गणेश लम्साल
प्रधानमन्त्री केपी ओलीले यति चाँडै र यतिधेरै निर्लज्ज भएर हुँदै नभएको शक्ति दुरुपयोग गर्दै संघीय गणतन्त्र नेपालको संविधान २०७२ लाई बलात्कार गर्दै राष्ट्रघाती, अदुरदर्शी र असंबैधानिक कदम चाल्छन् भन्ने सायदै कसैले सोचेका थिएनन् । किनभने शान्ति र सुशासनका लागि स्थिर सरकार चलाउनका लागि जनताले झण्डै दुईतिहाई बहुमत दिएर नेकपालाई पठाएका थिए । नेकपाको अध्यक्ष र संसदीय दलको नेताको रुपमा ओली प्रधानमन्त्री भएका थिए । जनताकै जनादेश अनुसार उनले तीन वर्ष कार्यकाल विताइसकेका थिए । सरकारले धरै राम्रो काम गरेको दाबी पनि उनी गर्दैथिए ।
तर, ५ पुस २०७७ मा ओलीले आम नेपाली जनताले सोच्दै नसकेको र संविधानमै नभएको शक्ति प्रयोग गरेर जनमुखि संबिधानको बलात्कार गर्दै प्रतिनिधिसभा विघटन गर्ने असंबैधानिक कदम चाले । राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत कठपुतली बनाउन सक्षम ओलीले शान्ति र सुशासन अनि आर्थिक समृद्धिका लागि २०७८ वैशाखमा दुई चरणमा आम निर्वाचन पनि घोषणा गरेका छन् ।
ओलीको असंवैधानिक कदमको उनी र उनका बाध्यकारी कार्यकर्ताबाहेक अरु कसैले राम्रो भन्न सकेनन् । सबैले नेपाली जनताले ७० वर्षदेखि रगत, पसिना बगाएर अथक संघर्ष गर्दै बनाएको संंघीय गणतन्त्र नेपालको संविधानको आत्मामा प्रहार गरेर घाइते बनाएको भन्दै ओलीलाई गाली गरे । देशलाई प्रगितगमनतर्फ लगेको भन्दै सच्याउन संघर्ष थाले ।
देशले विश्वव्यापी महामारी भोगिरहेको बेला प्रम ओलीले मात्र आफ्नो सत्तास्वार्थका लागि असंवैधानिक प्रतिगनकारी कदम चालेर देशलाई फेरि द्वन्द्वको भूमरीमा धकेल्न खोजेको र संघीयता र गणतन्त्र अनि धर्मनिरपेक्षता खोस्न चाहेको सबैले प्रष्ट बुझे । यसैले प्रम ओलीको कदमलाई कुनै पनि राजनैतिक दलहरु, संविधानविद्, पूर्वन्यायाधीश, कानूनविज्ञ, अधिकारकर्मी, पत्रकार, कलाकार अनि नागरिक समाज कसैले पनि जायज भनेर मान्नै सकेनन् । किनकी नेपाली जनताले धेरै पटक अनेकौं संघर्ष गरेर, बलिदान दिँदै १० वर्ष लामो सशस्त्र जनयुद्ध र अनेकौं जनआन्दोलन र आन्दोलनहरुको सास्ती झेलेपछि मात्र संबिधानसभाबाट संघीय नेपालको गणतान्त्रिक संविधान प्राप्त गरेका थिए । दुई–दुई पटक संविधानसभाको निर्वाचनमा भाग लिएर अर्बौं रुपैयाँ खर्च गरेर अथक मेहनतपछि मात्र यो संबिधान निर्माण भएको थियो । र, देशमा स्थिरता कायम गराउन प्रधानमन्त्रीले पहिले जस्तो पटक–पटक लहडमा एकलौटी संसद विघटन गर्न नपाउने संविधानमा व्यवस्था राखिएको थियो ।
ओलीले न त संविधानको आत्मालाई ख्याल गरे । न त देशले भोगिरहेको महामारीको अवस्थालाई नै बुझ्ने कोसिस गरे । उनले त आफ्नै घरको झगडा मिलाउन नसकेपछि क्रोधी बनेर संबिधान विपरित प्रनिनिधिसभा विघटन गरेर देश र जनतालाई प्रतिगमनको यात्रामा धकेले । यसैले संबिधान निर्माण भएको दिन आकाशे शिर्षक राखेर समाचार प्रकाशन प्रसारण गर्ने सञ्चारमाध्यमहरु ५ पुसमा ओलीले चालेको असंबैधानिक कदमको आरपार शिर्षक राखेर विरोध गरिरहेका छन् । र, उनले चालेको कदम प्रतिगमन हो, यसले देशलाई हित गर्दैन, बरु झन संकटमा धकेल्छ भनेर निरन्तर समाचार, सम्पादकीय, लेख, टिप्पणीहरु प्रकाशन÷प्रशारण गरिरहेका छन् । जसले देशलाई प्रतिगमन विरुद्ध धकेल्नेहरु बिरुद्धको संघर्षको जनमत बनाउन सहयोग पुगिरहेको छ । र, वर्षौपछि फेरि देश कठयाङ्ग्रीने चिसो जाडोमा पनि प्रतिगमन सच्चाउन आन्दोलनमय बन्दै तात्दै गइरहेको छ ।
