जीवनकुमार अधिकारी
एकजना बृद्ध व्यक्ति हिँड्दै गर्दा लडेको खण्डमा, आज हामीले गर्व गरेर शक्ति भनिने, भविष्यमा देशलाई नै नेतृत्व गर्ने ल्याकत भएका कुनै पनि युवा/युवतीले, ती वयोवृद्धलाई उठाउदैनन् । केवल उनीहरुको आँखाले देख्छ । तर, मनलाई पटक्कै छुँदैन । भविश्यमा म पनि वृद्ध हुन्छु, मेरो पनि शक्ति क्षिण हुन्छ अनि कुनै पनि बेला मेरो स्थिति पनि ठिक यस्तै हुनेछ भन्ने कुरासम्म उनीहरु सोच्न सक्दैनन् ।
आज माध्यमिक शिक्षा पुरा गर्दै गरेका छोराछोरीका बाबुआमा आफ्ना सन्तानप्रति खुसी देखिदैनन् । उनीहरुले आशा गरे अनुरुपका सन्तान यिनीहरु नहुने भए भन्नेमा अभिभावकहरु चिन्तित देखिन्छन् । यी उमेर समूहका बच्चाहरुलाई आफ्नो मौलिक खानपान, मौलिक पोसाक, मौलिक रहनसहन मन पर्न छोडिसकेको छ । यिनीहरुको लवज अनि जीवनशैली पश्चिमी संस्कृतितर्फ ढल्किसकेको छ । निजी विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरिसकेका कयौं बच्चाहरुलाई त नेपालीमा कुनै अंक भन्यो भने नबुझ्नु आजको यथार्थ हो । उनीहरुलाई न त देशप्रेमको भावनाले छुन्छ न त पारिवारिक र सामाजिक प्रेमले नै ! प्रेम, भावना, दया, करुणा भन्ने कुरालाई यिनीहरु केवल एक शब्दावलीका रुपमा मात्र जान्दछन् । वास्तवमा भन्दा उनीहरु आफ्नो बेग्लै दुनियामा रमाईरहेका छन् ।
अब भनौं, हामी कहाँ जाँदै छौँ ? हामीले हाम्रो शिक्षालाई कुन दिशातर्फ लाँदैछौँ ? के हामी सहि बाटोमा नै हिँड्दैछौं त ? माध्यमिक शिक्षा भनेको आधारभुत शिक्षा हो । यो सम्पूर्ण शिक्षाको जग हो । कुनैपनि बच्चालाई भविष्यमा कस्तो बनाउने, उनीहरुलाई कहाँ सुरक्षित अवतरण गर्ने भन्ने कुराको निक्र्यौल नै यहि माध्यमिक शिक्षाले गर्दछ । वृहत अर्थमा भन्दा एउटा व्यक्ति पूर्ण व्यक्तिको रुपमा कस्तो बन्ने भन्ने निर्धारण शिक्षासँगै ऊ गर्वमा रहँदादेखि, उसको आमाले के सोचिन्, कस्तो आहार विहार गरिन् अनि उसको जन्म पश्चात उसले कस्तो पारिवारिक, सामाजिक, साँस्कृतिक वातावरण प्राप्त ग¥यो भन्ने कुराले निर्धारण गर्दछ । त्यसपश्चात उसको पहिलो विद्यालय आमा हुँदै शैक्षिक संस्थाबाट कस्तो संगत, संस्कार अनि वातावरण पायो भन्ने कुराले पनि एकदमै महत्वपूर्ण भुमिका खेल्दछ । त्यसैले माध्यमिक शिक्षा नै धेरै हदसम्म एउटा देशको भविष्य निर्धारक हुन्छ भन्ने कुरामा सायद दुईमत नहोला ।
तर, आज हामीले दिइरहेको माध्यमिक शिक्षामा नैतिकता खै ? संस्कार खै ? दया, माया, करुणा खै ? अध्यात्मिक ज्ञान खै ? हाम्रो आफ्नो माटोको सुगन्ध खै ? अनि नेपाली पन खै ? त्यसैले अबको माध्यमिक शिक्षामा केहि परिवर्तनहरु अत्यन्त जरुरी देखिन्छ । हाम्रो माध्यमिक तहको पाठ्यक्रममा केहि फेरबदल अबको अनिवार्य आवश्यकता बनेको छ ।
मुख्यतः तीनवटा तत्वहरु थप गर्न आवश्यक देखिन्छ । ती, नैतिकता अध्यात्मिकता र राष्ट्रियता हुन् । नैतिक ज्ञानले एउटा विद्यार्थीलाई बच्चादेखि नै नैतिक र अनैतिकबीचको भिन्नता सिकाउछ । समयसँगै नैतिकताका सिमाहरु परिवर्तन भईरहेको भान हुँदा ऊ आफू ठिक ठाउँमा उभिने हैसियत यहि नैतिक ज्ञानले नै प्रदान गर्ने हो । एउटा विद्यार्थीको उमेर बढ्दै जाँदा उसको चेतन मन र अवचेतनबीचको द्वन्द्वलाई सन्तुलन गर्न नैतिक ज्ञानविना कसरी सम्भव होला र ! त्यस्तै गरेर राष्ट्रियताको ज्ञानले देश प्रेमको भावनाका साथै राष्ट्रिय स्वभिमानको बारेमा सिकाउँछ ।
