होमः हेलो
सम्झनाः को बोल्नुभयो ?
होमः मोबाइल चलाउँदै थिए, फोन गरेको तपाईंको नम्बरमा परेछ, को कहाँबाट बोल्नुभएको होला ?
सम्झनाः किन चाहियो तपाईंलाई ?
होमः भन्न त मिल्छ होला नि ।
सम्झनाः चिन्नु न जान्नु, के जथाभाबी फोन गरेको त ।
त्यसपछि फोन काटियो । यो कुनै फिल्मको सम्वाद होइन । दृष्टिविहीन उर्लाबारी–४ विशाल टोलका ३४ वर्षीय होमबहादुर बयलकोटी र इलाम नयाँ बजारकी २७ वर्षीया सम्झना लिम्बूबीचको हो । केटीको मधुर आवाज सुन्न थालेपछि होमले मन थाप्न नसकेपछि निरन्तर ‘मिस कल’ गरिरहे । तर, कल ब्याक भने भएन । तैपनि आश भने होमले मानेनन् ।
एक दिन मोबाइल बज्यो । होमले हत्तपत्त फोन उठाए । तर, फोन काटियो । सोही नम्बरमा फोन दबाए । पहिलो पटकमा फोन उठेन । अर्को पटक पुनः फोन गर्दा आफूले निरन्तर मिस कल गरेकी केटीको आवाज सुनियो । यी दुईबीच फोनमा बाक्लै कुराकानी चल्न थाल्यो । होमले सम्झनालाई आफूतिर आकर्षित गर्न धेरै हत्कण्डा प्रयोग गरे । आफूले माया गर्ने र विहे नै गर्ने कुरा होमबाट आएपछि सम्झना भावुक हुँदै आफू दृष्टिविहीन भएको बताइन् । सम्झनाले आफू दृष्टिविहीन भएको बताएपछि होमलाई ‘के खोज्छस् कानो, आँखो’ भन्ने उखान जस्तै भयो । त्यसपछि होमले आफू पनि दृष्टिविहीन भएको बताए । त्यसपछि होम र सम्झनाको प्रेम प्रगाढ बन्दै गयो ।
निरन्तर फोन सम्पर्कमा रहेका यी दुई बीच भेट्ने कुरा चल्यो । त्यसपछि कहाँ भेट्ने भन्ने कुरामा बहस भयो । र, यी दुईको लागि इलाम र मोरङको संगम स्थल बन्यो, झापाको विर्तामोड । २०७२ जेठ अन्तिमतिर विर्तामोडमा भेट भएपछि दुबैले आ–आफ्ना कुरा राखे ।
दुबै जना एकअर्काबीच छुट्नै नसक्ने भए । सोही वर्षको मंसीर महिना बिहे गरेर उनीहरुले आफ्नो प्रेमलाई पूर्णता दिए । आफूले गलत नम्बरमा फोन गरेकै कारण सम्झनासँग विहे गर्न सफल बनेको विगतलाई होमले सम्झे । उनीहरुले विहे गरेको पनि ५ बर्ष वितिसकेको छ । ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरु सानो कटेरोमा बसोबास गर्दै आएका छन् । सामाजिक संस्था न्यायो अभियान नेपाल उर्लाबारीले ४ बर्षअघि जस्ता पाताको छानोसहित बाँसको बेरा लगाएर निर्माण गरेको घर अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । सहयोगी दाताले बनाइदिएको घर अहिले काम नलाग्ने अवस्थामा पुगिसकेको होमले बताए ।
नेत्रहीन बयलकोटी दम्पतिलाई अपाङ्गता भएका ब्यक्तिहरुको समूह उर्लाबारी अध्यक्ष ब्यासकुमार लिम्बूले मुढा बन्ने तालिम दिएपछि परिवार चलाउन अलि सहज भएको होम बताउँछन् । अहिले उनीहरुको मुढा बेचेरै जीवन यापन हुँदै आएको छ । दुखले बसेको उल्लेख गर्दै सम्झनाले सबैको साथ र सहयोगको अपेक्षा राखेको बताइन् । आफूले दलितको छोरो भएपनि परिवारबाटै कुनै दबाब र अपहेलना हेप्नु नपरेको सम्झनाको अनुभव छ ।