काङ्ग्रेसले सिक्नुपर्ने कुरा

 अनन्तराज न्यौपाने

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदम निश्चय पनि राष्ट्रद्रोहको कुरूप अनुहार हो । यो संवैधानिक घात र त्रुटिलाई सच्याउनु आजको आवश्यकता हो । हो, लोकतन्त्रमा चुनाव अपरिहार्य छ । तर, चुनाव भन्दैमा बेमौसमको बाजा पनि स्वीकार्य हुन सक्तैन । संविधानलाई घाइते बनाएर गरिएको चुनाव मुलुकका लागि हितकर हुन सक्तैन । त्यसैले संवैधानिक त्रुटि सच्याएर निर्वाचन गराउनु आजको आवश्यकता हो । खिर अवश्य पनि एउटा पवित्र र सुस्वादु भोजन हो । तर, भैँसीको खोले पकाउने भाँडामा पकाएर कोपारामा पस्किएर दिएको खिर कसैका लागि स्वीकार्य हुन सक्तैन । त्यस्तै संवैधानिक त्रुटिसहितको निर्वाचनले मुलुकको लोकतान्त्रिक अभ्यासलाई स्वस्थ बनाउन सक्तैन । त्यसैले आजको आवश्यकता भण्डारी र ओलीको संवैधानिक ‘कू’लाई सच्याउन निर्णायक दबाबको सृजना गर्नु नै हो ।

यसैबीच नेपाली काङ्ग्रेसले सोमबार देशैभरि शक्ति प्रदर्शन गरेको छ । ढिलो भएपनि काङ्ग्रेसले बुद्धि पु¥याएको छ । यो पार्टी देशको अगुवा हो । हरेक सफल र ऐतिहासिक आन्दोलन यही पार्टीको नेतृत्वमा सफल भएका छन् । २००७, २०४६ र २०६२–६३ को परिवर्तनको अगुवाई काङ्ग्रेसले नै ग¥यो । सङ्घीय गणतान्त्रिक संविधान २०७२ जारी गर्ने कामको नेतृत्व पनि यही दलका प्रधानमन्त्री सुशील कोइरालाबाट भयो ।

तर, पछिल्लो समयमा पार्टीका सभापति शेरबहादुर देउवा क्रान्ति र परिवर्तनको होइन यथास्थितिवादका पृष्ठपोषकका रूपमा प्रस्तुत हुन थालेका छन् । पार्टीभित्रको इतर पक्षले दबाब नदिएको भए देउवा प्रदर्शनका लागि पनि तयार थिएनन् । रामचन्द्र समूहको आन्दोलनप्रतिको उत्कण्ठा र झुकावका कारण प्रदर्शनको ठिक २४ घण्टाअगाडि देउवा वक्तव्य निकाल्न बाध्य भए । यसबाट पुष्टि हुन्छ, काङ्ग्रेसभित्र क्रान्तिकारिताको दियो निभेको छैन, क्रान्तिकारिता र परिवर्तनप्रतिको मोह मरेको छैन । काङ्ग्रेसको चरित्र देउवाको जस्तो यथास्थितिवादी होइन । न त २०४८ सालमा सडकमा रेलिङ भत्काएर आन्दोलन गर्ने ठेट्ना एमालेको जस्तो बुचे क्रान्तिकारिता नै हो । यसले गरेका हरेक सङ्घर्ष जिम्मेवार प्रकृतिका छन् । भविष्यमा पनि यो परम्परालाई काङ्ग्रेसले कायम राख्न सकेन भने मुलुक झन् जोखिममा पर्ने कुरामा शङ्का छैन ।