प्रतिगमनकारीरुको अगाडि हैन घुच्चुकमा आँखा हुन्छ अरे भन्थे, हो रहेछ । यसैले प्रतिगमन रुचाउनेहरु प्रम ओलीको असंबैधानिक कार्यको प्रशंसा गरिहेका छन् । कोही संकटमा मौका छोप्दै मन्त्री पद खान त कोही उच्च ओहोदामा पुग्न लहसिएका छन् । यो नौलो कुरा नै होइन । किनभने संकटको समय परिवर्तनकारीहरुका लागि कष्टकर हुन्छ । तर, दुष्टमति भएकाहरुलाई चाँही कमाउने र स्वार्थ पुरा गर्ने अवसर पनि हुन्छ । कतै लुकेको छैन, दास मानसिकता भएका कार्यकर्ता र केही लोभीपापीहरुले निर्लज्जता प्रदर्शन गरेर प्रतिगमनलाई अग्रगमनतर्फको सही यात्रा भनेर गलत ब्याख्या गर्न खोजिरहेका छन् । हुन त हो पनि नुन खानेहरुले सोझो नगरी धर पनि हुदैन ।
तर, यहाँ परिवर्तनको पक्षधर भनिरहेको र राणा, पञ्चायत फयाँक्न अनि शान्ति प्रक्रिया सफल बनाउन निर्णायक भूमिका खेलेको नेपाली काँग्रेस भने अझै दोधारे नीतिमा बसेर गम्भीर गल्ति गरिरहेको छ । उसै पनि काँग्रेस नेतृत्वले पटक–पटक गलत निर्णय गरेर आफ्नो दलको साख गुमाउँदै आएको छ । आफ्नो साखलाई बलियो बनाउने अवसर आएकै बेलामा पनि काँग्रेस आफूलाई साँचो लोकतान्त्रिक र परिवर्नकारी शक्ति भनेर प्रमाणित गर्न हिच्किचाइरहेको छ । मौकापरस्त चरित्र प्रदर्शन गर्दै खुलेर आन्दोलनमा जान हिच्किचाइरहेको छ । काँग्रेसले १३ पुसमा घोषणा गरेको निर्वाचन क्षेत्रमुखी आन्दोलन पनि देखावटी मात्रै हो ।
काँग्रेस सभापति शेरबहादुर देउवा गणतन्त्र चाहदैनन् । किनभने उनले काँग्रेस केन्द्रीय समितिले आफू अनुकुल निर्णय नगरेपछि रिसाएर एकलौटी आफैंले संकटकाल लगाएर बहदुलीय व्यवस्थालाई नै दरवारमा बुझाएका थिए । शेरबहादुरले संकटकाल लगाएकैले हो, देशमा जनयुद्ध झन् झाँगिएको थियो । यसैले उनी परिवर्तनकारी शक्तिलाई पनि रुचाउदैनन् । उनले प्रतिगमनका मतियार केपी ओलीसँग गोप्य रुपमा सम्झैता गरेको आशंका त्यसै उब्जिएको हैन ।
लामो समय सत्ताको स्वाद पाएको काँग्रेस चुनावमा गएर आफनो शक्ति बढाउन सकिन्छ कि भन्ने गलत आशामा पनि मख्ख परेको छ । या त उ सत्ताको स्वाद चाख्न झन् आतुर भइरहेको छ । या त काँग्रेस साँच्चै प्रतिगनसँग सम्झौता गरेकोले देशलाई फेरि द्वन्द्वमा धकेल्ने ग्राइण्ड डिजाइनमा छ । तर, जे गरेपनि काँग्रेसले बेलैमा आफ्नो अदुरदर्शीपन सच्चाएन भने उसलाई सबैतिरबाट धोका हुनेछ । प्रतिगमनलाई साथ दिएको आरोपमा नेपाली जनताले उसको बाँकी रहेको साख पनि धुलिसात हुनेछ । प्रष्ट छ, शाहीकालमा प्रधानमन्त्री हुन लोभ गरेर दाम चढाउन खोज्दा कम्युनिष्ट नेता माधव नेपालमाथि लागेको कलंकको टिकाले अहिले पनि उनलाई पिरोल्ने गर्छ । काँग्रेसको त भविष्यमा त्यो भन्दा नाजुक अवस्था बन्नसक्छ ।