एउटा नागरिकले देशबाट आशा मात्र गर्ने कि आफूले नै देशलाई केहि दिने पनि भन्ने कुरा राष्ट्रियताको ज्ञानले नै दिने हैन र ? मैले सके भने देशलाई नसके पनि समाजलाई भने पक्कै केहि योगदान पु¥याउछु भन्ने भावना राष्ट्रियताको शिक्षाले नै त दिने हो । यसरी नै अध्यात्मिक ज्ञानले “वशुधैव कुटुम्बकम्” अर्थात विश्वका सम्पूर्ण मानव जाति मेरा बन्धुहरु हुन्, मैले कसैलाई आफ्नो निजी स्वार्थको लागि ढाँटछल गर्नुहुदैन, मेरो तन र मन जस्तो हो अरुको पनि त्यस्तै हो भन्नेकुरा सिकाउछ । मैले सकेसम्म सत्य बोल्नुपर्छ, शान्त हुनुपर्छ, कुनैपनि घटना परिघटनालाई तथस्त एवम् सम्यक दृष्टिकोण राख्नुपर्दछ । साथै एउटा व्यक्तिको रुपमा मेरा अनेक दायित्व र कर्तव्यहरु छन् भन्नेकुरा अध्यात्मिक ज्ञानले सिकाउँछ ।
यसका साथै हामीले हाम्रो शिक्षण पद्दतिमा पनि केहि परिवर्तनहरु ल्याउन आवश्यक देखिन्छ । हाम्रा पूर्वजहरुले शिक्षा ग्रहण गर्नका लागि गुरुकुल परम्पराको विकास गरेका थिए । त्यस परम्परामा शिष्यहरुले गुरुको सेवा गर्दै, समाजको भलो चिताउँदै, सामूहिकता र भावनात्मक सम्बन्ध बनाउँदै शिक्षा ग्रहण गर्ने गरिन्थ्यो । त्यस समयमा केवल शिक्षा मात्र नभएर एउटा व्यक्तिलाई सभ्य, असल बनाउन चाहिने सम्पूर्ण चिजहरु गुरुद्वारा प्रदान गरिन्थ्यो । एउटा व्यक्तिलाई सफल हुनैपर्छ भन्ने त्रासबाट मुक्त गरी असल चाँहि हुनैपर्छ भन्ने कुरा सिकाईन्थ्यो । किनभने असलपनलाई पछ्याउँदै सफलता पनि सँगै जाने नै त हो । यस प्रकारको शिक्षण विधि त्यसबेला अपनाईन्थ्यो जुन आज पनि त्यत्तिकै सान्दर्भिक छ । यसरी त्यस शिक्षण विधिलार्ई झिकेर आजको आधुनिक शिक्षण पद्दतिभित्र रहेका सकारात्मक पक्षहरुसँग मिलाएर एउटा नयाँ शिक्षण पद्दति बनाउन आवश्यक छ । जुन पद्दतिलाई हामीले आफ्नो भनेर गर्व गर्न सकौं अनि जसबाट आफ्नो माटोको सुगन्ध पनि प्राप्त होस् ।
यस प्रकारले अबको माध्यमिक शिक्षालाई हामीले एउटा नयाँ उचाईमा पु¥याउन आवश्यक छ । यस शिक्षामा,“सर्वे भवन्तु सुखिनः सर्वे शन्तु निरामयाः” अर्थात संसारका सम्पूर्ण प्राणीहरु सुखि र निरोगी रहुन् भन्ने भावलाई जोड्न अपरिहार्य छ । म होइन हामी भन्ने सामूहिक एकताको मन्त्रलाई मिसाउन आवश्यक छ । अबको शिक्षा यस्तो होस् कि एउटा व्यक्तिले विश्वका सबै मानिसहरु मेरा दाजुभाई अनि दिदिबहिनी हुन् भन्ने भावनाको विकास गरोस् । अबको शिक्षामा योग र साधना पनि अनिवार्य रुपमा मिसाउन आवश्यक छ । जसलाई अभ्यास गरेर पश्चिमी जगतसमेत लाभान्वित भईरहेका छन् । उनीहरुले नै योगलाई विश्वव्यापीकरण गर्न मद्दत गरिरहेका छन् । तर, विडम्बना योगको यो ज्ञान हाम्रै पूर्वजहरुले उत्पति र विकास गरेका थिए । त्यसैले अब हामी व्युँझन आवश्यक छ ।
अब सम्पूर्ण सरोकारवालाहरु एक पूर्ण, व्यवस्थित, वैज्ञानिक अनि सार्थक पाठ्यक्रम बनाउन आजैदेखि एकजुट होऔं ताकी हाम्रा सन्ततिहरुले यसै शिक्षाको माध्यमबाट संसार हाँक्न सकुन् । विश्वभरका विद्यार्थीहरुको शिक्षाको केन्द्र नेपाल बन्न सकोस् ।
– बेलबारी, मोरङ
jeevanadhikari.tu@gmail.com
धेरै महत्वपूर्ण कुरा अनि उत्कृष्ट लेख