विराटनगर । प्रदेश सरकारको मन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै निवर्तमान भएका मन्त्रीहरुले सरकारी सेवा सुविधा त्यागेका छन् ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेरले सुरक्षा, सवारी साधन र क्वाटर आइतबार नै छाड्नुभएको छ । आपूmविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री शेरधन राईबाट शनिबार साँझ पदमुक्त गरिएका आर्थिक मामिला तथा योजना मन्त्री आङ्बो सरकारी क्वाटर छाडेर डेरामा सर्नुभएको छ ।
विराटनगर ३ स्थित औषधि व्यवस्था विभाग नजिकको सरकारी क्वाटरबाट उहाँ विराटनगर ३ बुद्धचोकमा डेरा खोजेर सर्नुभएको हो । आङ्बोले सुरक्षाकर्मी, सवारी साधनसहित मन्त्रीको रुपमा प्राप्त गरेको सबै सुविधा आइतबारबाटै छाड्नुभएको छ । उहाँ मन्त्रीनिवासबाट निजी सवारी साधन चढेर डेरामा पुग्नुभएको छ ।
यस्तै सामाजिक विकास राज्यमन्त्रीबाट राजिनामा दिनुभएकी जसमाया गजमेरले सरकारी क्वार्टर छोड्नुभएको छ । आइतबार राजिनामा दिएकै दिन राज्यमन्त्री गजमेरले सरकारी क्वाटर छोड्नुभएको हो ।
मन्त्री पदबाट राजिनामा दिएपछि सरकारी क्वाटर छोडेर विराटनगरमा डेरामा बसेको गजमेरले बताउनुभयो । पदबाट राजिनामा दिनुभएका सामाजिक विकासमन्त्री जीवन घिमिरेले सोमबार सरकारी क्वाटर छोड्ने तयारी गर्नुभएको छ । राजिनामा दिएको दिन सर्न नभ्याएको र घर व्यवस्थापन गर्नुपर्ने भएकोले सोमबार क्वाटर छोड्ने उहाँको सचिबालयले जनाएको छ ।
घिमिरेको विराटनगर १० मा आफ्नै घर छ । मुख्यमन्त्री राई विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनु अगाडी नेकपाका तीन जना मन्त्रीले आइतबार राजिनामा दिनुभएको थियो । प्रतिनिधिसभा विघटनको प्रतिकामी कदमको समर्थन गर्ने मुख्यमन्त्रीको नेतृत्वमा बस्न नैतिकताले नदिएको भन्दै सामाजिक विकास मन्त्री घिमिरे, सामाजिक विकास राज्यमन्त्री गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिनुभएको थियो ।