इनसेक्युरिटी सिन्ड्रोम र नेपाली समाज

 डा. राजेन्द्र उप्रेती

केहि बर्ष अगाडि म आफनो कार्यालयबाट फर्किदै थिए । बाटामा पर्ने सुरपमार्केट अगाडि अनितालाई भेटे । उनका दुबै हातमा भर्खरै किनिएका सामानका थैलाहरुले भरिएका थिए । ‘दह्रो किनमेल भएछ नि’ मैले सोधे, उनीले ठूलो हाँसो हास्दै मेरो कैतुहलता साम्य पार्ने कोशिस गरिन् । अनिता मेरोमा सरसफाइको काम गर्थिन । मैले बिहान मात्र उनले काम गरेको बितेको महिनाको तलव उनलाई दिएको थिए । जाम्बियामा एक वर्ष बस्दा मैले देखेको र अनौठो लागेको कुरा भनेको गरिव जाम्बियनहरुले पैसा भेटाउने बित्तिकै सकाइहाल्ने र खाइहाल्ने, खर्च गरिहाल्ने प्रबृति थियो ।

उनिहरुलाई भोलिको खासै चिन्ता हुँदैन थियो त्यसैले बचत गर्ने बानी उनीहरूमा कम देखिन्थ्यो । यो प्रबृति गरिविले गाँजेका धेरै देशहरुमा अन्त पनि देखिन्छ । यो प्रबृतिको बारेमा एउटा बेलायती साथिसँग कुरा राख्दा उसले भन्दैथियो ‘यहि हो इनसेक्युरिटि सिन्ड्रोम’ अर्थात् जहाँ अथवा जसलाई भोलिको आशा हुँदैन त्यहाँ मान्छेहरु, समाजहरु भोलिको चिन्ता नगरी आजैका लागि बाच्न खोज्छन । ‘भोलि कस्ले देखेको छ र ?’ भन्ने मनोभावनाकासाथ इनसेक्युरिटि सिन्ड्रोमले गाँजेको समाज र देश जायज नाजायज सबै काम गरेर आजै सबै कुरा गर्न चाहान्छ । या भनौं आजको लागिमात्र बाच्न चाहन्छ ।

हामीले भोगिरहेको समाज निरन्तर त्यहि दिशामा (तातै खाउ जलि मरौं) अगाडि बढिरहेको छ । हाम्रा बुबा हजुरबुबाहरुको पुस्ताले बिगतमा गर्व गर्दै भबिष्यको बारेमा चिन्ता लिन्थ्यो । मेरो राम्रो कर्मको फल मेरा सन्तान दरसन्तानले पाउनेछन् भन्ने विश्वास राख्थ्यो । त्यहि भएर हाम्रो समाज र नेपालीहरुको संसारभरी छुट्टै भरपर्दो पहिचान बनेको थियो । वर्तमान समाज त्यो माथि राजनीतिज्ञहरु र कथित बौद्धिकवर्ग भोलिको ठेगान छैन जे जसरी हुन्छ आजै पैसा र पद जोडिहालौं भन्ने ध्याउन्नमा लागेको छ । निष्ठा, पहिचान, ईज्जत–बेइजतको कसैलाई मतलव छैन । धेरैको लक्ष पैसा कमाउने र पद हत्याउनेमा केन्द्रित भएकोछ । यसको परिणाम समाज निरन्तर अधोगति तिर लागिरहेको छ र यो कुरा बिस्तारै देश, पार्टी, समाज, मानिस सबैको साझा प्रबृति बनेर झाँगिदै जाँदैछ । निष्ठा मरेको समाजको कल्पनाले मात्र पनि भोलिको हाम्रो भविश्यको कहालीलाग्दो चित्र हामी सबै सामु प्रष्टिँदै गइरहेकोछ ।

हामीले भोगेको हिजोको समाज र राजनीतिलाई नियाल्ने हो भने असल समाज र राजनीतिको मियोमा व्यक्तिगत निष्ठा, अबिचलित इमान्दारीता र निरन्तरको समर्पण देखिन्छ । त्यसैको बलमा विभिन्न कालखण्डमा परिवर्तनका आन्दोलनहरुले सफलता हासिल गरे । राजनीतिज्ञहरू मेरो पनि पालो आउला भन्ने विश्वासका साथ चुपचाप आ–आफ्ना पार्टीहरूका उद्देश्य प्राप्तिका लागि लागिपरेका हुन्थे । आफ्नो राम्रो काम र ईज्जतले आफनो परिवारको, पुर्खाको, पार्टीको इज्जत माथि उठ्छ भन्ने सोचाई राख्थे र सुनाम र प्रतिष्ठाको लागि निरन्तर चनाखो रहन्थे । त्यसैले समाजमा स्थिरता थियो, मेलमिलाप थियो र मानिसहरुले आफ्नो मात्र होइन आफ्नो समाजको पनि ईज्जत–बेईज्जतको ख्याल राख्थे ।

