रमेश उपाध्याय
२०७७ पुस ५ गते संविधानप्रति जालसाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धेरै नेता, कार्यकर्ता र समर्थकमध्ये धेरै अलमलमा छन् । कतिपय आफ्नो आत्माले नचाहँदा नचाहँदै पनि ओलीको पक्षमा गएका छन् । कोही पद पाउन, कोही सरकारी सुविधा लिन, कोही चाहिं ओलीको हावा गफ पत्याएर त्यता गएका देखिन्छन् ।
पार्टी विभाजनले औपचारिकता नपाएकोले अहिले मिडियाले नेकपा (प्रचण्ड–माधव समूह) र नेकपा (ओली समूह) भनि सम्बोधन गर्ने गरेको छ । नेकपा विभाजन भएपछि दुई वटा दलको निर्माण भएको छः पहिलो मुल नेकपा नै हो जसको अध्यक्षता प्रचण्ड र माधव नेपालले पालैपालो गर्दछन् भने अर्को नेखपा अर्थात् नेपाल खड्ग पार्टी जसको अध्यक्षता खड्गप्रसाद ओलीले गर्दछन् । नीति, सिद्धान्त, विधि विधानका पक्षधर नेकपाका दुईतिहाईभन्दा बढी नेता कार्यकर्ता मूल नेकपामा छन् । तर, कम्युनिष्टको नाममा सामन्ती संस्कृतिलाई मलजल गर्ने र खड्गप्रसाद नाम गरेका व्यक्तिलाई पूजा गर्न रुचाउने केही नेता कार्यकर्ता नेखपातिर छन् ।
खड्गप्रसादको पार्टीलाई नेखपा भन्नुपर्ने केही कारणहरु छन् । नेखपाको एउटा विशेषता हो– कम्युनिष्ट पार्टीलाई व्यक्तिको इच्छामा चलाउनु । एकीकरणपछि नेकपाको एक अध्यक्ष (अर्का प्रचण्ड हुन्) बनेका खड्गप्रसादले विभाजन अघिको सिंगो नेकपालाई नै नेखपा बनाउने प्रयत्न गरेका थिए । उनले “पार्टी मेरो एकलौटी आदेशमा चल्छ” भन्ने ढंगबाट काम गरेका थिए । त्यसैले त नेकपाको विधान अनुसार कुनै पनि तहको बैठक समयमा बसेनन् । बैठकको बोलाउन कसेले भन्यो भने किन चाहियो बैठक भन्थे । बैठकै मात्र बसाल्न नेता कार्यकर्ताको तीव्र दवाव र लिखित निवेदन आवश्यक पथ्र्यो । त्यसरी माग गर्दा पनि विधानले तोकेको समयमा बैठक बसाउन सहमति दिएनन् । बैठक बसिहाल्यो भने पनि मनलाग्दा उपस्थित हुने, नत्र नआउने गरे ।
नेखपाको अर्को विशेषता भनेको समकक्षी र फरक मत राख्नेलाई अपमान र अवहेलना गर्र्नु हो । खड्गप्रसादले पार्टीका सम्मानित नेता कार्यकर्ताको कतिसम्म अपमान गरे भने देश दौडाहा गर्ने सामथ्र्य भएपनि पार्टीको बैठक नेकपाको कार्यालयमा होइन, आफ्नो निवास बालुवाटारमा राख्थे । पार्टीका संस्थापक र पार्टी निर्माण गर्न ज्यानको बाजी लगाएका नेतालाई घण्टौं कुराएर हैरान पार्थे । गणतन्त्र ल्याउन गरिएको जनयुद्धको अपमान गर्थे । त्यसैले हरेक सचेत नेता कार्यकर्ताले यो प्रवृत्तिको विरोध गरे । उनीहरुले नेकपालाई नेखपा अर्थात् नेपाल खड्ग पार्टी बन्न दिएनन् ।
