अनन्तराज न्यौपाने
पृथ्वीनारायण शाहले उपत्यकाका तीनवटै शहर कब्जा गरेपछि राजधानी कहाँ बनाउने भनेर निकै छलफल चलाए रे । उपत्यकाका तीन वटै शहर काठमाडौं, ललितपुर र भक्तपुर प्राकृतिक सौन्दर्यका दृष्टिले अनुपम थिए । तीन वटै शहर पृथ्वीनारायणलाई औधी मन परेका थिए रे । त्यसैले कहाँ राजधानी बनाउने भनेर धेरै दिनसम्म उनी कुनै निर्णयमा पुग्न सकेनन् रे ।
तिनताकको राज्य सञ्चालन र राजनीतिमा ज्योतिषी र तान्त्रिकहरू निकै हाबी हुने गर्थे । काठमाडौंमा तन्त्र र ज्योतिष शास्त्रको विकास उत्कर्षमा पुगेको थियो । राजारजौटा पनि तान्त्रिक र ज्योतिषीका कुरामा धेरै भर गर्थे । पृथ्वीनारायणका मुख्य सल्लाहकारमध्ये एक ढकाल थरका ज्योतिषी पनि थिए भनेर इतिहासमा पढ्न पाइन्छ । उपत्यका कब्जा गरेपछि पृथ्वीनारायणले कहाँ राजधानी राख्ने भनेर यिनै ज्योतिषी र तान्त्रिकको सल्लाह लिने भएछन् ।
ज्योतिषी र तान्त्रिकका समूहको गम्भीर बैठक एक हप्ताजति चल्यो रे । अन्तमा उनीहरूले निष्कर्ष निकालेछन्– भक्तपुरमा राजधानी बनाउँदा जनतालाई हानि छ । ललिलपुरमा बनाउँदा राजालाई र काठमाडौंमा बनाउँदा प्रधानमन्त्रीलाई हानि पुग्छ ।
एउटा राजाले समस्त राज खान्दानलाई नै हानि पुग्ने खालको ललितपुर राजधानी बनाउने प्रश्न नै थिएन । पृथ्वीनारायणले जनतालाई पनि हानि नपुगोस् भन्ने चाहे । त्यसैले उनले काठमाडौंलाई राजधानी बनाए रे । उनका पालाको दरबार वसन्तपुरको नौतले दरबार थियो । पछि नारायणहिटी सारियो ।
पृथ्वीनारायणका पालादेखि नै हेर्दा नेपालका प्रधानमन्त्रीलाई कहिल्यै भलो भएको छैन । नेपालका अधिकांश नेता प्रधानमन्त्रीको पदमा पुगेपछि कि त सनकी भएका छन् भने कोही षड्यन्त्रपूर्वक अपदस्थ गरिएका छन् ।
षड्यन्त्रपूर्वक अपदस्थ गरिनेमा बिपी कोइराला र कृष्णप्रसाद भट्टराईलाई लिन सकिन्छ । २०१५ सालको आम निर्वाचनपछि दुईतिहाई बहुमत ल्याएर बिपीको नेतृत्वमा बनेको सरकारलाई राजा महेन्द्रले बलात् अपदस्थ गरे । २०५६ सालको आम चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईलाई आफ्नै पार्टीका गिरिजाप्रसाद र सुशील कोइरालाले षड्यन्त्रपूर्वक हटाए ।
केही अपवादबाहेक नेपालमा प्रधानमन्त्रीका पदमा आसीन भएकाहरू सबै कुर्सी पाएपछि अहंकारी, उन्मादी र सनकी भएका छन् । २०४७ को परिवर्तनपछि सबैभन्दा बढी सनक देखाउनेमा गिरिजाप्रसाद र शेरबहादुरपछि अहिले केपी ओली भएका छन् । गिरिजाप्रसादले सनकवश २०५१ सालमा आफ्नो बहुमत भएको संसद विघटन गरे भने शेरबहादुरले २०५९ सालमा मध्यरातमा प्रतिनिधिसभा दरबारलाई बुझाए । पछिल्लो समयमा ओलीले दुईतिहाईको बहुमत पाएको संसद भङ्ग गरेर मध्यावधि निर्वाचनको घोषणा गरेका छन् ।
‘वीरभोग्या वसुन्धरा’ भन्ने संस्कृतमा प्रसिद्ध उखान छ । यसको अर्थ हुन्छ वीर हुनेले नै पृथ्वीमा राज्य गर्छ । तर, वीरताका नाममा ओलीले यसपटक सनक देखाएका छन् । अब उनी वीरबाट सनकी भएका छन् । तर, दुर्भाग्य ! घरमूली सनकी भयो भने घर बिग्रन्छ अनि देशको मूली सनकी भयो भने देश ध्वंश हुन्छ । ओलीको प्रतिगमनकारी कदमले नेपाल अधोगतिको मार्गमा लाग्ने निश्चित छ ।
कोभिड–१९ का कारण समग्र विश्व अर्थतन्त्रसँगै नेपालका आर्थिक सूचकाङ्क पनि खस्किएका छन् । हरेक क्षेत्रमा विश्व बजार अचाक्ली महँगो हुँदै गएको छ । अन्तर्राष्ट्रिय रूपमै सामुद्रिक परिवहनको भाडादर बढेको छ । उद्योगमा लागत खर्च बढेको छ । व्यापारिक सामग्रीहरूको मूल्य प्रतिदिन आकासिएको छ ।
कोरोना सङ्क्रमण साम्य भएको छैन । सरकारले परीक्षण र उपचार दुबैबाट हात उठाएको छ । परीक्षण घटेकाले बिरामी र सङ्क्रमणको सङ्ख्या अन्यौलमा परेको छ । कोरोनाका कारण शिक्षादेखि पर्यटन अनि उत्पादनदेखि निर्यात र रोजगारसम्मलाई असर पुगेको छ । यतिबेला त सरकारको ध्यान उत्पादन, निर्यात र रोजगारलाई वृद्धि गर्ने अनि उद्योग–व्यापारलाई सहज बनाउनेतर्फ केन्द्रित हुनुपथ्र्यो । तर, अत्यन्त असमयमा संवैधानिक कू गरेर ओलीले चुनावको घोषणा गरेका छन् । यसले अन्ततः उनलाई देशको एउटा कलङ्कित प्रधानमन्त्रीका रूपमा विस्थापित गर्ने कुरामा शङ्का छैन । किनकि जनताको तागतको अगाडि कुनैपनि निरंकुशता र सनक टिकेको छैन ।