असुरक्षाले बढाएको भय

 सम्पादकीय

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले सिंगो देशलाई रुवाएको थियो । किताबकापी च्यापेर स्कुल जाँदै गर्ने उमेरकी छोरीले भोगेको जघन्य अपराधको ताडनाले पन्त परिवारलाई मात्रै होइन, सबै आमाबाबुको मन उद्वेलित गराएको थियो । सबैको कामना थियो, त्यस्तो पाशविक घटना त्यही नै अन्तिम बनोस् । तर, भएन । उस्तै प्रकृतिका घटनाले निरन्तरता पाइरहेका छन् । असुरक्षा बढेको बढ्यै छ । पछिल्लो महिना दिनभित्रै धेरैवटा बलात्कारका घटना सार्वजनिक भएका छन् । यही श्रृङ्खलामा मोरङको कानेपोखरी घटना पनि थपिएको छ ।

कानेपोखरी–२ का २९ वर्षे किशोर प्रेम चौधरीले १७ वर्षीया दलित किशोरीलाई नशालु पदार्थ सेवन गराई बलात्कार गरेर बेहोस बनाइ सडकमा छोडेको घटना सार्वजनिक भएको छ । पीडित किशोरी उपचार गराइरहेकी छन् । उक्त घटनाका अभियुक्त प्रहरी नियन्त्रणमा आएको मोरङ प्रहरीले जनाएको छ । यो घटनामा मिलापत्रको प्रयास गरेको आरोप प्रहरीतिरै पनि सोझिएको छ । मोरङ प्रहरीले यसमा दोहोरो अनुसन्धान गर्न आवश्यक छ । पहिलो, घटनाको गहिरो अनुसन्धान गरेर पीडकलाई कानुनी कारवाहीको दायरामा ल्याउने, दोस्रो आफैतिर लागेको मिलापत्रको अभियोगको पनि छानबिन गर्ने । आफूतिर सोझिएको आरोपलाई प्रहरीले नजरअन्दाज गर्न मिल्दैन ।

पछिल्लो समयमा बलात्कारविरुद्ध अझै कडा कानुनको वकालत भइरहेको छ । मृत्युदण्डकै माग पनि उच्च भइसकेको छ । एसिड आक्रामणकारीलाई कारवाही गर्न कडा कानुन आइसकेको छ । तैपनि यस्ता जघन्य आपराधिक घटना कम भएका छैनन् । यसमा खासगरी दुईवटा पक्षले मुख्य रुपमा काम गरेको छ । राजनीतिक संरक्षणमा मौलाएको दण्डहीनता र सुरक्षाको कमजोर अवस्थाले यस्ता घटना लगातार बढीरहेका छन् । केही दिन अघि मात्रै बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ । त्यो घटना सेलाउन नपाउँदै मोरङमा पनि उस्तै प्रकृतिको घटना भएको छ । यस्तो अवस्थालाई देखेको नदेख्यै गर्ने सरकारका प्रधानमन्त्री र गृहमन्त्री सडकमा उत्तेजक अभिव्यक्ति दिँदै हिँडिरहेका छन् । शान्ति सुरक्षा कायम गर्ने दायित्व भूलेर जब सरकार आफै सडकमा रत्यौली खेल उद्यत हुन्छ, मुलुक असुरक्षाको दलदलमा भासिन्छ । अव्यवस्था उचाईमा पुग्छ । अहिले ठ्याक्कै त्यस्तै भइरहेको छ ।

हत्या, अपहरण र बलात्कार जस्ता घटनाले समाजलाई लामो समय विक्षिप्त बनाउँछन् । निर्मला पन्त प्रकरणमा यदि वर्तमान सरकारले समयमै उक्त घटनामा तदारुकता देखाएको भए दण्डहीनताको यो रुप देखा नपर्न सक्थ्यो । यसर्थ मोरङको घटनालाई प्रहरीले सामान्य नठानी अनुसन्धान गर्नुपर्छ । एउटा घटनामा हुने लापारबाही अर्को त्यस्तै घटनाका लागि निम्ता बन्ने गरेको तथ्यलाई सरकारले गम्भीर रुपमा लिन आवश्यक छ ।

मङ्गलबार, २७ माघ, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर