काँग्रेसको घातक अलमल

 सम्पादकीय

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय सबैभन्दा बढी विरोधाभाषमा देखिन्छन् । खासगरी पुस ५ को प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनमा जाने निर्णय पार्टीले गरिसकेको छ । तर, उनी हरेक सभाहरुमा अदालतको निर्णयको दुहाई दिँदै चुनावको लोभ पनि गरिरहेका छन् । सत्तारुढ नेकपा राजनीतिक रुपमा विभाजित भइसकेका कारण त्यसले सोझै काँग्रेसलाई फाइदा हुने चुनावी गणितको मोहले यति मोहित बनेका छन् कि आफ्नै दलको निर्णय पनि कार्यान्वयन नगर्ने दुविधामा देउवा फँसेका छन् ।

यही दुविधाकै कारण काँग्रेसका नेताहरु एकै मन्च र उही कार्यक्रममा पनि चारथरी कुरा गर्न थालेका छन् । कोही चुनावको तयारी गरौं भन्ने, कोही आन्दोलन उठाऔं भन्ने, विचित्रको अवस्था काँग्रेसभित्र देखिएको छ । यसको सबैभन्दा ठूलो शिकार सभापति देउवा बनेका छन् । रामचन्द्र पौडेल, डा. शेखर कोइराला, गगन थापाहरु प्रष्ट रुपमा संसद् पुनःस्थापनाको मागमा अडिग देखिन्छन् । तर, सभापति देउवा मञ्चैपिच्छे फरक कुरा गर्दै हिँडिरहेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उच्च योगदान दिएको सबैभन्दा ठूलो दल यसरी अलमलमा पर्नु मुलुक र काँग्रेस दुवैका लागि घातक छ ।

काँग्रेस नेताहरुले बारम्बार भन्दै आएका छन्, लोकतान्त्रिक दल चुनावबाट भाग्न मिल्दैन । निश्चय नै आवधिक निर्वाचन लोकतन्त्रको एउटा सुन्दर पक्ष हो । तर, चुनाव मात्रै लोकतन्त्र होइन, हुन सक्दैन । लोकतन्त्रले विधि, पद्दतिको जगमा टेकेर आफूलाई थप परिष्कृत स्वरुप प्रदान गर्दै जाने हो । यसका बारे काँग्रेस जति जानकार सम्भवतः अरु कुनै दल छैनन् । ताज्जुबलाग्दो के छ भने त्यही दल प्रधानमन्त्री ओलीको संसद् विघटनलाई असंवैधानिक भन्छ, अनि त्यही दल चुनाव भए भाग लिने भन्छ । यो जसरी पनि सत्तारोहणको मोह मात्रै हो । विधि, प्रक्रिया र संविधानको कल्पनाभन्दा बाहिरको कुरा हो ।

हाम्रो संविधानले प्रधानमन्त्रीलाई यत्तिकै संसद् विघटनको अधिकार दिएको छैन । त्यसैले ओलीले चालेको कदम पूर्णतः असंवैधानिक छ । यो असंवैधानिक कदम नसच्याएसम्म सरकारले लाद्न खोज्ने चुनाव पनि असंवैधानिक नै हुन्छ । जसलाई जतिबेला मन लाग्यो त्यही बेला चुनाव गर्ने हो भने त्यसले संविधानलाई धुलो बनाउने त निश्चितै छ, मुलुकलाई पनि अराजकताको खाडलमा जाक्नेछ । त्यसैले मुलुकको लोकतान्त्रिक आन्दोलनको सारथि बनेको दल काँग्रेसले यस्तो बेलामा दुविधाग्रस्त बन्ने होइन, आन्दोलनमार्फत प्रतिगमन सच्याउने कामको नेतृत्व लिनुपर्छ । अन्यथा यस्तै दिशाविहीन र गतिहीन बन्ने हो भने काँग्रेस र उसको नेतृत्वले आफ्नो औचित्य पुष्टि गर्न किठन हुनेछ । गौरवशाली विगतको आलोकमा वर्तमानमा उभिने साहस काँग्रेसले गर्नुपर्छ ।

बुधबार, ०५ फागुन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर