विराटनगर । कम उमेरमा हुने भागीविवाह नियन्त्रण गर्न विवाह गर्ने युवतीको उमेर २० वर्ष हुनुपर्ने कानूनीय व्यवस्था सच्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) विराटनगरको वर्षिक समिक्षा कार्यक्रमा सहभागीहरुले बाल विवाह नियन्त्रण गर्न कम उमेरमा हुने भागी विवाह चुनौतीको रुपमा रहेको भन्दै विवाह गर्ने उमेर २० वर्षलाई घटाएर १८ वर्ष बनाउनुपर्ने जोड दिएका हुन् ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले तराइमा मात्र नभएर पहाडी क्षेत्रमा पनि कम उमेरमा भागेर विवाह गर्ने किशोरकिशोरीहरुले धेरै समस्या भोगिरहेकोले न्युनिकरण गर्न विवाह गर्ने युवतीको उमेर १८ बनाउनुपर्छ बताउनुभयो । उहाँका अनुसार मोरङको केरावारी गाउँपालिकाको २ नम्बर वडाको एउटा टोलमा मात्र ७ जना दम्पत्तीहरु कम उमेरको विवाहले समस्यामा परिरहेको जानकारी दिनुभयो ।
केरावारी गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक राजकुमारी ईङनामले कम उमेरमा देखावटी प्रेमसम्बन्धमा परेर हुने भागीबिवाह वालविवाह मुक्त पालिका बनाउन समस्या भइरहेकोले विहे गर्ने केटीको उमेर घटाउनु नै उचित हुने बताउनुभयो । मोरङ सुनवर्षि नगरपालिका उपप्रमुख मञ्जुकुमारी राईले मुस्लिम समुदायमा अझै लुकिछिपी बालविवाह गर्ने प्रचलन कायमै रहेको तर विवाह रोक्न भने असमर्थ रहेको बताउनुभयो ।
सुन्दरहरैचा नगरपालिका उपप्रमुख धनमाया तामाङले कम उमेरमा भागेर विवाह गर्ने धेरै दम्पत्तीहरु विहे गर्ने उमेर पुगिसक्दा सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगिसक्ने भएकोले यसलाई नियन्त्रण गर्ने उपाय खोज्नुपर्ने बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु बर्तौला कम उमेरमा विवाह गर्नेहरुलाई पनि बालविवाह कानून अनुसार उजुरी गरेर सजाय दिलाउन सकेमा आफै नियन्त्रण भएर जाने बताउनुभयो ।
जिल्ला न्यायधिवक्ता मनोजकुमार आचार्य प्रचलित कानूनलाई पूर्णरुपमा पालना गराउँदै अभिभावकहरुसम्म संयुक्त सचेतना अभियान सञ्चालन गरेर कम उमेरमा हुने भागी विवाहलाई नियन्त्रण गर्नु उपायको विकल्प नभएको बताउनुभयो । प्रचलित कानून अनुसार २० वर्ष उमेर पुगेका युवायुवतीले मात्र राजिखुसी वा समाजिक परम्परा अनुसार विवाह गर्न पाउछन् ।