नेखपाका नेता खड्गप्रसादले पार्टीका नेता कार्यकर्ताको मूल्यांकन उसको इतिहास र योगदानका आधारमा होइन, केपी बा भनेको आधारमा गरे । इमान्दारीताका आधारमा होइन, गुटलाई सहयोग गरेको, आफ्नो वरपर घुमेको र नजराना चढाएको आधारमा गरे । राजाले हुकुम प्रमाङ्गीबाट पद बाँडेजस्तै पद बाँडे । त्यसैले त झलनाथ खनालजस्तो पार्टीका संस्थापक नेताको तुलनामा खनालकै कार्यकर्ता विद्या भण्डारीलाई राष्ट्रपति बनाए । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनुको साटो शाक्यकै कार्यकर्ता डोरमणी पौडेललाई बनाए । पार्टीका केन्द्रीय सचिव भीम आचार्यको सट्टा केन्द्रीय सदस्य शेरधन राईलाई मुख्यमन्त्री बनाउन पहल गरे । भारतको राजदूत नेकपाका बुद्धिजिवी मध्येबाट बनाएनन्, कांग्रेसी नेता निलाम्वर आचार्यलाई बनाए ।
नेखपालाई कुन्दन अर्यालजस्तो सालिन प्रेस सल्लाहकार पचेन, सूर्य थापाजस्ता तिखा काँडा मात्र चाहियो । त्यस्तो कार्यशैलीको डटेर विरोध गरेर सिंगो नेकपालाई नेखपा अर्थात् नेपाल खड्ग पार्टी बन्नबाट प्रचण्ड–माधव पक्षले जोगायो । नेकपा संविधान र कानूनप्रति छलछाम वा धोका रुचाउँदैन तर, खड्गप्रसादको नेखपालाई देशको संविधान, विधि, प्रक्रिया, नैतिकता आदिको केही मतलव छैन । स्पष्ट बहुमतको सरकारलाई प्रतिनिधिसभा विघटन गर्न संविधानले पूर्णरुपमा रोक लगाएको कुरा थाहा पाउँदा पाउँदै विघटन गराए । नेकपाको विरोधका बावजुद संविधानँग बाझिने गरी दुई पटक संवैधानिक परिषदको ऐनलाई अध्यादेशबाट संशोधन गराए । नेकपाको बैठकमा “संवैधानिक परिषदको अध्यादेश फिर्ता लिन्छु, कुनै पनि नियुक्ति गरेको छैन” भनि बोले । तर, अध्यादेश फिर्ता लिएनन्, नियुक्ति पनि गरिछाडे । सबै क्षेत्रका नागरिकबाट त्यसको आलोचना भयो तर, मतलव गरेनन् । त्यसरी नियुक्त भएका व्यक्तिलाई संसदीय सुनवाईबिनै २०७७ माघ २१ गते शपथ ग्रहण गराए । खड्गप्रसादको नेखपालाई संविधान, जनमत, लोकतन्त्रजस्ता विषयमा कुनै सरोकार छैन । देश कोरोनाको महामारीसँग जुधिरहेको बेला नेखपालाई सांसद अपहरण गरेर अर्को पार्टी फुटाउन हतार हुन्छ । अनैतिकताको पराकाष्ठा !
