विराटनगर । विराटनगर महानगरपालिकाले प्रशासनिक खर्चमा मितव्ययीता अपनाएको दावी गरेको छ ।
कार्यालय प्रयोजनका लागि भाडामा लिएको सवारी साधन, त्यसमा प्रयोग गर्ने इन्धन, प्रमुख प्रशासकीय अधिकृतको निवास आदिका बारेमा धारणा सार्वजनिक गर्दै महानगरले त्यस्तो जनाएको हो ।
विभिन्न विषयमा केही दिनदेखि भएका सार्वजनिक टिकाटिप्पणीबाट नगरबासीमा भ्रम सिर्जना भएको भन्दै महानगरपालिकाले सोमबार प्रेस विज्ञप्ति जारी गरी आफ्नो धारणा स्पष्ट गरेको हो । विराटनगर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गरी इन्धनबाहेक दैनिक ४ हजार रुपैयाँ भाडा तिर्नेगरी लिएको सवारी साधनको सट्टा दैनिक २ हजार ३६० रुपैयाँ तिर्नेगरी अर्को सवारी साधन भाडामा लिएकोमा संघीय सरकारबाट अर्को गाडी प्राप्त हुनासाथ बीचैमा भाडा सम्झौता भंग गरेर सवारी साधन फिर्ता गरि अनावश्यक खर्च हुन नदिएको महानगरले जनाएको छ ।
यस्तै प्रमुख प्रशासकीय अधिकृतको आवासको भाडा विगतमा वहालकर बाहेक २० हजार तिर्ने गरेकोमा अहिले नयाँ घरमा सर्दा करसहित २५ हजार ५०० तिर्नेगरी सम्झौता भएको पनि प्रेस विज्ञप्ति मार्फत स्पष्ट पारेको छ । महानगरले प्रशासनिक खर्चमा मितव्ययिता अपनाएको, इन्धन प्रयोगमा दुरुपयोग हुन नदिएको जनाएको छ ।