विराटनगर । प्रदेश १ को राजधानी विराटनगर जोडने मोरङको ग्रामथान गाउँपालिका १ लखन्तरीको ग्रामिण सडक निर्माणको काम अगाडि बढेको छ ।
ग्रामथान गाउँपालिका १ लखन्तरी, गिधनीया, धोवियारे हँुदै हरंैचा र विराटनगर– १९ मिलन चोक जोड्ने यो सडक निर्माणको काम अगाडी बढेको हो ।
तराइ मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत निर्माण सुरू भएको उक्त सडकको शनिबार शिलन्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालय विराटनगरको ४ करोड ३५ लाख ८७ हजार २ रूपैयाँ लागतमा निर्माण सम्पन्न गर्न सुनसरीको इनरुवास्थित साह निर्माण सेवाले ठेक्का पाएको छ । ३२ सय मिटर लामोसम्म कालोपत्रे हुने सो सडकको ३५ फिट पिच बन्ने सडक डिभिजन कार्यालय विराटनगरका सव इन्जिनियर राजेश कुमार यादवले जानकारी दिनुभयो । आउँदो चैत मसान्तसम्म कालोपत्रे बनाउने गरि सडक निर्माणको काम अगाडी बढेको छ ।
ग्रामिण क्षेत्रको ग्रामथान गाउँपालिको यो मुख्य सडक हो । प्रदेश १ को राजधानी रहेको सहर विराटनगर र मोरङको उत्तरी क्षेत्रको पूर्व–पश्चिम राजमार्ग पनि यो सडकले जोडने भएकोले यहाँका स्थानिय हर्षित छन् । २०७७ साउन ११ गते सम्झौता भएको सडकको निर्माण प्रक्रिया प्ररम्भ भएको महिना दिन हुनलागेको छ । ‘अहिले सडक ग्रेडिङ्ग गरि सब बेसको काम भइरहेको छ,’ सव–इन्जिनियर यादवले भन्नुभयो, ‘३२ सय मिटरको कालोपत्रे हुने सडकमा ६ वटा कल्भर्ट निर्माण हुनेछ । पिच सडकको ४ सेन्टिमिटरको मोटाई कालोपत्रे हुन्छ ।’
शिलान्यास कार्यक्रममा बोल्दै प्रतिनिधी सभाका संसद अमनलाल मोदीले शिलन्यास भएको ग्रामिण सडक तोकिएको समयमा गुणस्तरीय सडक निर्माण हुने बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काम अगाडि बढेको उहाँले बताउनुभयो । ‘अहिले मेरो निर्वाचन क्षेत्रमा विकासको सुरूवात भएको छ,’ संसद मोदीले भन्नुभयो, ‘निर्वाचन क्षेत्रमा भएका विकासका कामहरू संसद विकास कोषबाट हुँदै आएको छ ।’
यस अघि ग्रामथान गाउँपालिका भित्रका सुकुम्बासीहरूलाई नमुना आवास निर्माण गरि हस्तानतरण पनि गरिएको उहाँले बताउनुभयो । संसद मोदीका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा १ हजार १ सय ३ घर सुकुम्बासीलाई घर हस्तान्तरण योजना रहेको सुनाउनुभयो । ‘घर नहुने सुकुमबासीलाई घर हस्तान्तरण गर्ने योजना अगाडी सारेको छु,’ उहाँले भन्नुभयो । मोदीले आफ्नो क्षेत्रमा भएको विकासको काममा स्थानीयलाई खवरदारी गर्न पनि आग्रह गर्नुभयो । ‘तपाईंहरूको घर अगाडि बन्ने सडकको गुणस्तरमा ध्यान पनि दिन आग्रह गर्दछु,’ संसद मोदीले भन्नुभयो, ‘घर अगाडि हुने विकासका काम गुणस्तरीय बनाउन सबै लाग्नुपर्दछ ।’
कार्यक्रममा ग्रामथान गाउँपालिकाका प्रमुख शिवनारायण माझीले सडक निर्माणमा गुणस्तरमा कुनै सम्झौता नहुने भएकोले तोकिएको समयमा निर्माण प्रक्रिया पूरा गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले दीर्घकालीन महत्व भएको यो सडक निर्माणका क्रममा गुणस्तरमा ध्यान दिन सबै नागरिकलाई आव्हान गर्नुभयो ।
कार्यक्रममा ठेक्कादर कम्पनीका प्रतिनिधी पवन झाले तोकिएको समयमा गुणस्तरीय सडक निर्माण गर्न सबैको साथ सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले स्थानीय, सडक विभाग र निर्माण व्यवसायीको सहयोगले मात्र सडक निर्माणले पूर्णता पाउने भएकोले सबैले सहयोग गरिदिनुपर्ने बताउनुभयो ।