मुल नेकपामा कुनैपनि कार्यकर्ताले आफ्ना नेताको गलत कार्यका विरुद्धमा स्वस्थ आलोचना गर्नसक्छ । उसलाई वाक स्वतन्त्रता छ । पार्टीका नेता भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई, हरिबोल गजुरेलले प्रचण्ड वा माधव नेपालको आलोचना गरेका छन् । तर, उनीहरुमाथि कुनै कारवाही भएको छैन । तर, खड्गप्रसादको नेखपामा कार्यकर्ताको हैसियत दास बराबर मात्र छ । आफूलाई कानूनको दिग्गज ठान्ने सुवास नेम्वाङजस्तो वकिल नेखपामा सत्य बोल्ने साहस गर्दैनन् । प्रदिप ज्ञवालीजस्तो बुद्धिजीवी कहलाईने नेता खड्गप्रसाद रिसाए भने वित्याँस पर्ला भनि विवेक बन्धक राख्छन् । मन्त्रिपरिषदको बैठकमा जुन जुन मन्त्रिहरुले प्रधानमन्त्रि खड्गप्रसादको गलत कामको विरोध गरे, ति मन्त्रीहरु अहिले नेकपामा छन् । दासत्व स्वीकार्ने, पद र पैसालाई महत्व दिनेहरु मात्र नेखपामा छन् । नेकपामा जनवादी केन्द्रियता छ भने नेखपामा खड्ग केन्द्रियता । खड्गप्रसादले यो सवालमा पनि सग्लो नेकपालाई नेखपामा रुपान्तरण गर्न सकेनन्, प्रयास त गरेका थिए ।
नेकपा जे बोल्छ, त्यही गर्छ । तर, नेखपाका नेता खड्गप्रसाद र उनका अनुयायी दोहोरो चरित्र प्रदर्शन गर्छन् । एकातिर भ्रष्टाचार गर्दिन, हुन पनि दिन्न भन्छन् । तर, आफै भ्रष्टाचारीलाई जोगाउँछन् । सत्तरी करोड काण्ड, यति काण्ड, ओम्नी काण्ड आदि कुनै पनि काण्डको छानविन नहुँदै नेखपाका अध्यक्ष भन्छन्–उनीहरु सबै निर्दोष हुन् । राष्ट्रियताको सवालमा नेखपा नक्कली कुरा गर्छ । नेकपाको दवावपछि मात्र कालापानी, लिपुलेक र लिम्पीयाधुरा सहितको नक्सा प्रकाशन हुन्छ तर नेखपा त्यसको जस लिन खोज्छ । नयाँ नक्सासहितको पुस्तक छापिन्छ तर नेखपा वितरण गर्दैन । नेपाल र नेपालीको इज्जतमाथि धावा बोल्ने भारतका पत्रकारसँग अन्तर्वार्ता दिदै खड्गप्रसाद सगौरब झुठ बोल्छन्, “भारतसँग नेपालको केही समस्या छैन ।” राष्ट्रवादको कुरा गर्ने नेखपा नेताहरु एमसीसीमा राष्ट्रघात हुन लागेको कुरामा वास्ता गर्दैनन् । यस्तो चरीत्र बोकेको नेखपाले राष्ट्रियताको सवालमा नेकपालाई पनि त्यस्तै बनाउन खोज्यो तर सफल भएन ।
खड्गप्रसादका गलत सोच र व्यवहारलाई सिरोपर गर्दै हिंडेको भए नेकपा विभाजन हुने थिएन तर नेकपा चाहिं पूर्णरुपमा नेखपामा बदलिने थियो । धन्न ! प्रचण्ड, माधव र अरु नेता कार्यकर्ताले नेकपालाई नेखपा हुन दिएनन । त्यसैले जो जो कमरेडहरु भ्रमवश नेखपामा जानु भएको छ वा जाने विचार गर्नु भएको छ, अथवा ढुलमुल हुनुहुन्छ, बेलैमा बुद्धि पु–याएको राम्रो । तपाईहरु नेकपामा नै रहनुुहोस किनकी खड्गप्रसादले बनाएको नेखपा राष्ट्र, राष्ट्रियता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताको लागि होइन, आफ्नो नीजि इच्छा पूर्ति गर्न मात्र हो । विधि विधान र संविधानलाई कुल्चने, सामुहिकतालाई नरुचाई व्यक्तिवादलाई प्रश्रय दिने, कमरेडलाई दासको व्यवहार गर्ने, राजनीतिलाई फोहोरी विषय बनाउनेजस्ता कार्य गर्ने खड्गप्रसादको नेखपामा लागेर उनको सहयोगी कोही पनि बन्नु हुँदैन ।