डा. बाल कृष्ण साह
नेपाल सरकारले गत बुधबारदेखि नै अधिराज्य भरि एकै साथ कोरोना उपचारमा खटिएका फ्रन्टलाईनर स्स्वास्थ्यकर्मीहरुलाई कोरोना बिरुद्धका खोप ‘कोभिडशिल्ड’ दिन सुरु गरेको छ । यसै सन्दर्भमा बरिष्ठ मानसिक रोग बिशेषज्ञ डा. नबराज कोईराला आफ्नो फेसबुक वालमा लेख्छन् ‘नखाउ भने दिनभरीको सिकार, खाउ भने कान्छो बाउको अनुहार भने कै यो कोभिडशिल्ड भ्याक्सिन हो कि क्या हौं ? सा¥है दुबिधामा परियो लगाउ कि नलगाउ’ । धेरै स्वास्थ्यकर्मीहरुलाई यस्तो द्वविधा भएको थियो । फ्रन्टलाईनमा काम गरेर, कोरोना संक्रमण भएर निको भई सकेका स्वास्थ्यकर्मीहरुलाई पनि कोभिडशिल्ड लगाउ कि नलगाउ भएको थियो । यस्तो डर र द्वविधामा पनि बेलायतको अक्सफोर्ड एस्ट्राजेनेकाले विकाश गरेको तथा भारतको सेरम ईन्सटिट्युट अफ ईन्डियाले उत्पादन गरेको कोभिडशिल्ड पहिलो दिनमा नै ९ हजार ८४ स्वास्थ्यकर्मीहरुले लगाएका छन् ।
खोप उत्पादनका लागि निकै समय खर्चिनु पर्छ । ईतिहासमा नै सम्भवतः सबै भन्दा चाडो अर्थात करिब १ बर्ष मा नै कोरोनाको बिरुद्धमा विभिन्न खोपहरु उत्पादन भएको छ । कोरोना बिरुद्धको खोपहरु मध्ये कोभिडशिल्ड सबैभन्दा सस्तो र समान्य फ्रिजमा नै भण्डारण गर्न सकिने खोप हो । त्यसैले यो कम आय भएका मुलुकहरुमा बढि प्रयोगमा आउने विश्वास लिईएको छ । सस्तो भए पनि यो ६२ देखि ९० (औषतमा ७०) प्रतिसत प्रभावकारी रहेको छ । सबै भन्दा महङ्गो फाईजर तथा मोडर्ना कम्पनीका खोपहरु भने ९५ प्रतिसत रहें पनि सो भण्डारण गर्न माईनस ७० डिग्री सेन्टिग्रेट चाहिने भएकाले हाम्रो जस्तो मुलुकहरुमा भण्डार देखि नै अप्ठयारो हुने अनुमान गरिएको छ ।
कुनै पनि खोपले हाम्रो शरिरको सो रोग बिरुद्धको प्रतिरोधात्मक शक्तिको विकाश गर्ने हुन्छ र फलतः सो रोगले हामीलाई संक्रमण गर्न नसक्ने हुन्छ । खोपमा सम्बन्धित रोगको नै जिवाणु वा जिवाणुको कणहरु सिमित मात्रामा प्रयोग गरिएको हुन्छ, जसले मानिसको सो रोगको बिरुद्धमा एन्टिबडी बनाउन मद्दत गर्छ तर संक्रमण गर्न सक्दैनन् । त्यसैले यो खोप लगाए कोरोनाको संक्रमण वा अझ खतरा संक्रमण हुन्छ भन्ने त्राश रहेको थियो । कोरोनाका खोप नयाँ रहेको तथा यस खोपको अध्ययनहरुको एक बर्ष पनि भई नसकेकाले खोप लगाउन धेरैलाई डर हुनु स्वभाविक थियो । कतिले त नेपाललाई भारतले फ्रि मा दिएको परिक्षणका लागि होला भन्ने पनि अनुमान गरेका थिए । तर धेरैलाई यसमा विश्वास रहेको देखियो । धेरै चिकित्सकहरुले खोप लगाउन पाएकोमा भाग्यमानी महशुष गरेको समाजिक सञ्जालहरुमा अभिव्यक्ति दिएका छन् । बरिष्ट चिकित्सकहरुले खोप लगाएको फोटाहरु समाजिक सञ्जालमा देखिन थाले । कति स्वास्थ्यकर्मीहरु यिनै खोप लगाएका फोटाहरुबाट पनि प्रभावित भए । आफ्नो फोटो पनि समाजिक सञ्जालमा राख्ने चाहनाले दोस्रो दिन देखि खोप लगाउनेहरुको संख्यामा उल्लेखनिय बृद्धि भएको देखिन्छ । कोशी कोभिड अस्पतालमा रहेको खोप केन्द्रमा पहिलो दिन १ सय १० जनाले मात्र खोप लगाएका थिए भने तेस्रो दिन खोप लगाउनेको संख्या ३ सय ८० पुगेकोले यस कुरालाई पुष्टि गरेको छ ।
