प्रदेश १ः नेकपा संसदीय दलको नेतामा आचार्य

विराटनगर । प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईलाई उहाँकै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलबाट बहुमत सदस्यहरुले हटाएर भीमप्रसाद आचार्यलाई दलको नेता छानेका छन् ।

नेकपाको संसदीय दलका ६७ सदस्यमध्ये ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर आचार्यलाई चयन गरिएको पत्र बिहीबार प्रदेशसभामा दर्ता भएको छ ।

नेकपा संसदीय दलको नेता परिवर्तन गर्न यसअघि प्रदेशसभाका ३६ सदस्यले उपेनता टंक आङ्बुहाङलाई पत्र बुझाएका थिए । पत्र प्राप्त भएपछि आङ्बुहाङले पुस १९ गते संसदीय दलको बैठक बोलाउनुभएकोमा मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टिकरण सोधेपछि बुधबार विहान नै आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाईएको थियो ।

बहुमत सदस्यको अविश्वास प्रस्ताव आएपछि दलको नेताको हैसियतमा कुनैपनि काम नगर्न सुचित गरेको भएपनि मुख्यमन्त्रीले स्पष्टिकरण सोध्ने र सांसदलाई धम्क्याउने काम गरेकोले आकस्मिक रुपमा दलको बैठक बोलाएको नेता आङ्बुहाङले जानकारी दिनुभयो । बुधबार विहान ९ बजे बसेको बैठकले राईलाई पदमुक्त गरेर आचार्यलाई दलको नेतामा चयन गरेको उहाँको भनाइ छ ।

दलका उपनेता टंक आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा पुगेर दलको नेताबाट वर्तमान मुख्यमन्त्री तथा आफ्नो दलका नेता राईलाई बहुमत सांसदहरुले निष्कासन गरेको पत्र दर्ता गराउनुभएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभामा नेकपाको दलको नेता परिवर्तन भएको जानकारी पत्र दर्ता भएको उहाँको भनाइ छ ।

दललको नेताबाट हटाएको पत्र मुख्यमन्त्रीलाई पनि पठाएको नेकपाका सांसदले बताएका छन् । यसअघि गत आइइतबार मुख्यमन्त्री राईविरुद्ध संसदमा नेकपाकै ३७ जना सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरेका थिए । सोही दिन नेकपा संसदीय दलको नेताबाट पनि उनलाई हटाउन ३६ जना सांसदले संसदीय दलका उपनेता टंक आङ्बुहाङलाई पत्र बुझाएका थिए ।

बिहिबार, १६ पुष, २०७७, दिउँसोको ०१:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर