अनन्तराज न्यौपाने
राजा महेन्द्रका सामु आफ्नो शिर आधा इन्च निहुराएका भए बीपी कोइराला आजीवन प्रधानमन्त्री हुनसक्थे । ‘प्रधानमन्त्री हुनु त बिपीजस्तो’ भनेर राजा महेन्द्र आफ्ना नजिकका भाइभारदार र दरबारियासित भन्ने गर्थे रे । तर महेन्द्र बीपीलाई आफ्ना अङ्कुशमा राख्न चाहन्थे । आफ्नो निर्देशनमा बीपीले काम गरून् भन्ने ठान्दथे । यता स्वाभिमानी बिपीलाई राजाको धुपौरे हुने इच्छा थिएन । राजा बीपीलाई शिखण्डी बनाएर शासनसत्ता आफैँ चलाउन खोज्थे । बीपीलाई यो स्वीकार्य थिएन ।
उस बेलाका नेपाली काङ्ग्रेसका सभापति बीपी र आजका सभापति शेरबहादुर देउवामा आकाश–जमिनको अन्तर देखिन्छ । आजका शेरबहादुर प्रतिगमनकारी ओलीका मतियार भएर प्रस्तुत भइरहेका छन् । ओलीले देखाएको प्रधानमन्त्रीको सपनामा देउवा भुलिएका र बरालिएका छन् । प्रधानमन्त्री पदका लागि देउवाले आफ्नो पार्टीको आदर्श परम्परा, स्वाभिमान र लिगेसीलाई ज्ञानेन्द्रका पालामा पनि तिलाञ्जली दिएकै हुन् । यस पटक पनि त्यसरी नै गति छाड्न खोज्दैछन् ।
त्यसोत, माथिका रामचन्द्र पौडेलदेखि तलका केदार कार्कीसम्मले शेरबहादुरलाई खबरदारी गरिरहेकै छन् । तर काङ्ग्रेसले खड्गप्रसाद र शेरधनसित मिल्ने निर्णय ग¥यो भने त्यस पार्टीलाई विधिवत् विघटन गरिदिए हुन्छ । किनभने, नेपाली काङ्ग्रेस आजसम्म लोकतान्त्रिक मुद्दा, आदर्श, सिद्धान्त र विचारमा टिकेको दल हो । २०३३ सालमा बिपी कोइराला मेलमिलापको नीति लिएर प्रवासबाट नेपाल फर्कंदा कतिपय काङ्ग्रेसीले उनले राजासमक्ष आत्मसमर्पण गरेको लाञ्छनासमेत लगाए । तर त्यति अप्ठ्यारो परिस्थितिमा पनि बीपीले काङ्ग्रेसको आदर्श, सिद्धान्त र स्वाभिमानलाई जोगाएर नै राखे । तिन ताक बिपीले ‘न सङ्घर्ष न समर्पण’–को नीति लिँदा पनि काङ्ग्रेसीको शिर निहुरिएको थिएन । किनकि बीपीले काङ्ग्रेसका मुद्दालाई जतनसाथ बचाएर राखेका थिए ।
मूलतः राजनीति पद, प्रतिष्ठा र सत्तालाई केन्द्र बनाएर गरिनु हुँदैन । राजनीति जनतालाई केन्द्रमा राखेर मुद्दामा गरिन्छ । मानिलिऊँ भोलि काङ्ग्रेसले सङ्घीय सरकारमा ओली र प्रदेशमा शेरधनलाई साथ दियो, त्यस बेला काङ्ग्रेससित के मुद्दा बाँकी रहन्छन् ? आजको काङ्ग्रेसले ओलीको पुस ५ को कदमलाई असंवैधानिक भन्ने अनि भोलिपल्टै उनैसित मिल्न जाने हो भने दुई दिनको सत्ताको चकाचौँध त प्राप्त होला तर दुनियाँका नजरमा काङ्ग्रेसको हालत के होला ? २०४७ मा प्रजातन्त्रको पुनःस्थापना भएपछि पञ्चायत कालका एक मन्त्री बद्रीप्रसाद मण्डललाई कुनै पत्रकारले अब तपाईं के गर्नुहुन्छ भनेर सोधेका थिए । मण्डलले उत्तर दिएका थिए, ‘राजनीति मुद्दामा गरिन्छ । आजका दिनमा हामीसित कुनै मुद्दा छैन । त्यसैले अहिलेका लागि हाम्रो राजनीति पनि छैन ।’