समान्यतया जुनसुकै खोपले पनि हाम्रो रोगप्रतिरोधात्मक प्रणालीमा काम गर्ने भएकाले तत्कालै केहि ईन्फलामेशन अर्थात असरहरु हुन्छन् । बच्चाहरुलाई पनि खोप दिदा ज्वरो आएको, धेरै रोएको, सुई दिएको ठाउ रातो डल्लो परेको देखेका छौ । त्यस्तै कोभिडशिल्ड लगाए पछि पनि केहि ईन्फलामेशन हुनु स्वाभाविक हो । यो खोप लगाए पछि करिव १० प्रतिसतलाई हाथ दुख्ने, टाउको दुख्ने, जाडो भएर ज्वरो आउने, जिउ दुख्ने, आलश्य हुने जस्ता लक्षण देखिन सक्छ भन्ने थियो । मोरङ्ग स्वास्थ्य कार्यालय प्रमुख शुरेस मेहताले ३ दिनमा मोरङ्गमा मात्र २ हजार भन्दा बढिले यो खोप लगाए पनि कसैलाई निकै गा¥हो भएको जानकारी नरहेको बताए । ‘केहिलाई सामान्य ईन्फलामेशन भएको छ, तर सिभियर रियाक्सन भएको छैन’ मेहताले बताए । खोप लगाएको ९–१० घण्टा पछि बेस्कन टाउको र जिउ दुखेर गा¥हो बनाएको केहि चिकित्सकहरुले बताएको छ । कति चिकित्सकले यसतो हुन सक्ने अनुमान रहेकाले पहिले नै पारासिटामोल औषधि सेवन गरेको र अरुलाई पनि त्यसो गर्न समाजिक सञ्जाल मै सुझाव दिएका छन् । खोप उत्पादक सेरम ईन्डियाले केहिलाई पेट दुख्न सक्ने, पसिना आउने, भोक नलाग्ने जस्ता असर पनि देखिन सक्ने भने तापनि त्यस्तो अहिले सम्म नेपालमा कसैमा देखिएको छैन ।
खोपको असर सामान्य रहे पनि गर्भवती, बच्चालाई दुध खुवाउदै गरेकी आमाहरु र १८ बर्ष पार नगरेकाहरुलाई यो लगाएको छैन । कोभिडशिल्डले गर्भवती, गर्भ, वा बच्चालाई असर गर्छ भनेर नलगाएको चाहि होईन । यस कोभिडशिल्ड खोपको अध्ययन गर्भवती तथा बालबालिकाहरुमा नगरिएकोले उनीहरुमा लगाउने अनुमती नपाएको हो । त्यसैले गर्भको योजनामा रहेका महिलाहरुले यो लगाउन कुनै बाधा नहुने विश्वास गरिएको छ । त्यस्तै कोरोना संत्रलमण भएको बेला यो खोप लगाउन मिल्दैन । यस्ता संक्रमितहरुले पिसिआर नेगेटिभ भएको २ महिना पछि मात्र खोप लगाउन मिल्छ । त्यस्तै कुनै किसिमका रगतका ‘बिलिडिङ्ग डिस्अडर’ का बिमारीहरुले कोभिडशिल्ड खोप लगाउन मिल्दैन । तर अन्य दिर्धरोगीहरु जस्तै मुटुका रोगी, मधुमेहका रोगी, मृगौलाका रोगी तथा एचआईभी संक्रमितले समेत कोभिडशिल्ड खोप लगाउन मिल्ने बताएको छ ।
छोटो समयमा संसारलाई त्राशित र पिडित बनाएको कोरोनालाई अब यी खोपहरुलाई ढाल बनाएर विजय पाईन्छ कि भन्ने ठुलो आशा पलाएको छ । यसको उत्पादनको तिब्र रहेकाले सबैलाई खोप लगाउन सकिने र चाडै नै कोभिड पुर्वको संसारमा फर्किने कल्पना धेरैले गर्न थालेका छन् । कोभिडशिल्डले सबै द्वविधालाई चिर्न सफल देखिएको छ ।