पशुप्रिय प्रधानमन्त्रीलाई सम्मान गरौं

 गोकुल पराजुली

एनजिओहरु सक्रिय भएको बेला पशु अधिकारका बारेमा बाक्लै कुरा उठ्थे । तिनका स्रोत सुक्दै गएपछि पशुका सवालमा मन्दी आयो । अभियान्ताहरुले सकेको गरेकै छन् तर पशुका बारेमा उनीहरुका बोली मधुरोमात्र सुनिन्छ । पछिल्ला केही दिनयता पशुका बारेमा फेरी चर्चाहरु बढेका छन् । छायामा परेका पशुका नाम र विशेषताहरु उजागर भइरहेका छन् । यसले सायद पशुहरु खुसिले नाचिरहेका होलान् ।

हाम्रा प्रधानमन्त्री पशुप्रिय लाग्छन् । पशुको नाम लिदाँ, तिनका विशेषतालाई कथनी गर्दा उहाँमा बेग्लै उर्जा देखिन्छ । त्यसैले उनी पशुपक्षीका निकै कुरा गर्छन् । उनका प्राय भाषणहरुमा कतै न कतै बिम्बको रुपमा पशुको स्थान सुरक्षित नै हुन्छ । त्यसैले उनी पशुप्रिय हुन् भन्दा अत्युक्ति नहोला ।

२०६६ तिरको कुरा होला उनले भनेका थिए ‘ काठमाण्डौमा रिसाएको बिरालो रोल्पा पुगेर खाँबो चिथोर्छ त म के गरुँ ?’ प्रचण्डका लागि उनले बिम्बका रुपमा बिरालो सम्झेका थिए ।
नेकपा एमालेको आठौं महाधिवेशन उद्घाटनका दिन प्रचण्डले शुभकामना भाषण गरेर झलनाथ खनालको पक्षमा माहौल बनाइदिएपछि ओलीले फेरी अर्को पशुको स्मरण गरेका थिए । भने ‘काकाको खेतमा लहलह मकै छ, आफ्नोमा खडेरी पर्याछ, त्यसमाथि बाँदर पल्केको छ ।’ त्यहाँ उनले बाँदरको स्मरण गरेका छन् । यि त पुराना कुरा भए । आज भोली पनि प्रधानमन्त्रीले पशुपक्षीदेखि किटपतङ्गको स्मरण खुबै गर्ने गरेका छन् ।

दोश्रो पटक प्रधानमन्त्री भएपछि उनले पहिलो पटक लिएको जीवको नाम अरिंगाल हो । कार्यकर्तालाई विपक्षीका विरुद्ध अरिंगाल झैं जाइलाग्न निर्देशन दिएका थिए उनले तर मान्छे अरिंगाल हुनेकुरो थिएन भएनन् । पार्टी भित्रको विवाद बढेपछि यसपल्ट पनि उनले बाँदरको सम्झना गरेका छन् । ‘घरपनि नबनाउने भएको घरपनि भत्काउने काममा उहाँहरु लाग्नुभयो’ भनेर ।

आजभोलि प्रधानमन्त्रीलाई दुःख छ । उमेरले ७० लाग्ने बेलामा कालो जुँगा पलाउनाले दुःख बेसाउनु परेको हो । जुँगा कालो भएपछि बसिखान लाज हुने नै भयो । त्यसका लागि परिश्रम गर्नुपर्यो । दिनरात नभनी, पटकपटक मृगौला फेरेको मान्छेले गरेको परिश्रम नदेखि स्वाट्टै पार्टीबाट हटाइदिएपछि उनलाई झोंक नचल्ने पनि त हुँदैन । आखिर उनी पनि मान्छे नै हुन् । पार्टीबाट हटाएपछि उनले फेरी एउटा पशुलाई सम्झिए । ‘मच्छरले हात्तीलाई खाए जस्तै हो मलाई हटाउनु ।’

पार्टीको बहुमत सदस्यले उनलाई समर्थन नगरेपछि १५०० जति नयाँ केटा भर्ना गरेर नयाँ पार्टीको अभ्यास थाले । केटाहरुलाई प्रशिक्षण दिएर उडान भर्न लगाउनु थियो । पटक पटक पशुको सम्झना गर्ने प्रधानमन्त्रीले बेलाबेलामा किरा फट्यांग्राको स्मरण गरेका हुन्छन् । चराचुरुङ्गी रिसाउलान् भन्ने पीर उनमा सदैव हुन्छ । त्यसैले यसपटक चरावर्गको स्मरण गर्ने निष्कर्शमा प्रधानमन्त्री पुगे । अनि एउटा उड्न सक्ने चरोको सम्झना गरे । भने ‘लाटाकोशेराहरु घाम लागेको ठाउँमा टिक्न सक्दैनन् ।’

केही दिन अघि मात्र प्रधानमन्त्रीले झापातिरको तिल्के गोरुको सम्झना गरे । बाल्यकालमा झापामा बस्तुभाउ हेरेरै जीवन सुरु गरेकाले गाइबस्तुको नाम नजान्ने कुरा पनि भएन । तिल्के गोरुले उनको बहरलाई हानेको सम्झिएछन् । ‘फाँफाँ र फुँफुँ गर्दै आएको तिल्के गोरु यसपटक बहरसँग सिंग जोडाउन पुगेछ तिल्केको सिंग खुत्रुक्क भाँचियो, फर्केर हिड्यो ।’ बिम्बको रुपमा प्रचण्डलाई तिल्के गोरु सम्झिँदा यसपटक भने उनले आफुलाई बहर स्वीकारे । उनैले स्वीकारेको यो बहर पनि पशुवर्गमै पर्छ । तिल्के गोरु जोतिएर काँध खुइल्याएर परिपक्व भएको हुन्छ । तर, बहर आलोकाँचो हुन्छ । जोतेर फर्किदा बोल्नचल्न नसक्ने हुन्छ । मेलोमा कतिपटक बसेर नत्थी लगाउनु पर्छ, कतिपय बेला नाकमा नुनखुर्सानी हाल्नुपर्छ । यो हामी किसानी गरेका मान्छेले जानेकै कुरा हो ।

जे भएपनि प्रधानमन्त्री पशुप्रिय छन् । उनी दिनमा एकपटक पशुलाई नसम्झि बस्दैनन् । उनीबाट पशुअधिकारको कुरा गर्ने, पशुका पक्षमा अभियान चलाउनेहरुले सिकुन् । दिनमा एक पटक पशुका थरिथरी नाम र तिनका विशेषता वाचन गर्ने कुनै प्रधानमन्त्री देशले पाएको थियो ? उनी पशुहरुका पनि पशु हुन् । देवहरुका देव महादेव भएझैं । पशुहरुका पनि पशु उनी स्वयं पशुपति हुन् । हुन त उनले भर्खरै पशुपतिनाथको दर्शन गरे । पशुपति मृगमृगीणीको स्मृति पनि हो । पशुपतिमा सवालाख बत्ती बाले । पञ्चामृत पूजा गरे । त्यसैले मेरो आग्रह छ, प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपनि, जनताको अधिकार खोसेपनि, जनताले आफ्नै प्रतिनिधि मार्फत बनाएको संविधान च्यातेपनि उनले पशुवर्गका लागि धेरै गरेका छन् । त्यसैले उनलाई पशुपति स्वरुपमै स्मरण गरौं र भब्य समारोह गरी पशुहरुको पतिको रुपमा सम्मानपत्र अर्पण गरौं ।

बिहिबार, १५ माघ, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर