विराटनगर । प्रदेश १ प्रदेशसभाका सदस्य कला घलेले आफू पार्टी फुटको पक्षमा नरहेको बताउनुभएको छ ।
केपी ओली समूहबाट केन्द्रीय सदस्यमा गरिएको मनोनयनका सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै घलेले शपथग्रहण नै नगरेको व्यक्ति कुनै पार्टीको केन्द्रीय सदस्य हुन नसक्ने बताउनुभयो ।
‘पार्टी विभाजनको पक्षमा म छैन र जनता पनि छैनन्,’ सांसद घलेले भन्नुभयो ‘अहिले कोरोना कहरको बेला जनताको उपचार गर्न छोडेर अन्यत्र ध्यान दिनु गलत हुन्छ ।’
घलेले पछिल्लो गतिविधिले जनअभिमतको गम्भीर अपमान भएको र त्यसबाट आफू सबैभन्दा दुःखी भएको बताउनुभयो । ‘अहिलेको क्रियाकलाप जनताको अभिमत र जनविश्वाको अपमान हो,’ उहाँले भन्नुभयो ‘आजको आवश्यकता फुट होइन एकता हो ।’
नेताहरुमा धरातलीय यथार्थलाई नहेरी काम गर्ने प्रवृत्ति देखिएको भन्दै उहाँले भन्नुभयो ‘नेताहरु गुगलमा हेरेर कुरा गर्नुहुँदो रहेछ भुगोलमा हैन ।’ उहाँले ओली समूहले केन्द्रीय सदस्य पद आफूलाई स्वीकार्य नरहेको पनि स्पष्ट पार्नुभयो । ‘कला घलेको नाम कहिले मन्त्रीको लिष्टमा आउँछ कहिले फोटाहरु छापिन्छ, कहिले केन्द्रीय सदस्यमा आउँछ,’ उहाँले भन्नुभयो ‘हामी लुगा फेर्न र पद खोज्न गएका होइनौं जनताको दुःख हटाउन सकिन्छकी भनेर गएका छौं ।’
घलेले कसैका लागि पद र कुर्सी नै प्यारो भएको कारणले अहिलेको अवस्था आएको भन्दै आफूहरु समाजवादको उद्देश्यमा अघि बढ्ने बताउनुभयो । त्यसका लागि अहिले एकता अपरिहार्य रहेको र दुई नेताहरुलाई फर्काएर एकतामा ल्याउन सबै लाग्नुपर्ने बताउनुभयो ।
साधारण जनताका अहिले पनि खोला बगरमा बस्न वाध्य भएको घलेको भनाइ छ । गरिब जनताको पक्षमा काम गर्नुको साटो देशको ढुकुटी रित्तो बनाउने अनि गरिब जनतालाई उही दुःख र कष्टमै राखिराख्ने काम कम्युनिष्ट पार्टीको सरकारले गर्न नसक्ने उहाँको ठहर छ ।
‘जनता कोरोना लाग्दा पिसिआर जाँच गर्नसक्ने हैशियतमा छैनन् अनि हामीले पद र प्रतिष्ठाका लागि कुरा गर्ने कसरी हुनसक्छ ? यसले जनअभिमतको कदर गर्दैन अपमान गर्छ’ घलेले भन्नुभयो । प्रदेशसभा सदस्य घले उदयपुरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
ओली समूहको केन्द्रीय सदस्यमा मनोनित प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, प्रदेशसभा सदस्य झापाका गोपालचन्द्र बुढाथोकी, उदयपुरको कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले पनि त्यसलाई अस्वीकार गरिसक्नुभएको छ ।