तर, सोमबार विराटनगरको वीरेन्द्र सभागृहबाट निकालिएको विरोध जुलुसमा ओली सरकारका विरूद्ध गगनभेदी नारा सुनिएनन। जुलुसमा सहभागी सबै कार्यकर्ताले समवेत स्वरमा नारा लगाएका भए जुलुसको रौनक र स्वरूप नै अर्को हुनेथियो । जुलुसका अधिकांश सहभागी औपचारिकता पूरा गर्न आएका देखिन्थे । दोस्रो कुरा के भने, जुलुसमा र विरोधसभा दुबैमा विराटनगरका स्थानीय तरुण, विद्यार्थी, बुद्धिजीवी र महिलाको उल्लेखनीय र अपेक्षित उपस्थिति भएन । जेजति आएका थिए, ती धेरै गाउँका थिए । अधिकांश सहभागी बुढीगङ्गा गाउँपालिकाका देखिन्थे । विराटनगर भनेको काङ्ग्रेसको आदिम गढ हो । सोमबारको जुलुस र विरोधसभाजस्तो अति जरुरीको विषयमा घरभित्रै सुत्ने विराटनगरका काङ्ग्रेस कार्यकर्ता धन्यवादका पात्र हुन सक्तैनन् । २०४६ को आन्दोलनको सुरुदेखि अन्तसम्म विराटनगरका महिलाको सहभागिता र योगदान स्मरणीय छ । यसलाई बिबिसीले पनि मुख्य समाचार बनाएको थियो । तर, सोमबारको सभामा विराटनगरे महिलाको न्यून उपस्थितिलाई काङ्ग्रेसले गम्भीरताका साथ विश्लेषण गर्नुपर्ने विषय हो ।

त्यस्तै मोरङको क्षेत्र नम्बर ६ भनेको थारू–बहुल क्षेत्र हो । मोरङमा थारू समुदायले काङ्ग्रेसलाई २००७ सालदेखि नै काँध थाप्तै आएको छ । तर, सोमबारको विराटनगरको कार्यक्रममा थारू समुदायको उपस्थिति पनि नगन्य देखिन्थ्यो । त्यस्तै मुस्लिम समुदायका कार्यकर्ता पनि देखिएनन् । जबकि, विराटनगरमा मुस्लिम समुदायका काङ्ग्रेसीको सङ्ख्या उल्लेखनीय छ । आगामी कार्यक्रमहरूमा काङ्ग्रेसले यसलाई सच्याउनु पर्ने देखिन्छ ।

काङ्ग्रेसलाई आजसम्म जोगाइराखेको भनेको युवा विद्यार्थी र तरुणको जमातले हो । बिपी कोइराला जहिले पनि आफ्नो भरोसा युवा र तरुणप्रति रहेको धारणा प्रकट गर्थे । सोमबारको काङ्ग्रेसको कार्यक्रममा युवा विद्यार्थी र तरुणको उत्साहजनक र रोमाञ्चक सहभागिताको अपेक्षा थियो । आगामी कार्यक्रमहरूमा काङ्ग्रेसले यो विषय बुझ्नु पनि जरुरी छ ।

विराटनगर बौद्धिक प्रजातन्त्रवादीको शहर हो । यहाँ काङ्ग्रेसलाई र लोकतन्त्रलाई सङ्कट परेका बेला काङ्ग्रेसका आह्वानमा डाक्टर, पत्रकार, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, कानून व्यवसायी र अन्य पेशाकर्मीहरू धेरै पटक सडकमा उत्रिएका छन् । सोमबारको कार्यक्रममा यसको पनि अभाव देखियो । यो विषयलाई समेत कार्यक्रमका आयोजकले बुझ्नुपर्ने र पहल बढाउँदै लैजानु पर्ने देखिन्छ ।

मूलतः एउटै कार्यक्रमका आधारमा समग्र आलोचना गर्न मिल्दैन । अत्यन्त विरोधाभासपूर्ण र आफैँभित्रको कलहका बिच काङ्ग्रेसले सोमबारबाट आन्दोलनको दुन्दुभी बजाएको छ । त्यसैले सबै पक्षको उत्साहजनक सहभागिता हुन समय लाग्छ । आन्दोलनले एकैपटक र एउटै जुलुसबाट टेम्पो पक्रँदैन । यसका लागि पटक–पटक सडकमा उत्रनुपर्छ, अनवरत प्रयासरत हुनुपर्छ । डाक्टर शेखरले भनेजस्तै अबको सडक काङ्ग्रेसको हुनुपर्छ । काङ्ग्रेसले सडकबाटै लोकतन्त्रको पहरेदारी गर्ने बेला आएको छ । अब सडकबाटै निर्णय दिनुपर्छ ।

मङ्गलबार, १४ पुष, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर