बिमला पोखरेल
बिदाको दिन प्राय जसो घरमा ढिलो खाना खाने चलन छ । त्यसैले पुषको चिसो चिसो बिहानीमा शनिबार खाजाको खोजीमा म पनि यसो चोक तिर लागे भक्का पाइन्छ कि भनेर । तात्तातो भक्का र धनिया हालेको चटनीको स्वाद सम्झदै मुख रसाएर आउँछ । त्यसैले घरमा ल्याएको भक्का एकै छिनमा चट भए । भौगोलिक, जातीय, सांस्कृतिक विविधताको हाम्रो देश नेपालमा विभिन्न जाति विशेष खाद्य वस्तुमा समेत विविधता पाइन्छ।जाडोयामको शुरुवातसँगै पूर्वी तराइका चोक–चोक र गल्ली गल्लीहरुमा बिहानी पख र साँझ पखमा भक्का पकाएर बेचेको पाइन्छ । चामलको पिठोलार्इ निश्चित आकार दिएर पानीको बाफमा पकाइने रैथाने खाद्य पदार्थ हो भक्का । भक्का नरम हुने हुनाले बच्चा वृद्ध एवम युवा सबै वर्गमा लोकप्रिय छ । यसलाई आफूलाई मनपर्दो स्वाद अनुसार गुलियो वा नुनिलो पारी खाजाको रुपमा खान सकिन्छ । भक्का खाँदा पेट भरिने र स्वादिलो पनि हुनेहुँदा ग्राहक आकर्षित हुने गरेका छन् ।
पूर्वि तराइका सबैमाझ चिरपरिचित यो खाद्य पदार्थ विशेष गरी तराईमा बस्ने आदिवासी थारु र राजवंशी समुदायको परम्परागत तथा रैथाने खाजाको एउटा प्रकार हो । यी समुदायमा माघ महिनामा पर्ने चाड माघिमा मात्र बनाइने भक्का हाल आएर चोक तथा गल्लीहरुमा विक्री हुनथाले पछि महिलाहरुको लागि राम्रो आयस्रोतको बाटो बनेको छ। भक्काको व्यापार असोज महिनामा सुरु भएर फागुनसम्म चल्ने गरेको छ । सामान्यतया भक्कातातो बाफमा पकाइ तातातै खाइने हुनाले स्वास्थ्यका दृष्टिकोणले पनि भक्का सुरक्षित र स्वस्थ्यकर खानाको रुपका लिन सकिन्छ। तर धुलाम्मे सडकका पेटीमा तयार गर्दै गर्दा तयार गर्ने व्यक्ति र तयारी पश्चात भण्डार गरीने र पस्किने भाडा पनि स्वच्छ र सफा हुनु उतिकै जरुरी छ।
भक्का बेचेरै दैनिक ५०० देखि १००० रुपैयाँसम्म आम्दानी गर्न सकिने रहेछ। काठमाडौको पुरानो वानेश्वरस्थित भक्का हाउस व्यवसायिकरुपमा नै भक्काको विक्री गर्न भनि वि.सं. २०७४ चैत्र १० मा स्थापना भई संचालनमा आइरहेको छ । त्यहाँ विभिन्न स्वादमा ७ फरक–फरक प्रकारका भक्काहरु पाइँदा रहेछन् । स्वाद र आकार अनुसार भक्काको मूल्य रु. ४० देखि रु. १०० सम्म पर्ने रहेछ । उक्त भक्का हाउसबाट दैनिक न्यूनतम रु.५,०००।– देखी रु. २७,०००।– सम्मको भक्का विक्री हुने कुरा संचालक विवश काफ्लेले बताउनु भयो ।
यसरी व्यवसायीकरुपमा नै हाम्रा परम्परागत रैथाने खाद्य पदार्थको बिक्री वितरण भएको देख्दा, करीब आज भन्दा १२ वर्ष पहिले मैले मेरो स्नातक अध्ययनका क्रममा गरेको अध्ययनको विषय “हाम्रो रैथाने भक्काको रेस्टुरेन्ट सम्म प्रर्वद्धन”ले आजको दिनमा आएर केहीहदसम्मको सार्थकता पाएकोमा देख्दा खुसी लागेको छ।
हुन त भक्का जस्तै चामलबाट तयार गरिने परिकार एसियाका विभिन्न देश चीन, भारत, फिलिपिन, कम्बोडिया, भियतनाम, जापानलगायत देशहरुमा खाने प्रचलन रहि आएको छ। ती देशहरुमा पनि चामलको पिठोलाई विभिन्न आकार दिई खाद्य पदार्थ तयार गरि विभिन्न चाडपर्वहरुमा खाने प्रचलन रहेको पाइन्छ । नेपाल बाहेकका अन्य मुलुकहरुमा भक्का जस्तै चामलको पिठोबाट किन्वन गरेर र किन्वन नगरीकन तयार पारिएको खाद्य पदार्थलाइ सामान्यतया राईस केक भन्ने गरिएको भएता पनि देश विशेष आ–आफ्नै नाम रहेका छन् । चामलको पीठोबाट तयार गरीने यो परिकार चीनमा निएन्गावो, टाङ्गयूयान, इर्कूइ, श्रीलंका तथा भारतमा पिठ्ठा, इड्ली, फिलिपिन्समा एम्पाउ, किपिङ्ग, पुसो, बिको, इन्डोनेसियामा बुर्सा, लोङ्गटोङ्ग, जापानमा मोचि, सेन्बिइत्यादि नामबाट चिनिन्छ । त्यहाँ पाइने यस्ता परिकारहरुमा फलफूल, दाल, रेसादार तरकारी, गुलियो पदार्थ (गुण, ह्वाइट सुगर, ब्राउन सुगर, मह आदि)को समिश्रण पाइन्छ । यसरी तयार भएको खाद्य वस्तु पूर्ण खाना हुन्छ अर्थात हाम्रो शरीरलाई चाहिने विभिन्न पोषकतत्वहरुको परिपूर्ती एउटै खाद्य पदार्थबाट हुन्छ।
हाम्रो देशमा पाइने भक्का सामान्यतया सादा हुन्छ। यसको जलांश ३८ देखि ४२ प्रतिशत रहेको हुन्छ। त्यसैकारणले यसलाई भण्डारण गरेर लामो समयसम्म राखी खान सकिँदैन्। चामलको पिठोमा पाइने सम्पूर्ण पोषकतत्वहरु भक्कामा पाइन्छ। भिटामिन ए र सीको शून्य उपस्थिति रहने भक्कामा चिल्लो पदार्थको उपस्थिति न्यून रहन्छ भने ८० प्रतिशत कार्बोहाइड्रेट पाइन्छ । अन्य पोषक तत्वहरुमा राइबोफ्लाबिन, नियासिन, फसफोरस, म्याग्नेसियम, जिङ्क र न्यूनमात्रामा आइरन पाइन्छ । चामलको पिठोसँगै अन्य खाद्य पदार्थहरुको समिश्रण गर्नसके भक्कालाई अझबढी स्वास्थ्यकर र पूर्ण खानाको रुपमा विकास गर्न सकिन्छ।
हिंजोसम्म कुनै जाति वर्ग र चाडवाड विशेषमा मात्र सीमित हाम्रो रैथाने खाद्य वस्तुले आज व्यवसायिकताको मोड लिएको छ । यस्को वैज्ञानिक ढंगबाट व्यवसायिकिकरण र प्रचार प्रसार गर्नु आजको आवश्यकता हो । जस्लाई पुरा गर्नु हाम्रो जिम्मेवारी हो । जाडोको मौसम बिहानको चिसो चिसो बातावरणमा तपाइपनि भक्काको स्वाद लिने हो की ?