विराटनगर । पार्टीभित्र चरम अल्पमतमा परेर कारबाही भोग्नु पर्नेभएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जथाभावि केन्द्रीय सदस्य थप गरेको पाइएको छ ।
नेकपा एकता हुँदा बनेको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा करिब सय जनामात्रै आफ्नो समूहमा भएपछि ओलीले मंगलबार केन्द्रीय समिति एकलौटी विस्तार गर्दै १ हजार १ सय ९९ जनाको बनाउने घोषणा गर्नुभएको थियो ।
ओलीको घोषणालाई खारेज गर्दै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा मंगलबार नै बसेको ३ सय १५ जना केन्द्रीय समितिको बैठकले ओलीलाई अध्यक्ष पदबाट समेत बर्खास्त गरिसकेको छ । बर्खास्तीमा पर्ने निश्चित भएपछि नै ओलीले विधान विपरीत केन्द्रीय सदस्य थप गरेर नौटंकी मात्र देखाएको प्रचण्डको आरोप छ ।
ओलीले विस्तार गरेको केन्द्रीय समितिमा रहेकाहरुले पनि धमाधम पद अस्वीकार गर्न थालेका छन् । केन्द्रीय समितिमा थप गरिएका भनिएका प्रदेश १ का एक मन्त्री र तीन सांसदसहित नेताहरुले पद अस्वीकार गरेको घोषणा गरेका छन् ।
प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेशसभा सदस्य झापाका गोपालचन्द्र बुढाथोकी र उदयपुरकी प्रदेशसभा सदस्य कला घलेले बुधबार नै ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेको घोषणा गर्नुभएको थियो । बिहीबार प्रदेशसभा सदस्य खोटाङकी उषाकला राईले पनि ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेको घोषणा गर्नुभएको छ ।
यसअघि पार्टीमा माधवकुमार नेपाल निकट भनेर चिनिएकी राई आफ्ना श्रीमान् शेरबहादुर तामाङसहित केपी ओली समूहको बैठकमा सहभागी भएकी थिइन् । तर, बिहीबार उहाँले प्रचण्ड र नेपाल समूहकै लाइन ठिक भएको निष्कर्षसहित ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेको सार्वजनिक गर्नुभएको हो ।
‘यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ तर पद र पैसा केही होइन जनताको दुई पैसा खाइन्नँ। बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ। सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रस्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइरहेका थियौं। तर आज त्यो अलपत्र परेको छ। यो बिचको बिकसित राजनितिक परिघट्नामा सम्माननीय प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटीजस्तो उच्च ओहोदामा राख्नुभएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु। तर मेरो ज्ञानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छ त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु,’ राईले सामाजिक संजाल फेसबुकमा उल्लेख गर्नुभएको छ ।
यस्तै संविधानसभाका सदस्य ताप्लेजुङका डम्बरध्वज तुम्बाहाम्फेले पनि ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गर्नुभएको छ । बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै तुम्बाहाम्फेले आफूलाई जानकारी नदिई ओली समूहको केन्द्रीय सदस्यमा आफ्नो नाम राखिएकोप्रति आपत्ती जनाउनु भएको छ । उहाँले पार्टीको बहुमत केन्द्रीय सदस्यहरुले प्रतिनिधित्व गरेको प्रचण्ड र माधव नेपाल अध्यक्ष रहेको नेकपामा आवद्ध रहेको व्यहोरा विज्ञप्ति मार्फत स्पष्ट पार्नुभएको छ ।
यसैगरी ओली समूहले केन्द्रीय सदस्यमा राखेका नेकपा खोटाङका सचिव राम दंगालले पनि उक्त पद अस्वीकार गर्नुभएको छ । दंगालले सामाजिक संजाल फेसबुक मार्फत आफू पार्टीको जिल्ला सचिव र प्रदेश समिति सदस्य रहेर पार्टीको मूल प्रवाहमै रहने उल्लेख गर्दै बिना जानकारी ओली समूहले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेको जानकारी दिनुभएको छ ।
देशभरबाट २० जनाभन्दा बढीले पद अस्वीकार