कुरो स्पष्ट छ, जुन हालत २०४७ सालमा बद्री मण्डलले भोगेका थिए त्यही दुर्दशा २०७८ को काङ्ग्रेसको हुन बेर छैन यदि ओली र शेरधनसित मिलेर काङ्ग्रेस सत्तामा गयो भने । हातमा राजनीतिक मुद्दा नभएको दिन उसको राजनीतिक मृत्यु हुन्छ । देउवाको लाइन अहिले त्यही दिशातिर उन्मुख देखिन्छ ।
हुनत, स्थापना कालदेखि आजसम्म नेपाली काङ्ग्रेस एउटा लाइनले मात्र चलेको छैन । २०१७ साल पुस १ गते महेन्द्रको ‘कु’–पछि बीपी कोइराला लगायत हजारौँ नेता–कार्यकर्ता थुनामा रहे । बाँकी रहेका निर्वासनमा गए । यस बेला २०१८ सालमा सुवर्ण शमशेरले सशस्त्र आन्दोलन चलाए । बीपी २०२५ सालमा जेलबाट रिहा भएर प्रवासमा गएपछि सुवर्णले राजालाई सहयोग गर्ने नीति अख्तियार गरिसकेका थिए भने बीपी बनारसबाटै सशस्त्र क्रान्तिको नेतृत्व गर्न लागे । अर्कातिर जेलभित्रै रहेका किसुनजी शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनका पक्षमा थिए । तर तीन नेता तीनतिर अर्थात् तीन वटा लाइनमा हुँदा पनि उनीहरूले काङ्ग्रेसभित्रको लोकतन्त्रको दियो निभ्न दिएनन् ।
बीपीको २०३९ सालमा अवसानपछि काङ्ग्रेसमा नेतात्रय स्थापित भए– गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद । उस बेला ३९ देखि ४६ सालसम्मको कालखण्डमा पनि काङ्ग्रेस कुन बाटोमा जाने भनेर मतान्तर भइरह्यो । २०४१ सालको मध्यतिर गिरिजाबाबुलाई राजा वीरेन्द्रले भेटे । गिरिजाले पञ्चायत विफल भइसकेको कुरा राजासमक्ष दर्शाए र भने, प्रजातन्त्रको पुनःस्थापना आवश्यक छ । वीरेन्द्रले गिरिजालाई उपयुक्त विकल्प खोज्न प्रस्ताव गरे । यता गणेशमान र कृष्णप्रसाद सत्याग्रहको आन्दोलनको व्यापक तयारीमा थिए । उता गिरिजाबाबु विकल्पको खोजीमा तीव्र देश दौडाहामा थिए । कुरा स्पष्ट थियो, पञ्चायतको विकल्प बहुलवादमा आधारित संसदीय प्रजातन्त्रबाहेक केही हुन सक्तैनथ्यो । तर पनि गिरिजाबाबु भौँतारिइरहे । अन्ततः पकड गिरिजाप्रसादको भए पनि काङ्ग्रेस पार्टीले गणेशमान–कृष्णप्रसादको लाइन पास ग¥यो र सत्याग्रहको आन्दोलन सम्पन्न भयो । सत्याग्रहपछि पनि पञ्चायतका चुनावमा नेपाली काङ्ग्रेस जाने कि नजाने भनेर धेरै बहस र मतान्तर चलेका हुन् ।
यसरी काङ्ग्रेसमा विभिन्न कालखण्डमा विभिन्न लाइनहरू जन्मिँदै सेलाउँदै गए । तर कुनै नेताले आजका देउवाको जस्तो आत्मसमर्पणको भाषा बोलेनन् । बिपीले राजासित मेरो घाँटी जोडिएको छ भन्दा पनि आफूलाई माथि राखेर बोले । मेरो घाँटी काटिँदा राजाको पनि काटिन्छ भन्ने अर्थ थियो ।