बर्तमानलाई नियाल्ने हो भने ति सबै हाम्रा राम्रा चरित्रहरु ज्यादै सीमित भएका छन् । बहुसंख्यक पढालेखा भनाउँदाहरू, राजनीतिमा लागेकाहरु र अरु धेरै पेशाका मानिसहरुमा भोलिको आशा मरिसकेको छ । भोलि के हुने हो आज दाउ लागेको बेला ‘मौकामा चौका’ हानीहालौं भन्ने प्रवृत्ती सबैतिर हावी भएको छ । जिहजुरीका जमातहरु तयार भएका छन र ति निरन्तर बढिरहेका छन् । दासत्वमा रमाउनेहरू आ–आफ्ना स्वबिवेक अन्नदाताका पाउमा अर्पण गरेर कृपादृष्टि बर्षने लोभमा एकोहोरिएका छन । आफनो असल कर्मले भविश्यमा फल दिनेछ भन्ने आसाहरु हरायर होला कर्मको फलभन्दा दासत्वबाट प्राप्त हुने ‘मुतको न्यानो’ धेरैको लागि प्रिय भएकोछ । मैले बुझेको ‘कर्मन्येवाधिकारस्ते मा फलेषु कदाचन’ अब अप्रासंङ्गिक भएकोछ । यि सबैको जडमा एउटै कुरा छ त्यो हो भोलिको कसैलाई विश्वास छैन त्यसैले कोहि पालो पर्खिन तयार छैन । आज कमाएको सुनाम भोलिको प्राप्तिको सहयोगि हुनसक्छ भनेर भोलिको लागि लगानी गर्न धेरै मानिस तयार छैनन् । जुनसुकै मूल्य चुकाउनु परोस, ईज्जत–बेइज्जत जे सुकै होस मानिसलाई पद र पैसा चाहिएको छ । आउने दिनमा जीवनभर शिर झुकाउनु परोस, शाखासन्तानले प्रतिष्ठाको जुनसुकै मुल्य चुकाउनु परोस त्यसको कसैलाई पर्वाह छैन । यो प्रबृति सर्वसाधारण नेपालीमा होइन पढालेखा भनाउँदाहरु र राजनीतिमा लागेकाहरुमा अत्याधिक देखिन थालेको छ ।

यो अत्यासलाग्दो प्रबृतिबाट पार पाउन मानिसहरुका भोलिको आशा जगाउनु पर्छ । जहाँजहाँ आजको कर्म भोलिको प्राप्तिसँग जोडिएको हुन्छ त्यहाँत्यहाँ ‘तातै खाउ जलि मरौ’ प्रबृति कम देखिएको छ । त्यसैले हामीले सबैभन्दा पहिला राम्रो कर्मको फल राम्रो हुन्छ भन्ने भावना हामीमाझ बढाउन जरुरी छ । मानिसको पद हेरेर होइन उनीहरूका राम्रो काम हेरेर उनिहरुलाई ईज्जत गर्न समाजले सिक्यो भने मानिसहरु पद प्राप्तिको लागि होइन असल कामको लागि अभिप्रेरीत हुनेछन् । त्यो कुरा समाज परिवर्तनको मियो हुनुपर्छ ।

आजभोलि पनि हवाइ मैदानहरुमा फूलमाला लिएर आफ्ना अगुवाहरु खुशीपार्न भेला भएका झुन्डहरु देखिन्छन् । उनीहरूलाई न कोभिडको डर छ न समयको मतलव छ । आफ्नो कर्मले होइन केहिबेरको जिन्दावाद ! मुर्दावादले आफनो भविश्य सुध्रने लोभमा हामीहरू फूलमाला बोकेर भीडहरूमा होमिएका छौं । सुधारको सुरुवात जेजस्तो भएपनि आमुक मान्छेको जिन्दावाद ! मुर्दावादमा लाग्नुभन्दा उसले समाजको लागि, देशको लागि राम्रो काम गर्यो कि आ–आफ्ना नाताकुटुम्व र आसेपासे पोस्ने काम गर्यो भन्ने कुराबाट उसको मूल्याङ्कन थाल्यो भने देश समाजले एउटा सकारात्मक बाटो लिनेछ । त्यसको लागि पहिलो पाइला भनेको दासत्वबाट मुक्त भएर स्वबिवेकको प्रयोगको थालनी हो । एकान्तमा बसेर स्वमूल्यांकन थालौं । मैले गरिरहेको जिन्दावाद ! मुर्दावाद र एउटा अमुक पार्टी वा मान्छेको हनुमानभक्ति जायज छ ? मेरो कर्मले परिवारमा, समाजमा मेरो इज्जत बढाएको छ ? यि र यस्ता प्रश्नहरु हामीले आफैलाई सोध्न थाल्यौं भने हामीमा सत्मार्गको बाटो हिंड्ने सहास आउनेछ । अनि त्यो सुरुवातले समाजलाई डोर्याउनेछ ।

मैले सुरुवातमै उठाएको कुरा भविश्यको अनिश्चितताले हाम्रा कर्महरुमा इनसेक्युरिटि सिन्ड्रोम देखिने क्रम बढ्दो छ । त्यसैको प्रभावले हाम्रो राजनीति, समाज र व्यक्तिहरुलाई प्रदुषित पार्दै लगिरहेको छ । महत्वाकांक्षी मानिसहरुमा ‘बत्तीमा पुतली’ झुम्मिएझै ‘तातै खाउँ जलि मरौं’ प्रबृति हावी भएको छ । उनिहरु जुनसुकै मूल्यमा आफूलाई बन्धक बनाएरै भएपनि पद, पावर र पैसा हत्याउन लालायित छन् । जबसम्म यो प्रबृतिलाई समाजले दुत्कार्न थाल्दैन तबसम्म यो बढीरहन्छ र यसले समाज देश सबैलाई प्रदुषित बनाइरहन्छ । हामीले स्वाभिमानी असल समाज र देश चाहेको हो भने प्रथम पाइलाको लागि हामी इनसेक्युरिटी सिन्ड्रोमबाट मुक्त हुन जरुरी छ । आजको कर्मले मेरो, परिवारको, समाजको र देशको भोलिको भविश्य निर्धारण गर्नेछ भन्ने विश्वासका साथ परिवर्तन आफैंबाट सुरु गरौं । हाम्रो विश्वसनिय स्वाभिमानी बिगतलाई पुनःस्थापित गरौं ।

बिहिबार, ०९ पुष, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर