर्ने निर्णयपछि संघीयता, लोकतन्त्र र गणतन्त्रप्रति ओली प्रतिबद्ध छैनन् भन्ने संशय पैदा भइरहेका बेला उनले आफ्ना विपक्षीहरूलाई देखाइदिने र चुनावी माहोल पनि बन्दैछ भन्दै नेकपा ओली समूहको १ नम्बर प्रदेशले जनसभा आयोजना गरेको हो ।