केपी ओली समूहले नेकपाले हालै मनोनीत गरेको केन्द्रीय सदस्यमध्ये अहिलेसम्म देशभरीबाट २० जनाभन्दा बढीले पद अस्वीकार गरिसकेका छन् ।
ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गर्नेमा प्रदेशका मन्त्रीदेखि प्रदेश सांसद, पालिका प्रमुख र पार्टीका जिल्ला अध्यक्ष तथा सचिव र नेताहरु रहेका छन् ।
यसरी पद अस्वीकार गर्नेहरुमा डम्बरध्वज तुम्बाहाम्फे– ताप्लेजुङ, गोपाल बुडाथोकी– झापा, जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री, सुन्दर वि.क.– नेकपा बारा जिल्ला सचिव, कमलेश झा– नेकपा प्रदेश २ सदस्य, भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य, बृहस्पति अधिकारी– नवलपरासी, जागेश्वरीदेवि चौधरी– तिलोत्तमा नगरपालिका उपप्रमुख, अमरबहादुर डाँगी– प्रदेशसभा सदस्य, टिकाराम खडका–दाङ, अध्यक्ष, नेत्र पन्थी–रुपन्देही, नन्द किसोर ढकाल–रुपन्देही, देबी बस्याल–पाल्पा, अशोक शाही, कमल श्रेष्ठ–पाल्पा, यज्ञ बोगटी–अछाम, कल्याणी चौधरी–बारा, प्रदेस सदस्य, भैरे कामि–अछाम, राम दंगाल–सचिव खोटांग, गगन विष्ट–गुल्मी, कला घले–उदयपुर, उषाकला राई–खोटाङ रहेका छन् ।
प्रदेश १ बाट ओली समूहको केन्द्रमा ८७ मनोनित
पार्टीको केन्द्रीय समितिमा चरम अल्पमतमा परेपछि बहुमत देखाउन विस्तार गरेको प्रधानमन्त्री केपी ओलीले विस्तार गरेको केन्द्रीय समितिमा ८७ जना मनोनित गरेको पाइएको छ ।
जसमा झापाबाट १८, मोरङबाट १७, सुनसरीबाट ८, उदयपुरबाट ९, खोटाङबाट ५, भोजपुरबाट ४, सोलुखुम्बुबाट ५, ताप्लेजुङबाट ५ तथा धनकुटा, तेह्रथुम, सखुवासभा, पाँचथर, इलाम र ओखलढुङ्गाबाट ३–३ जना मनोनित भएका हुन् ।
ओलीको गृहजिल्ला झापाबाट हरिचरण बानियाँ, हरिचरण शिवाकोटी, प्रेम गिरी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दीपक कार्की, हरि राजवंशी, देवेन्द्र दाहाल, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हीरा थापा, गोपालचन्द्र बुढाथोकी र विश्व बराललाई मनोनित गरिएको थियो । जसमा बुढाथोकी र गजमेरले पद अस्वीकार गरेका हुन् ।
त्यसैगरी मोरङबाट नरेश पोखरेल, गंगा डाँगी, खड्ग बस्नेत, घनश्याम खतिवडा, युवराज बा“स्कोटा, हरि घिमिरे, सुबोधराज प्याकुरेल, रामलाल साह, डीपी राई, सत्यनारायण चौधरी, महेश भट्टराई, बाबुराम कार्की, खेम नेपाली, मीना यादव, रामकुमार बस्नेत, मोतिलाल दुगड र ऋषिकेश पोखरेल केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । मनोनितमध्ये जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै सदपथग्रहण कार्यक्रममा अनुपस्थित रहनुभएको छ ।
ओली समूहको केन्द्रीय समितिमा सुनसरीबाट रेवतीरमण भण्डारी, मुरारी सुवेदी, सर्बध्वज साँवा, विजयकुमार राई, मोतिराज सुनुवार, ओम कोइराला, खेमराज पोखरेल र लक्ष्मी गौतम चुनिएका छन् । उदयपुरबाट अम्बिका थापा, दुर्गाकुमार थापा, वेदप्रसाद पोखरेल, बिमल कार्की, शैलेश लामा, ज्ञानेन्द्र श्रेष्ठ र कला घलेको नाम केन्द्रीय सदस्यमा राखिएकोमा श्रेष्ठ र घलेले पद अस्वीकार गर्नुभएको छ ।
त्यसैगरी खोटाङकी उषाकला राई, हरि पोखरेल, कर्ण घले, रमेश पौडेल र रामप्रसाद दंगाल केन्द्रीय सदस्यमा चयन भएका छन् । भोजपुरबाट प्रेम राई, भरत तामाङ, कृपासुर शेर्पा र सिर्जना राई, ओखलढुंगामा नानीबाबु बुढाथोकी, मोहन श्रेष्ठ र अम्बिरबाबु गुरुङ, सोलखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, उत्तम बस्नेत, मानवीर राई, सोनाम ग्याल्जेन शेर्पा र कल्पना राईको नाम केन्द्रीय समिति सदस्यमा राखिएको छ । ताप्लेजुङबाट उर्मिला थेबे, अनन्त साँवा, तुलसी शिवाकोटी र बुद्धिमान परियार केन्द्रीय समितिमा चयन भएइका छन् ।